
मलेशियाको डव्लुआरपी कम्पनीले आफ्नो कम्पनीमा काम गर्ने ५७ जना नेपालीलाई जवर्जस्ती नेपाल फर्काउने तयारी गरेको छ । उनीहरुलाई आगामी ९ दिनभित्रमा नेपाल फर्काउने गरी तयारी भइरहेको श्रोतलाई उधृत गर्दै मलेशियाको चर्चित अनलाइन मलेशियाकिनीले लेखेको छ ।
काम गरेको तलव र सुविधा नपाएको, जवर्जस्ती काम गर्न बाध्य पारिएको भन्दै नेपाली कामदारले सो कम्पनीको बदमासी गत बर्षको जनवरीमा पहिलो पटक सार्वजनिक गरेका थिए । सो समयमा तीनदिन सम्म आन्दोलन समेत भएको थियो जसको नेतृत्व नेपाली कामदारले गरेका थिए ।
यसपछि पनि केहि महिना अगाडी पुनः कामदारहरुलाई न्यून तलवमा बढी समय काम गराएको, काम गरेको तलव नदिइएको घटना सार्वजनिक भएको थियो । सो समाचार बेलायती सञ्चार माध्यम रोयटर्सले छापेको थियो ।
डव्लुआरपीले ग्लोव कम्पनी सञ्चालन गर्दछ जहाँ उत्पादित ग्लोवहरु संसारका विभिन्न देशहरुमा निर्यात हुन्छ । सो कम्पनीले बाध्यकारी श्रममा श्रमिकलाई लगाएको र श्रम शोषण गरेको भन्दै संयुक्त राज्य अमेरिका तथा युरोपेली देशहरुले प्रतिवन्ध लगाउन थालेपछि कम्पनीले प्रतिशोध साँध्दै नेपाली कामदारको समुहलाई नेपाल फर्काउन लागेको हो ।
हाल केहि समयका लागि उत्पादन बन्द गरेको सो कम्पनी आगामी ९ दिनभित्रमा पुनः सञ्चालनमा आउने तर सो समयभित्रै नेपाली कामदारहरुलाई भनें स्वदेश फिर्ता गर्ने तयारी रहेको समाचारमा जनाइएको छ । मलेशियाकिनीका अनुसार ५७ जना कामदारको भिषा यहि महिना सकिंदैछ जसको म्याद थपिएको छैन ।
समाचार अनुसार उनीहरुको काम गरेको कुल अवधि गणना गरिनुका साथै नेपाल फर्कने हवाई टिकटको समेत तयारी भइरहेको जानकारी प्राप्त भएको समाचारमा उल्लेख छ । प्राप्त कागजात अनुसार ति ५७ नेपालीको नेपाल फर्किने टिकट जनवरी ६, जनवरी ८ र जनवरी १३ को गरी तीन समुहमा लिइएको छ ।
तस्वीरः गत बर्ष टप ग्लोव कम्पनीमा भएको आन्दोलन ।
यो पनि पढ्नुहोस् कामदारको पासपोर्ट तीन महिना राख्न पाउने हाम्रो अधिकार: वैदेशिक रोजगार व्यवसायी