ज्याला माग्दै मजदुर आन्दोलनमा उत्रिए, राष्ट्रिय गौरवको आयोजनामा तालावन्दी 

काम गरेको ज्याला नपाएपछि बेनी–जोमसोम–कोरला सडक खण्ड मध्ये पहिलो खण्डका मजदुर आन्दोलनमा उत्रिएका छन् । उनीहरु आफूहरुले काम गरेको ज्याला पाउनु पर्ने माग सहित धर्नामा बसेका हुन् । मजदुरले प्रशासनमा धर्ना दिएका हुन् । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजनाको गलेश्वरदेखि नारच्याङ पुल खण्डको पहिलो खण्डको ठेकेदार कम्पनी शर्मा युनाइटेड जेभीले ज्याला नदिएपछि मजदुर आन्दोलनमा उत्रिएका हुन् ।

बुधबार बिहान ११ देखि २ बजेसम्म विभिन्न माग लेखिएका प्ले कार्डसहित मजदुरहरु प्रशासन कार्यालयमा धर्ना बसेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) म्याग्दीका अध्यक्ष बालादेवी राईले जानकारी दिइन् । मजदुरले युनाइटेड कम्पनीको रघुगंगा गाउँपालिका १ तिप्ल्याङ स्थित कार्यालयमा मंगलबार तालाबन्दी र प्रदर्शन गरेका थिए ।

‘ठेकेदारले छ महिनादेखि झुलाएर दुःख दिएपछि बाध्य भएर तालाबन्दी, प्रदर्शन र धर्नामा उत्रिएका हौ,’ मजदुर बेदबहादुर थापाले भने ‘प्रशासनले ठेकेदारलाई पक्राउ गरेर ज्याला नदिलाएसम्म आन्दोलन जारी राख्छौ ।’

९ जना नाइकेमार्फत परिचालित २०५ जना मजदुरलाई युनाइडेट कम्पनीले ज्याला बापत एक करोड १२ लाख ५० हजार ७२ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको नाइके कोमबहादुर बुढाले बताए ।

रुकुम, जाजरकोट, सल्यानलगायतका जिल्लाबाट काम गर्न आएका मजदुरहरु ज्याला नपाउँदा बिचल्लीमा परेका छन् । गत साउनमा कार्यालयमा तालाबन्दी गरेपछि १९ लाख रुपैयाँ भुक्तानी दिइएको थियो ।

पछिल्लो पटक जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा युनाइटेड कम्पनीका सञ्चालक सकुन्तलाल हिराचनले पुस १० गतेसम्म सबै ज्याला भुक्तानी गर्ने प्रतिबद्धता जनाएका थिए । ‘तालाबन्दी र धर्ना बस्दा पनि बेवास्ता गरिए आयोजना र सडक ठप्प पार्छौ,’ नाइके बुढाले भने ।

यसैबीच मजदुरहरुले काम गरेको ज्याला नपाएपछि सुरु गरेको आन्दोलनमा नेपाल बिजुली, पेण्टर, प्लम्वर तथा निर्माण मजदुर यूनियन(कयूपेक नेपाल) ले ऐक्उवद्धता जनाएको छ । काम गरेपछि ज्याला पाउनु मजदुरको नैसर्गिक अधिककार भएको भन्दै क्यूपेकले ज्यालाका लागि आन्दोलन नै गर्नुपर्ने अवस्था आउनु विडम्बना भएको बताएको छ । क्यूपेकका महासचिव गोपाल कार्कीद्धारा प्रकाशित विज्ञप्तीमा श्रमिकहरुले पाउनु पर्ने रकम तुरुन्त उपलब्ध गराइ राष्ट्रिय गौरवको आयोजना सञ्चालनका लागि सम्बन्धित सरोकारवाला सवैमा अनुरोध गरेको छ ।

यसैगरी जिफन्ट, गण्डकीले पनि एक विज्ञप्ती प्रकाशित गरी यसअघि सरकार, व्यवसायी र श्रमिकका प्रतिनिधिबीच भएको सहमतिको पालना गर्दै श्रमिकले पाउन बाँकी भुक्तानी तत्काल गर्न माग गरेको  छ । जिफन्ट गण्डकीका अध्यक्ष रुद्र बहादुर खत्रीद्धारा जारी विज्ञप्तीमा सहमति तत्काल पालना गर्न अन्यथा कडा आन्दोन सुरु हुने चेतावनी दिइएको छ ।

यो पनि पढ्नुहोस खाडीमा युद्धको खतरा बढ्यो, अमेरिकाद्धारा ईरानी सेना प्रमुख मारिए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: