
गायक धिरज राई नेपाली पपगित क्षेत्रका एक विशिष्ट गायक हुन् । नेपालमा जुन समयमा पपगितको उतिधेरै माग थिएन, त्यो समयमा धिरज लगायतका केहि सिमित गायकले पपगायनलाई अगाडी बढाए । एउटा फरक विधाको गितलाई नेपाली युवामाझ लोकप्रिय बनाउन धिरजको योगदान ठूलो छ । उनका केहि गितहरु निक्कै चर्चित रहे । उनको पछिल्लो गित बुद्ध वाज बर्न ईन नेपाल हो । ४२ वटा मुलुकमा स्टेज कार्यक्रमका लागि पुगिसकेका धिरज राईसँग गरिएको कुराकानीः
पछिल्लो समय के कुरामा व्यस्त हुनुहुन्छ <
-पछिल्ला १२ बर्षयता मैले एउटा अभियान चलाएँ बुद्ध नेपालमा जन्मेका हुन् भन्ने विषयमा । मैले स्नातकोत्तर तहको दोश्रो बर्षको पाठ्यक्रममा बुद्ध भारतमा जन्मेका हुन् भन्ने पढेपछि मलाई त्यसले बुद्धको जन्मस्थलका बारेमा जानकारी दिन अभियान चलाउनु पर्छ भन्ने लाग्यो र म त्यो काममा लागें । त्यसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखाएर यसको प्रचारप्रसार गर्ने काममा नै म व्यस्त रहें । यसबाहेक स्टेज कार्यक्रमहरुमा त व्यस्त छु नै ।
धिरज राईले गायन क्षेत्रमा लागेर के पायो जस्तो लाग्छ <
– पहिलो कुरा त आत्मसन्तुष्टि । स्वतन्त्रता पनि पाइयो । आर्थिक उपार्जन तथा सामाजिक सम्मान राम्रोसँग प्राप्त भयो । समग्रमा भन्दा एउटा सफल जीवन पाएँ भन्ने लाग्छ ।
केहि गुमायो पनि धिरज राईले <
– केहि गुमाएको छैन, बरु सोचेको भन्दा धेरै नै पाएको छु । म धेरै ठूलो महत्वाकाँक्षा बोकेको मान्छे होइन । तर भाग्य नै होला, मलाई गीतसंगितसँग सँगै धेरै कुरा प्राप्त भए ।
थुप्रै गित गाउनु भयो । तपाई आफैंलाई मनपर्ने गित चाहिं कुन हो <
– मलाई मन पर्ने लुकी लुकी आँखा तिमि नजुधाउ त्यसरी बोलको गित नै हो जुन मैले सुरुवाती चरणमा गाएँ । अनी चेतना खुलिसकेपछि आफैंलाई मनैदेखि मनपरेको गित चाहिं बुद्ध वाज बर्न ईन नेपाल हो ।
तपाई त स्टेज कार्यक्रमहरुमा लागि विदेश पुगिरहनुहुन्छ । कस्तो पाउनु हुन्छ नेपालीको अवस्था <
– गीतसंगितको क्रममा म ४२ मुलुक पुगें । यसमा दुईतीन चरणको कुरा आउँछ । म पनि सुरुको दिनमा त्यसरी नै सोच्थे, जसरी अहिले विदेश जानेहरु सोच्छन् । विदेश जाने पैसा कमाउने, केहि आरामको जीवन बाँच्ने । विदेश गएपछि सहजै पैसा कमाईन्छ, पैसा कमाएपछि सामाजिक अवस्था पनि निक्कै माथि पुग्छ भन्ने हामी ठान्छौं । म २५ बर्षअघि पहिलोपटक हङकङ पुगें मलाई मेरो देशमा केहि सम्भव छैन, म पनि हङकङ नै आएर बस्नु पर्यो भनेजस्तो लाग्यो । मलाई पनि हङकङ आइडी भएकै थुप्रै केटीको विहेको प्रस्ताव आयो । तर मलाई चार पाँच बर्ष चाहिं नेपालमै प्रयास गरिहेर्नु पर्छ भन्ने लाग्यो । अर्कातिर पढ्नु पर्छ भन्ने पनि लाग्यो । त्यसैले म पढ्ने र गितसंगितलाई अगाडी बढाउने निश्कर्षका साथ बसें । हो, ठ्याक्कै अहिले विदेश जानेहरुको सोच पनि यस्तै हो । तर यहिं धेरै सम्भावना छ, त्यसको खोजि गर्नु जरुरी छ । धेरै नेपाली अहिले बाध्यताले विदेश गइरहेका छन् । अर्कातिर विदेश जाने वित्तिकै धेरै कमाई हुन्छ भन्ने भ्रम छ, त्यसलाई चिर्न जरुरी छ ।
तपाईले खाडीका मुलुक र मलेसियामा भेटेका नेपालीको कामको अवस्था कस्तो पाउनुहुन्छ <
– एक अनिश्चित । अर्को खतरनाक र तेश्रो थोरै तलव हुने । स्वाभिमानमा पनि धक्का लाग्छ । खाडीका मुलुक र मलेसियामा पाउने तलव बरावरको रकम त नेपालमा चिया पसल खोलेर पनि कमाउन सकिन्छ । त्यसैले विदेश जाने योजना बनाउनु अघि एकपटक विचार गरौं स्वदेशमा नै अवसर हुन सक्दछ । मैले पपगित गाउन थाल्दा नेपालमा पप गितको बजार थिएन भन्दा हुन्छ । हामी त्यतिबेला २५ जना थियौं होला पपगित गाउने । अहिले २५ हजार पुगे होला । त्यसैले अवसरको खोजि गर्दा केहि समय म हार नमानी काम गर्छु भन्ने हो भनें बजार बन्छ । त्यसैले स्वदेशमा नै बजार खोज्नुस् । हार नखानुस् ।
एउटा १७ १८ बर्षको युवा जो अव केहि काम गरौं की भनेर सोच्दै छ भनें तपाईको सल्लाह के छ <
– म चाहिं त्यो उमेरको र अवस्थाको मान्छे भएको भए भन्ने कुराबाट सुरु गरौं है त । म भए विदेश म किन जान लागेको हुँ भन्ने हेर्दथें । मेरो गाउँका वा नातागोताका मान्छे विदेश गए भन्ने कुरालाई मात्र हेरेर वा उहाँहरुको कुरा मात्र सुनेर नभई आफैंले राम्रोसँग बुझेर मात्र निर्णय गर्दथें । हचुवाको भरमा धेरै मान्छेले विदेश गएर दुःख पाएका छन् ।
(गायक राईसँगको कुराकानीको अडियो शनिवार देशका २२ वटा प्रमुख स्थानीय रेडियोहरुबाट प्रशारण हुने कार्यक्रम सुनौलो मौकामा प्रशारण भएको छ ।)
यो पनि पढ्नुहोस् सरकारले विदेशबाट नै पुनः श्रम स्वीकृतिको व्यवस्था मिलाउने