रञ्जना लम्साल-
हातमा पासपोर्ट बनाउने फारम, उमेर खासै धेरै नभएपनि अनुहारमा केहि चाउरीपन छ । राम्रोसँग नकोरिएको कपाल तर आँखामा सपना छ उनको । अर्थात परदेश जान तत्पर खुमीसराका लागि अव हुने विदेश यात्राको सपना ठूलै छ ।
खुमीसराका लागि बैदेशिक रोजगारको यात्रा रहर होइन वाध्यता हो । मलेशिया गएका श्रीमानले ९ बर्ष भयो खोजखवर नगरेको । श्रीमान् त वेखवर भए नै, त्यसपछि ऋण लिएर खाडी पसेको छोरो पनि उसैगरी चुँडिएको चंगा झैं विलायो । त्यसैले अव कमाउन हिंड्ने पालो आएको छ स्वयं खुमीसराको ।
भनिन्छ नी लहरोले पहरो तान्छ । खुमीसराको जीवनमा पनि त्यहि हुँदैछ । सुरुमा श्रीमान मलेशिया गए । उनी जाँदाको ऋण तिर्न थप ऋण लिएर खाडी पसेको छोरो पनि उतै हरायो । खुमीसरालाई थाहा छ बिदेशको यात्रा सजिलो छैन । तर घरमा १५ बर्षकी छोरी पाल्नुपर्ने बाध्यता छ उनलाई । त्यो भन्दा पनि ठूलो बाध्यता छ उनलाई बाउछोरा विदेश जाादा लागेको ऋणको एक्लो भागीदार हुनु ।
एकातिर ऋण तिर् भन्ने साहुको वचनबाट आहत भइरहेकी उनलाई अर्कातिर एजेण्टहरुले बिदेश जान प्रोत्साहित गरेका छन् । त्यसैले परिस्थीतिले जा जा भनिरहेको र विदेशले आइज आइज भनिरहेको अवस्थाकी खुमीसरा कहिले एक्लै बोलिरहन्छीन् त कहिले निरास कुरा गर्छिन् ।
९ बर्ष अगाडी छोराछोरी साना थिए । परिवार चलाउन मुस्कील थियो । त्यहि अवस्थामा परिवारको लालनपालनका लागि उनका श्रीमान मलेसिया हिंडे । तर घर परिवार पाल्ने पैसा कमाउन, छोराछोरीको भविष्य बनाउन भन्दै गएका उनका श्रीमान्ले खै किन हो चटक्कै माया मारे । गएको २÷४ बर्षसम्म फोन सम्पर्क भयो तर कमाई छैन पैसा पठाउन सक्दीन आफ्नो बाटो गर भन्ने गरेका उनी त्यसपछि हराए । खुमीसरालाई लाग्छ, नेपालमा हुँदा त्यस्ते स्वभावका नरहेका उनका श्रीमान् भौगोलिक रुपमा टाढा पुगेपछि माया पनि टाडियो होला । बैंस मारेर बसेकी उनी अव तिनै श्रीमान् र हुर्केको छोरोले समेत वेवास्ता गरेपछि भविष्य दाउमा राखेर विदेशिन तम्तयार छिन् । उनलाई थाहा छैन त्यो दाउले उनको भविष्य बनाउँछ वा बिर्गाछ । तर पनि उनमा आशाको किरण वाँकी नै छ उनको ।
घरको त आश भएन नै, माइतीको पनि भर पर्ने अवस्था छैन उनलाई । त्यसैले विदेश हिंड्न ठिक्क परिरहँदा उनलाई घरमा रहेकी १५ बर्षकी एक्ली छोरीको चिन्ता छ । छरछिमेक, नातागोताका मान्छे सवैले अव विदेश गएर कमाए मात्र ऋण तिर्न सक्छेस् भनेपछि उनी पासपोर्ट बनाउन तयार भएकी हुन् ।
हुन त सरकारले घरेलु काममा खाडी मुलुकमा महिलालाई जान रोक लगाएको पनि ८ महिना भन्दा बढि नै भएको छ । तर यहाँ यस्तै समस्यामा परेका खुमीसराहरु छन् जसलाई सरकारको त्यो नियमले कुनै थुनछेक गर्न सक्दैन । उनीहरुका लागि काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ढोका बन्द भएर के भो र ? दक्षिणको बाटो खुमीसराहरुका लागि खुल्लै छ । अझ पैसा समेत तिर्नुनपर्ने भनेपछि यहाँ समस्यले पिल्सिइरहेकी खुमीसरालाई कमाउन जाने एकमात्र सहज बाटो त्यहि भएको छ । त्यसैले पासपोर्ट हात परेपछि उनी भारत हुँदै विदेश उड्न मानसिक रुपमा तम्तयार छिन् । उनलाई त्यहाँ आइपर्ने समस्याका बारेमा जानकारी गराउँदा केवल उनी चुप लागेर सुनि मात्र रहिन् । सायद यहाँ खेपिरहेको दुःखलाई त्यो सम्भावित दुःखसँग तुलना पो गर्दै थिइन् की उनी ?
यस्तै खुमीसराहरुबाट आएको रेमिट्यान्सबाट देशको अर्थतन्त्र धानिएको छ । तर उनीहरुको सुरक्षा र भविष्यको जिम्मेवारी कसको हो त ? बैदेशिक रोजगारलाई ब्यवस्थीत, उपलब्धीमुलक र मर्यादित बनाउने जिम्मेवारी कसको ? घरेलु काममा जान लगाएको बन्देज के यसको समाधान हो ? हो भनें किन अहिले पनि खुमीसराहरु गइरहेकै छन् ? हो, उनीहरुको तथ्याँक हुन्न । उनीहरु कहँ छन् भनेर भोलीका दिनमा खोज्दा भेटिने छैनन् । तर के राज्यले चाहेको त्यहि हो त ? होइन भनें यसलाई व्यवस्थीत गर्ने तर्फ किन सोचिदैन ?
हामी सामाजिक लागतको कुरा गर्छौं । बिदेशबाट पठाएको रकम घरमा बसेका महिलाले उडाए भन्ने समाचारले ब्यापकता पाईरहँदा बर्षौंदेखी त्यहि श्रीमानको प्रतिक्षामा बसेका महिलाहरु किन अटाउँदैनन् समाचारमा ? अनी श्रीमान्ले यसरी नै समस्यामा पारेर विदेशिन बाध्य भएकाहरुका बारेमा किन हामी सोधिखोजी गर्दैनौं ?
