एनआरएनएको सही निर्णय

सुनिल न्यौपाने-

डोल्माको नाममा उठेको रकम किन सवै उनले पाइनन् ? यो विषय पछिल्लो समयमा उठिरहेको छ । उनका नाममा उठेको लाखौं रकम उनी स्वदेश फर्किसकेको अवस्थामा उनले नै पाउनु पर्ने चर्चा समय समयमा उठिरहेको छ । यससन्दर्भमा कतिपय अवस्थामा जुहारीको अवस्था समेत सिर्जना भएको छ ।

डोल्मा बचाउ अभियानमा उठेको र गैैर आवाशिय नेपाली संघ(एनआरएनए) को खातामा रहेको रकमका बारेमा बहस चलिरहेको छ । विवादकै अवस्था सिर्र्जना भएको अवस्थामा एनआरएनएको आधिकारिक धारणा सार्वजनिक भएको छ । सो संस्थाले उनको बचाउका लागि उठेको रकम मध्ये ३ लाख डोल्माको छोराको शिक्षाका लागि छुट्याएर बाँकी रकम कोषमा राख्ने र यस्तै समस्यामा परेका अन्य कुनै  नेपालीलाई सहयोग गर्ने निर्णय गरेको छ ।

डोेल्मा बचाउ अभियानमा संकलित रकमका बारेमा एनआरएनएको पछिल्लो निर्णय पश्चात पुनः अर्को चरणको बहस सुरु हुनेमा शंका छैन । तर यस सन्दर्भमा हेक्का राख्नु पर्ने कुरा के हो भनें सो रकम कुन प्रयोजनका लागि उठेको हो ? सो रकम उनको जीवनरक्षाका लागि व्लडमनी संकलन गर्न उठेको हो वा उनको जीवनरक्षासँगै बाँकी जीवनको भरणपोषणका लागि ? निश्चित रुपमा त्यो अभियान डोल्माको जीवन रक्षाका लागि थियो । 

यदि जीवनरक्षाका लागि थियो भनें त्यो कोषमा रकम योगदान गर्नेहरुले पक्कैै पनि उनको स्वदेश फिर्तिपश्चातको भरणपोषणको कल्पना गरेका थिएनन् । त्यसैले कोषमा रहेको रकम डोल्मालाई दिइनुपर्छ भनेर तर्क गर्नुअघि यो पक्षका बारेमा पनि विचार गरिनु आवश्यक छ ।

अहिले पनि केहि नेपाली विना कसुर विदेशको जेलमा थुनिएर व्लडमनी पर्खिरहेका  मात्र छैनन्, अनिश्चित जीवन बाँचिरहेका छन् । ति परिवारका सदस्यहरुले पनि आफन्तलाई त्यहि व्यग्रताका साथ पर्खिरहेका छन्, जुन व्यग्रता डोल्माको परिवारलाई उनी जेलमा हुँदा थियो । पछिल्लो पटक साउदी अरवमा थुनिएका नवलपरासीका स्थानेश्वर भुषालको व्लडमनी संकलनका लागि चलिरहेको त्यस्तै एक अभियान हो जहाँ १ लाख ५० हजार साउदी रियालको पर्खाईमा छन् उनी र उनको परिवार । यो त केवल एउटा प्रतिनिधि  उदाहरण मात्र हो, यस्ता धेरै उदाहरण छन् । जसरी डोल्माको जीवन बच्यो, स्थानेश्वर वा यस्तै अर्को कोहि नेपाली छुटेर घर आउन पाउन् भन्ने कामना हुन्छ हुनुपर्दछ । 

त्यसैले डोल्माका लागि नभई डोल्मा बचाउन उठाइएको सो रकम अर्को कुनै नेपाली बचाउने अभियानमा लगाउने एनआरएनएको निर्णय स्वागतयोग्य छ । भलै यसले डोल्मा वा उनको परिवारका लागि आर्थिक रुपमा घाटा पुग्ला । बर्षाैं थुनिएकी उनलाई सो रकम दिइएको भए, उनको आगामी जीवन सहज हुन्थ्यो होला । तर त्यो भन्दा ठूलो कुरा उनीजस्तै घर फर्किन व्लडमनी कुर्दै परदेशको कुनै जेलमा अनिश्चित बन्दी जीवन बाँचिरहेको कुनै नेपालीलाई घर फर्काउन सहयोगि हुन्छ । यो पक्षमा आँखा चिम्लिन मिल्छ र ?        

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय