कसरी गैरकानूनी रुपमा छिर्छन् अमेरिका ? 

२०७० साल असार १३ गते बिहीबार । बौद्ध स्तूपा पछाडिको पुरानो घरको टिनको छाना असारे झरीले चुटिरहेको थियो । भुइँतल्लामा सुतेका ताप्लेजुङ पापुङका प्रेम निदाउन सकेका थिएनन् । दुःख, सुख गरेर जीवन बिताइरहेका उनलाई अमेरिका जाने भूत सवार भएको महिनौं बितिसकेको थियो । सँगैका साथी गाउँमा धान रोप्न धमाधम भइरहेका बेला उनी भने अमेरिकी सपनामात्रै देखिरहेका थिए । सपनासँगै निदाएका प्रेम अर्को दिन गैरकानुनी रूपमा लुकेर अमेरिका जाँदै थिए ।

अमेरिका पुर्‌याउँछु भन्ने दलालकै सल्लाहमा अर्को दिन उनी दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । पहिलोपटक विदेश यात्रा, त्यो पनि गैरकानुनी । विमानस्थल छिर्दा प्रेम निरास थिए । विमानको पछाडिपट्टि झ्यालमा बसेर काठमाडौंमाथि उड्दै गर्दा उनले श्रीमती र दूधेबालकलाई सम्झिए । ‘खोइ के भो के भो झ्यालतिर फर्केर अचानक रुन मन लाग्यो, हातले अनुहार छोपेर रोएँ’ गत महिना न्युयोर्कमा भेटिएका प्रेमले त्यो असारे कथा सुनाए ।

……………………………………. 

दलालले उनलाई थाइल्यान्ड जाने भिसा थमाइदिएको थियो । भनिएको थियो– ‘थाइल्यान्ड बस्दै गर्नू, अमेरिका जाने चाँजोपाँचो विस्तारै मिल्दै जान्छ ।’ थाइल्यान्ड पुगेका प्रेम एक महिना त्यहीँ बसे । अब त्यहाँबाट सिंगापुर हँदै दक्षिण अफ्रिका पुग्ने तालिका दलालले दिए । बिहानै उनी सिंगापुर लागे । सिंगापुर अध्यागमनले उनलाई दर्जनौं प्रश्न सोध्यो । प्रेमले सम्झिए, ‘धन्य नेपालीलाई अनअराइभल भिसा दिने भएकोले मलाई पनि दियो, अध्यागमनका धेरै प्रश्नको उत्तर मसँग थिएन ।’

सिंगापुरको पाँच घन्टा ट्रान्जिटपछि दक्षिण अफ्रिकाका लागि उडे उनी । दक्षिण अफ्रिकामा १८ घन्टा ट्रान्जिटपछि सान पाउलो, ब्राजिल पुग्नु थियो । दलालको योजनाअनुसार नै उनी ब्राजिल पुगे । ब्राजिल पुग्दासम्म उनी नेपाली राहदानीवाहक प्रेम थिए । तर, त्यहाँ पुगेपछि उनको परिचय बदलियो । दलालले नाम फेरिदिए । धेरै नबोल्न निर्देशन दिए ।

निर्देशनअनुसार, ब्राजिलमा अनअराइभल भिसा किनेर त्यहाँबाट बाहिरिनुपर्ने थियो र क्युवाको यात्रा तय गर्नुथियो । दलालले दक्षिण अफ्रिका पुगेपछि नै भनेको थियो, ‘तिमीहरूको प्लेन यात्रा यही नै अन्तिम हो ।’ ब्राजिल पुग्दा पेम्बासँगै अरू आठ नेपाली पनि जम्मा भए । मुखामुख भयो, कुराकानी भयो । सबैको उद्देश्य एउटै थियो– मिसन अमेरिका ।

……………………………..

विमानस्थलबाट बाहिर जानु त चुनौती थियो नै त्योभन्दा महत्त्वपूर्ण कुरा त आफूसँग भएका नेपाली राहदानी र कागजपत्रको व्यवस्थापन गर्नु थियो । निर्देशकले भनेझैं, विमानस्थलभित्रै प्रेमले आफ्नो राहदानी, चालक अनुमतिपत्र, नागरिकता, केही फोटोकपीसहितको झोला फोहोर फाल्ने प्लास्टिकको बाल्टीमा छिराइदिए । ‘आफ्नो परिचय भएका सबै कागज फाल्न मन मानेको थिएन, तर मसँग विकल्प थिएन, कागज भेट्यो भने नेपाल फर्काइदिन्थे’ प्रेमले खुलाए ।

ब्राजिलियनको भीडमा जसोतसो पसेर प्रेम र उनका साथी आठ घन्टापछि मात्रै विमानस्थलबाट बाहिरिए । दलालसँग सम्पर्क भइसकेको थियो । आठ जनाको समूहले एकअर्कालाई नचिनेझैं गर्नुपर्ने थियो । दलालले भनेका थिए, ‘एक अर्कालाई नचिनेजस्तो गर्नू ।’ उनीहरूले त्यसै गरे । दलालले ब्राजिलमा बस्ने ठेगाना दिएको थियो ।

प्रेम र उनको टोली ठेगाना पछ्याउँदै भाडामा लिएको बन्द कोठामा पुगे । बाहिर निस्कन बन्देज थियो । ‘निस्किए पक्राउ परिन्छ, भित्रै बस्नु भनेकोले हामी महिना दिनभन्दा बढी कोठामै बस्यौं,’ पेम्बाजस्तै गरी अमेरिका पुगेकी लमजुङकी कान्छी गुरुङले भनिन् । न्युयोर्कको ज्याक्सन हाइटको नेपाली मःम पसलमा गफ गरिरहेका बेला कान्छी दोहोर्‌याउँथिन्, ‘पैसा दियो भने खान पाइन्थ्यो नत्र भोकै । धेरै नेपालीलाई भोकभोकै भेटेकी थिएँ ।’

धेरै नेपाली ब्राजिल पुगेपछि पक्राउ पर्ने तथा पैसा सकिएपछि सडकमै सुत्ने गरेका घटना पनि उनीहरूले सुनाए । नेपालीलाई गैरकानुनी बाटोबाट अमेरिका पुर्‌याउने दलालको भीडमा नेपालीहरू नै थिए । प्रेमलाई पनि नेपाली दलालले नै निर्देशन दिइरहेको थियो । तर, आक्कलझुक्कलबाहेक दलालसँग भेट हुँदैनथ्यो, सबै काम फोनकै भरमा हुन्थ्यो ।

…………………..

एक महिनाको ब्राजिल बसाइपछि दक्षिण अमेरिकी देश बोलिभिया जानुपर्ने निधो भयो । मध्यरातमा ब्राजिल छोडेका प्रेमहरूको समूह जंगलको अप्ठ्यारो बाटो हुँदै तीन दिनसम्म बसमा गुड्यो । भाषा नबुझिने र ठाउँ पनि नचिनिने । ठाउँठाउँमा प्रहरी चेक पोस्ट देख्दा उनीहरूको सातोपुत्लो उड्थ्यो । हातमा टिकट थमाइदिएपछि दलालले पठाएका मान्छेको पनि नाकमुख देखिँदैनथ्यो ।

ब्राजिल र बोलिभियाको सीमामा प्रहरी चौकी अघिल्तिर उनीहरू बसबाट ओर्ले । त्यो पार गर्न सजिलो थिएन । बन्दुक ताकेर बसेका सेना देख्दा होस–हवास उड्थ्यो । सीमा पार गरी त्यहाँ रोकिएका ट्याक्सी चढ्नुपर्ने निर्देशन थियो । तर, उनीहरूले सीमा पार गर्नै सकेनन् । ओहोर–दोहोर गरिरहँदा एक वृद्धले आएर सोधे– आर यु नेप्लिज् रु यति सुनेपछि प्रेमको समूहका एकजना अत्तालिँदै वृद्धको अगाडि पुगे र भने– ‘यस यसु । बूढाले प्रतिव्यक्ति एक सय डलर मागे । डलर हात परेपछि हात समातेर सीमा कटाइदिए ।

………………………………

बोलिभिया पुगेपछि नेपाली समूहलाई अर्को आपत् आइलाग्यो । दलालले भन्यो, ‘अब प्रत्येकले एक हजार डलर दिएमात्रै अघि बढ्न पाइन्छ ।ु त्यहाँ पुग्दा खर्च सकिन लागिसकेको थियो । ‘अब पैसा दिएनौ भने यही बसु, दलालले निकै रुखो बोले । अरूलेजस्तै उनले पनि नेपालमा फोन गरे र भने, ‘भरे पैसा लिन मान्छे आउँछ उसलाई एक हजार डलर दिनू ।’ नेपालको दलालले पैसा पाएको जानकारी बोलिभिया पुगेपछि मात्रै उनीहरूलाई त्यहाँबाट मुक्त गरिन्थ्यो । पेम्बासहितको टोली दुई दिनपछि मात्रै मुक्त भयो ।

…………………….

महिना र गते सम्झनामा छैन । प्रेम यत्ति सम्झन्छन्, बोलिभिया छोड्ने योजना बनाउँदा रातिको ९ बजेको थियो । १५ मिनेट ट्याक्सी चढाएर बस भएको ठाउँमा दलालसँगै नेपाली टोली पुग्यो । तर यो यात्रा भने अत्यन्तै जोखिम र कष्टप्रद थियो । बसभित्र लुकेर यात्रा गर्नुपर्ने । चालकको पछाडि बनाइएको सानो कोठामा आठजना कोचिएर बसे । खुट्टा सीधा पार्नै नपाइने, ढाड क्रक्रक्क पारेर बस्नुपर्ने हल्लिनै नमिल्ने स्पेस ।

नौ घन्टा त्यसरी यात्रा गर्दा उनीहरू बिरामी भइसकेका थिए । प्रेमसँगै गएका अर्का प्रेम नामका बागलुङका साथी बसभित्रै बेहोस भए । पानी छ्यापेर होसमा ल्याए । बाहिर निस्कने विकल्प थिएन । ठाउँठाउँमा प्रहरी आएर जाँच गरेको भित्रबाट उनीहरू थाहा पाइरहेका हुन्थे तर बोल्न वा कुनै प्रतिक्रिया जनाउन पाइँदैनथ्यो ।

‘नौ घन्टापछि लापाज पुग्दा हामी बोल्नै नसक्ने भएका थियौं । सबै बिरामीजस्ता । शरीर चलाउनै नमिल्नेु, प्रेमले त्यो कठिन यात्रा सम्झिए, ‘बसबाट ओर्लेपछि फेरि अर्को बसमा चढ्नुथियो, आरामको त कुरै नगरौं ।’

सार्वजनिक बस चढेपछि भने दलाल पनि सँगै थिए । आठ नेपालीलाई बसका विभिन्न सिटमा मिलाएर राखिएको थियो । प्रेम बसको अगाडिको सिटमा थिए । लापास पुगेर एक महिना त्यहीँ बसे । यसबीचमा दलालले फेरि पैसा माग्न थाले ।

अनकन्टार जंगलबीचको बस्तीमा बसेको टोलीलाई पैसा नदिए फर्काइदिने धम्की दिन थालेपछि नेपालमा फोन गरेर फेरि पैसाको जोहो गरे । यो बेलासम्ममा २२ जना नेपाली जम्मा भइसकेका थिए । बागलुङदेखि ताप्लेजुङसम्म, पोखरादेखि भैरहवासम्मका नेपाली सबैको व्यथा उस्तै थियो लक्ष्य पनि उही– मिसन अमेरिका ।

…………………..

पैसा पाएपछिको सूची थियो– पेरुको यात्रा । राति ८ बजे १८ नेपाली हालेर दुई भ्यान पेरुका लागि गुड्यो । बाँकीको अमेरिका यात्रा झनै चुनौतीपूर्ण हँदै थियो । बिहानै पहाडको बाटोको यात्रा । पेरुको राजधानी लिमा पुग्न तीन दिन लाग्यो । त्यहाँबाट उनीहरू इक्वेडरका लागि बस चढे । प्रेम अब टोनीमा रूपान्तरित भइसकेका थिए । उनका साथी सोनाम डेभिड ।

भ्यान चढ्नुअघि नै दलालले बीचबाटोमा स्पिड भ्यानबाट खोलामा हामफाल्ने निर्देशन दिएका थिए । यो निर्देशन पूरै फिल्मी लाग्थ्यो तर उनीहरूले त यसलाई रिल होइन रियल लाइफमै झेल्नुथियो ।

राति साढे ९ बजे तीव्र गतिमा हुइँकिएको भ्यान ठूलाठूला ट्रकहरूको बीचमा पस्यो । अगाडि बस्ने दलालले निर्देशन दिए, ‘एकदुई तीन भनेपछि एकसाथ भ्यानबाट हामफाल्ने ।’ प्रेमले बायाँतिर हेरे । खोला गहिरो थियो । अगाडि टर्चलाइट बालेका प्रहरी र बन्दुक बोकेका सेना तैनाथ थिए । एउटा भ्यानमा भएका आठ नेपालीले सल्लाह गरे र भ्यानको ढोका पछाडि ठेले । टायर चुइकाउँदै भ्यान फेरि तीव्र गतिमा हुइँकियो । १, २, ३ । आठ नेपाली गल्र्याम्गुर्लुम्म हामफाले ।

उताबाट गोली चल्यो । राति खोलाको किनारमा कसलाई गोली लाग्यो उनीहरूलाई थाहा भएन । कसैको हात भाँच्चियो, खुट्टामा चोट लाग्यो, चिउँडो ठोक्कियो । हत्तपत्त उठेर धुलो टक्टक्याउनै नपाई गहिरो खोलाको किनारमा तयार डुंगा चढेर पाँच मिनेट पनि नबित्दै खोलापारि पुग्यो । त्यतिबेला उनीहरू इक्वेडरको भूमिमा थिए । बागलुङका घाइते साथीको घरेलु उपचार गरेर फेरि उनीहरू अघि बढे ।

……………………

दलालले उनीहरूलाई इक्वेडरको एक दुर्गन्धित बस्तीमा पुर्‌याए । एउटा सुकुमवासी बस्ती निकै दुर्गन्धित थियो । ‘मेरो गाउँभन्दा सयौं गुणा बढी फोहोरी र पिछडिएको,ु प्रेमले पापुङसँग तुलना गरे । उनीसहितको समूह त्यहाँ १५ दिन बस्नुपर्ने थियो । दलालले फेरि पैसा माग्यो । गन्हाउने सानो घरबाटै नेपालमा फोनबाटै पैसाको जोहो गरेपछि अघि बढ्ने बाटो खुल्यो । प्रेमले अमेरिका यात्रा तय गर्नुअघि नै आफन्तसँग ब्याजमा सापटीको व्यवस्था गरेका थिए । ‘अमेरिका जाने भनेपछि पैसा दिन डराउँदैनन्’, प्रेमले सम्झिए ।

अब इक्वेडरबाट कोलम्बियाको यात्रा ट्रकमा थियो । काठमाडौंबाट बाह्रबिसेसम्म चल्नेजस्ता ठूला ट्रकभित्र बसेर दिनभरि यात्रा गर्नुपर्ने थियो । माथि त्रिपालले छोपेको ट्रकमा कोलम्बियाका लागि हिँड्दा फेरि २२ जनाको समूह जम्मा भएको थियो । पेम्बाका अनुसार नेपालीबाहेक पाकिस्तानी, बंगाली पनि मिसिन आइसकेका थिए ।

गर्मी मौसममा त्रिपालले ढाकेको हावा नछिर्ने ट्रक भित्र गर्मीले पाक्ने अवस्था थियो । ‘कतैबाट हावा पनि नचल्ने, उभिएर यात्रा गर्नुपर्ने ५० डिग्री तापक्रम जस्तो गर्मी थियोु, प्रेमले ट्रक यात्रा सुनाए । केही घन्टाको यात्रापछि ग्यारेजमा गएर ट्रक रोकियो । माथिबाट पानी हालेर ट्रक धुन थाले । प्रेम र साथीहरू भित्र टाउको लुकाएर कुनातिर पसे ।

दलालले बाहिर ननिस्कन आदेश दिएको थियो । दिसा–पिसाबका लागि ट्रकभित्रै बीचमा प्वाल बनाइएको थियो । त्यहीँ सबैले दिसापिसाब गर्नपथ्र्यो । ‘प्वालमै दिसापिसाब गर्दै दिनभरि त्यहीं बितायौं,’ प्रेमले भने, ‘त्रिपाल तात्तियो, निस्सासिएरै बसियो । प्रहरी आए ट्रकभित्रै पालमा लुक्ने ठाउँ पनि थियोु, साँझमा ट्रकबाटै उनीहरूको कोलम्बियाका लागि आठघन्टे अर्को यात्रा सुरु भयो । कति गते, के बार थियो थाहा थिएन । तर, नेपालबाट हिँडेको तीन महिनाभन्दा बढी भइसकेको थियो ।

……………………..

कोलम्बिया सीमा पुगेपछि उनीहरूलाई लिन अर्को ट्रक आयो । त्यही ट्रकमा सीमा कटेपछि भीआर बाइक र आठ दस ट्याक्सी आइपुगे । कोलम्बियाको ‘काली बुनाभेन्तुराु पुगेपछि उनीहरूको यात्रा दक्षिण प्रशान्त महासागरतिर सोझियो । त्यतिबेलासम्म नेपालीसहित स्पेनिस, बंगाली, भारतीय, श्रीलंकन, ब्राजिलयन थुप्रै जम्मा भइसकेका थिए । नेपालीका लागि दुईवटा डुंगा थिए । एउटा अघि लाग्यो ।

प्रेमहरू चढेको डुंगाले अघिल्लोलाई पछ्याउनुपर्ने थियो । तर, सिकारु केटाले चलाएको डुंगा बाटैमा हरायो । ‘मध्यरात भइसकेको थियो, समुद्रको बीचमा हरायौं । कहीँ कतै कसैको संकेत थिएनु, प्रेमले कहालीलाग्दो रात सम्झिए, ‘अचानक पानी पर्न थाल्यो, हावाहुरी आउन आउन थाल्यो, हामी अत्तालियौं । पानीले डुंगा नै कोल्टियो, डुंगामै भएका साना बाल्टीले पानी निकाल्दै फाल्न थाल्यौं । तर हाम्रो बाटो हराइसकेको थियो ।’ त्यही बाटो हँदै अमेरिका पुगेकी कान्छीले थपिन्, ‘समुद्रको नुनिलो पानी बेलाबेला मुखमा आउँथ्यो, पानी नै पानी, के गर्ने कसो त्यो समुद्रमा बहुलाएजस्तै भयो ।’

नौ घन्टा समुद्रमै हराएपछि एउटा टापु नजिक उनीहरूको डुंगा पुग्यो । दुईवटा इन्जिन भएको डुंगाको एउटा इन्जिन बिग्रिसकेको थियो । उज्यालो भएपछि फेरि बाटो खोज्न थाले तर सकेनन् । केही घन्टाको यात्रापछि फोन लाग्ने ठाउँमा उनीहरू पुगे र हराएको सूचना डुंगा चलाउनेले आफ्ना साथीलाई दिए । सहयोगका लागि अर्को डुंगा आयो । डुंगामा पेप्सी र कुखुराको मासु पनि थियो । ‘हामीलाई त देउतै आएजस्तो लाग्यो, कुखराको सांप्रा र पेप्सी मज्जाले खाइयो,ु त्यही समूहमा भएका सोलुखुम्बुका दावाले सम्झिए ।

……………………….

बल्लतल्ल समुद्र पार गरेपछि प्रहरीको आँखा छलेर डुंगाबाट बाहिरिनुपर्ने थियो । अबको यात्रा पानामाको थियो । तर, जंगलको बाटो थियो । बस, ट्याक्सी वा ट्रक केही थिएन । तीन दिन तीन रात जंगलको बाटो पैदल हिँडेपछि मात्रै पानामाको सिमाना पुगिन्थ्यो । रातभरि उकालो हिँडेर टोली डाँडामा पुग्थ्यो र ओरालो झथ्र्यो ।

दिउँसो रुखका फेदमा उनीहरू पल्टिन्थे । बाटोमा भेटिएका पुराना लुगा ओछ्याएर चिसो चउरमा सुत्नुपर्ने बाध्यता थियो । त्यहाँ एउटै खोला सय पटकभन्दा बढी तरेको अनुभव उनीहरूसँग छ । बाटोमा राति सर्पले टोकेर धेरैको ज्यान जाँदो रहेछ । रूखमाथिबाट टाउकोमा सर्प झरेका अनुभव पनि उनीहरूले सुनाए । उनले सम्झिए, ‘जीउभरि कीरा खस्दा होसहवास नै उड्थ्यो । समूहका धेरै साथी यो उकालोमा बेहोस भए ।

कतिपयको ज्यान जाने ठाउँ पनि यही रहेछ । तीन दिन तीन रात हिँडेपछि पानामाको सिमामा सेनाको क्याम्प देखियो । कान्छीले सुनाइन्, ‘उताबाट सेनाले आइज भन्यो, हामी दौडिएर गयौं ।’ पेम्बाका अनुसार, यहाँका सेना प्रहरी भने मानवीय हिसाबले पनि सहयोग गर्न चाहँदा रहेछन् । क्याम्पमा सुरक्षा जाँच गरेपछि उनीहरूले प्रतिव्यक्ति २५ डलर लिएर खानासमेत खुवाए । स्वास्थ्य जाँच गरे र बिरामीलाई औषधि दिए । प्रेमको समूहमा भएका भारतीयले समेत यहाँ पुगेपछि नेपाली भएको परिचय दिए ।

‘पानामा प्रहरीले समेत नमस्ते भन्न सिकेको रहेछु प्रेमले भने, ‘भारतीय दूतावासमा जिम्मा लगाइदिने डरले सबैले नेपाली भन्दा रहेछन् ।’ यो सीमामा पुगेपछि भने अमेरिका हिँडेको बताएपछि अध्यागमनले आफैं गाडीमा हालेर होटेलमा पुर्‌यायो र १२ दिनको भिसा दियो । यहीबेला उनीहरू पानामाबाट बाहिरिनुपर्ने थियो ।

पानामा पुगेपछि भने अमेरिका पुग्ने आशा र विश्वास बलियो हुँदै थियो । दलालले भने, ‘अब अमेरिका पुग्छौ, पैसा लेऊ ।’ पानामाबाट कोस्टारिका निकुरागोआ, एल साल्भाडोर होन्डुरस ग्वाटेमाला हँदै उनीहरू मेक्सिको पुगे । भुक्तभोगीका अनुसार, यी देशको सीमा पार गर्न तुलनात्मक रूपमा सजिलो थियो । पानामा यात्रा अनुमति देखाउँदै साना देश पार गर्न थप सजिलो हुनेरहेछ । बस चढेर राति हिँडेरै उनीहरू यी देश कटे ।

…………………….

पानामा कटेपछि प्रेमहरूलाई लाग्यो, अब त अमेरिका पुगियो । दलालले पनि सबै पैसा माग्न थालेपछि सपना नजिक पुगेको अनुभूति हुन थाल्यो । दलालको सेटिङमा मेक्सिको सीमामा पुगेपछि प्रेमले सोचे, ‘ऊ त्यही त हो नि अमेरिका,’ गलेको शरीरमा अमेरिकाले फेरि शक्ति थप्यो । ग्वाटेमाला मेक्सिको समुद्रमा पुगेपछि पनि अझै हिँड्नुपर्ने यात्रा बाँकी नै थियो । यसबीचका कोस्टारिका, निकारागुवा, होन्डुरस तथा एल साल्भाडोरको बाटो प्रयोग हुन्छन् । मेक्सिकोको बोर्डर पुगेर केही घन्टा हिँडेपछि खोला किनारमा भ्यान लिन आइपुग्यो ।

भ्यानमा आउने दलालले सीमा पार गर्ने सेटिङ र कागजात ल्याएका थिए । त्यही भ्यान चढेर मेक्सिकोको राजधानी मेक्सिको सिटी उनीहरू पुगे । मेक्सिको पुगेपछि भने अमेरिका पुगेजस्तो लागिसकेको थियो प्रेमहरूलाई ।

फेरि दलालले पैसा मागे । सीमामा बस्ने प्रहरीले पनि पैसा लुट्ने उनीहरूको अनुभव छ । मेक्सिको पुगेपछि फेरि उनीहरूको नाम बदलियो । प्रेमको नाम टोनीबाट जोसे भयो । अब जोसे नाममा मेक्सिको अमेरिका सीमा पुग्नुपर्ने अन्तिम प्रयासमात्रै उनीहरूसँग बाँकी थियो । तर यो यात्रा पनि सहज थिएन । भ्यान चढेर उनीहरू अमेरिकाको टेक्सस नजिकको बोर्डरमा पुगे । त्यहाँ खोला तरेर अमेरिका प्रवेश गर्नुपर्ने थियो । तर, त्यो सजिलो थिएन ।

आकाशमा सशस्त्र अमेरिकी सेनाको हेलिकोप्टर, जमिनमा सेनाको गस्ती । यी सबैको आँखा छलेर अमेरिकी भूमि टेक्नु थियो । मेक्सिको र अमेरिकाको सीमामा भएको साना खोला डुंगामा तर्न दलालले सिकाएका थिए । यसका लागि १३-१४ वर्षका केटाहरू डुंगा चलाएर खोलामा ओहोरदोहोर गर्थे ।

डुंगा खियाउँदै रमाइलो गरेजस्तो देखिए पनि ती केटाहरूको उद्देश्य भने प्रेमहरू जस्तैलाई नदी तार्नु थियो । करिब चार घन्टाको प्रयासपछि प्रेमको समूहले विभन्न चरणमा खोला पार गर्‌यो । खोला तरेपछि अमेरिकी भूमी टेके पनि अमेरिका छिर्ने गेट अलि टाढा थियो । त्यहाँ जान पनि सजिलो थिएन । हेलिकोप्टर गस्ती प्रेमहरूतीर फर्किएपछि उनीहरू हरियो घाँसमा लमतन्न सुते । ‘नदेखुन् भनेर घाँसमै लपक्कै सुत्यौं, गस्ती अलि टाढा गएपछि उठेर कुद्यौं,’ उनले भने ।

टेक्सस सीमामा अग्लो पर्खाल लगाइएको छ । धेरै मेक्सिनहरू भने अमेरिका छिर्न भर्‌याङबाट पर्खाल चढ्छन् र अमेरिकातिर हाम फाल्छन् । पेम्बाहरूलाई भने त्यो आँट थिएन । खोला पारी १५ मिनेट जति यताउता गरेपछि प्रहरी चेक पोस्ट देखे । जताततै प्रहरी । ‘आधा घन्टा हिँडेपछि प्रहरी बन्दुक ताक्दै नजिक आए तर हामीले हात उठाएर नजिक गयौं,’ प्रेमले अमेरिकी भूमी टेक्दाको अनुभव सुनाए, ‘अब त आइपुगियो भनेर ढुक्क लाग्यो ।’

प्रेमहरूले अमेरिकी माटो त टेके तर उनी गैरकानुनी थिए । ६ महिनामा करिब ३० लाख रुपैयाँ दलाललाई बुझाएर टेक्ससको गर्मी छिचोल्दै गर्दा उनका भविष्यप्रतिका आशा बढ्दै थिए । ‘अमेरिकी प्रहरीले नियन्त्रणमा लिएपछि लियो र भ्यानमा हालेर डिटेन्सन सेन्टर पुर्‌यायोु त्यो क्षण सम्झिँदै प्रेमले भने, ‘घाँटी, खुट्टा र हात तीन ठाउँमा ठूला साङ्लाले क्रक्रक्क पारेर प्लेन चढाए पनि अमेरिका पुगेको खुसी थियो ।’ केही महिनाको क्याम्प बसाइपछि प्रक्रिया पूरा गरेर प्रेम बाहिर निस्किए । २०७० पुसदेखि उनी न्युयोर्कमा सामान्य जीवन बिताइरहेका छन् ।

…………….

यसरी गैरकानुनी रूपमा अमेरिका जाने नेपालीहरूको संख्या बढ्दो छ । तर, यकिन विवरण कसैसँग छैन । सेटिङ बिग्रिँदा वा बीचबाटोमा दलालसँग कुरा नमिल्दा पक्राउ पर्ने नेपालीको संख्याले यसको प्रारम्भिक संकेत गर्छ । संयुक्त राज्य अमेरिका होमल्यान्ड सेक्युरिटीका अनुसार, गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने मुख्य दस देशको सूचीमा नेपाल पनि पर्छ ।

सन् २००६ मा अवैध रूपमा अमेरिका प्रवेश गर्ने तीन सय १५ जना पक्राउ परेका थिए भन यो संख्या २०१५ मा पक्राउ पर्नेको संख्या एक हजार २२ थियो । २०१६ को अप्रिलमा पाँच सय ७३ पुगिसकेको छ ।

अन्नपूर्ण पोष्टबाट 

यो पनि पढ्नुहोस् 

५ महिना देखि तलव पनि दिंदैन, घर फर्किन पनि पाइन्न 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय