राजदुत भएर जाँदा मायाकुमारी हुने की सूर्यनाथ ? 

सुनिल न्यौपाने, काठमाडौं

हुन त यो प्रश्न आफैंमा उति राम्रो होइन । अझ कतारका लागि पूर्व राजदुत रहिसकेकी मायाकुमारी शर्मा र उनका शुभचिन्तकहरुका लागि रुखो प्रश्न नै हो । तर यथार्थ हो पनि त्यहि । कतारका लागि पूर्व राजदुत रहि सकेका डा. सूर्यनाथ मिश्र कामदारको पक्षमा काम गर्ने भनेर चिनिए भनें मायाकुमारी शर्मा पदमा बसुञ्जेल कामदारको पक्षमा काम गर्न नसकेको गुनासो रहिरह्यो । 

हुन त कुनै व्यक्तिलाई देवत्वकरण गरिनुहुन्न । त्यसले स्वयं देवत्वकरण गरिएकै व्यक्तिलाई समेत विगार्दछ । तर यति हुँदा हुँदै पनि कतारमा श्रमजीवि नेपाली र तिनका पक्षमा काम गर्नुपर्छ भन्नेहरुका बीचमा यति लोकप्रिय छन् जो राजदुतबाट फर्केको बषौं पछि पनि कायम छ । त्यसैले राजदुत हुनु त मिश्र जस्तो भन्नेहरु अझै बग्रेल्ती भेटिन्छन् दोहा, सनैयातिर । 

यस विपरित शर्मा आलोचित छिन् । विविसीको साझा सवालमा कतारलाई खुल्ला जेल भन्ने यथार्थ बोलेको अभियोगमा कतारको राजदुतबाट फिर्ता गरिएकी शर्मा ओठे जवाफ फर्काउने राजदुतका रुपमा चिनिइन् । मिश्रले दिएको पीडित नेपालीका लागि राजदुतको कोठासम्मको सहज पहुँचलाई शर्माले बन्देज लगाएको गुनासो छ कतारमा कार्यरत नेपालीबीच । हो, त्यसैले उनको आलोचना सवैभन्दा धेरै भयो । 

नेपालबाट कतार, युएई, मलेसिया, कुवेत, बहराइन वा साउदी जस्ता नेपाली श्रमिकका गन्तव्य मुलुकको राजदुत भएर जाँदा श्रमिकका कुरालाई प्राथमिकता दिने की अन्य कुटनीतिक विषयलाई ? यो एउटा अहम सवाल हो । शर्माले आफू कुटनीतिक काम गर्न आएका कारण श्रमिकका कुरा सुन्ने काम आफ्नो नभएको भन्दै पन्छिएको एउटा ठूलो गुनासो थियो । तर नेपालीका मुख्य श्रम गन्तव्यमा राजदुत भएर जाने व्यक्तिले बुझ्नै पर्ने कुरा के हो भनें उसको प्राथमिक दायित्व कामदारको हित नै हो । खाडीका देश र मलेसियामा जाने नेपाली राजदुतले चाहेर पनि त्यो भन्दा ठूलो कुटनीतिक भूमिका निर्वाह गर्न सक्दैन । त्यसैले ति देशमा जाने तयारीमा रहेका राजदुतमा सिफारिस व्यक्तिहरुले यो यथार्थता बुझ्नु र सोही अनुरुप काम गर्नु आवश्यक छ । 

मायाकुमारीले राजदुत भएर बस्दा कतिपय राम्रा काम पनि गरिन् होला । तर ति सवैलाई उनको श्रमिकप्रति गरिएको भनिएको रुखो व्यवहारले छोपिदियो । ईतर राजनीतिक दलका व्यक्तिहरुले त आलोचना गर्ने नै भए, स्वयं उनलाई राजदुतमा सिफारिस गर्ने दल र सो दलका प्रवासमा रहेका कमिटीहरुले पनि उनको बचाउमा बोल्न सकेनन् । यसले मायाकुमारी शर्मालाई श्रमिकको हितमा सिन्को भाँच्न नसकेको राजदुतका रुपमा स्थापित गरिदियो ।  

प्रसंग कतारका राजदुतको मात्र होइन । केहि समय अगाडी साउदी अरवबाट फर्केका राजदुत उदयराज पाण्डे वा त्यसभन्दा अगाडी मृतकको समेत रकम खान पछि नपर्ने हमिद अन्सारी हुन् सवै आलोचित छन् । अनी युएईको राजदुतको कार्यभार पुरा गरेर स्वदेश फर्किंदै गरेका धनञ्जय झासँगको असन्तुष्टि पनि उत्तिकै छ । केहि अति गर्नेहरु बाहेकसँगका असन्तुष्टि अस्वभाविक पनि होइनन् । एकातिर लाखौं नेपाली कार्यरत मुलुकमा पीडित नेपालीले अपेक्षा गर्ने सहयोग वा तत्परता दुतावासले देखाउने नसक्ने यथार्थ पनि हो । अर्कातिर राजनीतिक रुपमा चरम विभाजित हामी नेपाली ईतर दलको सिफारिसमा आउने राजदुत प्रति पहिले नै आलोचनाको चस्मा लगाएर हेर्ने गर्छौं । त्यसैले श्रम गर्न खाडी, मलेसिया वा कोरिया पुगेका हामीले राजनीतिक लाभ, हानीको हिसावकिताव थन्क्याएर श्रमिकको बृहततर हितलाई केन्द्रमा राखेर व्यवहार गर्नु जरुरी छ । 

मायाकुमारी शर्माबाट सिकेको पाठ भनेको आपतमा परेर हारगुहार माग्दै दुतावासमा आइपुगेको एउटा निम्छरो नेपालीलाई आफ्नो कोठाको ढोका थुनेर भित्रै पस्न नदिने काम गर्नु हुन्न । अनि कुटनीतिक जिम्मेवारी बोकिसकेपछि कटु यथार्थलाई प्याच्च बोल्नु पनि हुन्न । र, सूर्यनाथबाट सिकेको भनेको पीडितका घाउमा मल्हम लगाउन सकियोे भनें कार्यकाल हुञ्जेल मात्र होइन कार्यकाल सकिएको कैयौं बर्षसम्म पनि श्रमिकले सम्झिरहनेछन् । 

कतारका लागि सिफारिस भएका महेन्द्र सिंह, युएईका लागि सिफारिस भएका भरत रायमाझी, साउदीका लागि सिफारिस भएका अली अख्तर मिकरानी, दक्षिण कोरियाका लागि सिफारिस भएका युवराज कार्की, बहराइनका लागि सिफारिस भएका पदम सुन्दाश सवैलाई दुुईटै अवशर छ, मायाकुमारी भएर आलोचित हुने की सूर्यनाथ हुने । त्यहाँ पुगेर तपाईले गर्ने व्यवहारले नै तपाईको परिचय निर्माण गर्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय