परदेशमा पैसा कमाउने सजिलो सुत्र

निमेश गिरी, युएई 

हुँदा अरु होस भन्ने कामना, नहुँदा कसरी बनाउनु भन्ने कल्पना । दाजुले भाईलाई छलेर होस या वहिनीले दिदीलाई ढाँटेर होस, बाबुले श्रीमतीलाई लुकाएर होस या छिमेकीले छिमेकीलाई सताएर होस । तर जे होस जसरी होस हातमा छलछाम जसरी पनि सुनौले छनछनी पैसा होस । किन दिनु अरुलाई दोष ? कस्तो मेरो काममा देखाको क्रोध, आफंैलाई धिक्कार्छु । 

हिजो मैले हिसाब गरे, विदेस पसेको पनि नेटो कटेछ । तर हातमा लाग्यो शुन्य नै छ । थकथकाएँ ! सँगै आएका साथीले काठमाडौमा घर बनाए, छोरोलाई बिदेशमा पढाए । म भने जस्ताको तस्तै ! श्रीमतिलाई सुन किनिदिन पनि सकिन । विश्व बजारमा सुनको भाऊ गिर्दा पनि लसुन मात्र किन्न सकेँ, सुनको “स” उच्चारण कसैले गरे मेरो त नौ नारी गलेर आउँछ । शरीरमा चिट चिट पसीना छाउँछ । साँच्चै । 

घरकाले पनि टोकेको एप्पल र कालो वेरी पठाईदिनु भन्छन् । यहाँ त रुखमा पैसा फल्छ, खुत्रुक्क टिपेर सामान किनेर पठाईदिनु पर्ने जस्तो गर्छन् । आफुलाई त तरवुजा किनेर खान गाह्र्रो पर्छ । त्यसैले टोलाउदै शुक्रवारको दिन लखर लखर आव्राको पार्क तिर लागियो निगुर मुन्टि “न” भएर ।

छ दिनको काम कहिले जाला घाम भन्दै वरदुवईको कपिलवस्तु चोकमा पुगेको मात्र के थिए धेरै नेपालीहरु ऐना हेरेर ६ दिनको कमाई रित्याउदै रहेछन् । एक दुई चोटी आफु पनि हान्नु पर्छ की भनी सोचियो । तर छोरोको स्कुलको फिस तिर्नु पर्ने वेला भयो भन्दै प्राणप्यारीको मोवीलबाट ट्वार ट्वार गर्दै बज्न थाल्यो गोजीमा त्यसका वाजेको ठाँडो । अनि लर्खराउदैं लागेँ पैसा पठाउने थलोतिर । संगै पढ्दाको साथी भेटियो बाटोमा धेरै लामो समय पछि । पैसाको रनहाले रन्थनिएको टाउको चिसो पार्न चिया पिउने जर्मको गर्दै फुकाले मनको वोझ साथीसँग । तलब, काम अनि घरको अवस्था सवै खोलेर नाङिनु नाँगिएँ । यहाँको हाल उसलाई पनि थाहा नभएको त कहाँ हो र ? अनि भन्न थाल्यो सजिलै पैसा कमाउने उच्च गुणस्तरको जुक्ति ।

हेर साथी मेरो पनि हालत त्यहि थियो पहिले । हेर त कस्तो दामी मोविल, गाडी अनि मेरो आर्थिक अवस्था अहिले । मन लागेको वेला मनमौजी पैसा खर्च गर्छु, दिनैपिछे घरमा फुनमा नै कुरा गर्छु । छोरोलाई काठमाडौंमा पढाएको छु । छोरीलाई नर्स वनाउन विदेश पठाएको छु । अव एक महिना पछाडी तेरो भाउजु पनि यतै आउने भएकी छे । गाऊँमा नाम र दाम दुवै चुस्त, दुरुस्त र तन्दरुस्त छ । त्यसैले सिधा औलाले होईन काजी औला बङ्याउन जान्नु पर्छ । पैसो नै नाथे त कति हो कति हुन्छ यहाँ । 

मैले पनि हे परमप्रभु मेरो दुःख हरण गरीदेऊ, मलाई मार्ग दर्शन गरीदेऊ, तिम्रो शक्तिको अपरम्पार चर्चा त कहाँ नसुनेको हो र ख्वामित, त्यसैले कृपया मेरो नाऊँका पार लगाईदेऊ स्वामी भन्दै स्वस्ति चढाएँ, गिडगिडाएँ । मेरो स्वामी चन्चल चित्तमा प्रसन्नता छायो । मुहारमा कान्ति आयो । उनको मृदुल मुखबाट पैसा कमाउने जुक्तिको युक्ति प्रवाहित हुन थाल्यो । 

म बबुरो, ठेटने, लामो कान पारेर अमृत बर्षा भएको सुनिरहे, हेरिरहेँ । उनी भन्दै गए हेर साथी, यहाँ विभिन्न संघ संस्था छन, हाम्रो पनि सुनचरी(सुनच्यूरी होइन नी फेरी) समाज छ । त्यसको अध्यक्ष म हुँ । त्यसैले त्यसको सदस्यता आज नै काट्नु । अनि यहाँवाट धेरै तँ जस्ता सोझा सिधा मुन्छे नेपाल जान्छन् । उनको गोजीमा ५, ७ हजार नेपाली दाम चढाउनु, अनि मेरो सामान लगिदिनु है भन्नु । के सामान भनि सोधेछन् भने, घरमा माईजुको, सालीको, कालीको विहे छ, दुई चार तोला सुन लगिदिएस् भन्नु । सजिलै नेपाल पुग्छ । अनि भाऊ वढेको मौकामा सुन पसलमा वेच्न लगाउनु । १०, २० हजार नाफा नहुने कुरै छैन । महिनामा २–४ पटक पठाए पछि कमाई पनि राम्रो हुन्छ, अनि अलि धेरै पठाउँदै जालास् । पछि पछि त किलोमा पनि पठाउन सकिन्छ । त्यसरी पठाउन सक्दा एक महिनामा नै काठमाडौमा दरवार वन्छ, छोछोरीको अनुहारमा चमक आउछ । यहाँ केही अध्यक्षले त्यसो गर्छन, म पनि गर्छु ।

मैले ख्वामित यो त अलि गाह्रो पो भयो त । यो भन्दा अलि कमसल उपाय छैन ? भन्दै उनको अमृत वाणीको प्रतिक्षा गरें । उनी मन्द मुस्कुराए अनि तुरुन्तै अर्को वाटो पहिल्याए । हेर साथी, तँ काम गर्ने कम्पनिमा धेरै नेपाली छन् भन्ने सुनेको छु । तेरो उनीहरुसँग सम्पर्क पनि राम्रो नै होला, किनकी ऊ वेलामा पनि तेरो मित्रता धेरैसँग राम्रो नै हुने गरेको थियो । त्यहाँ पनि पक्कै राम्रो नै होला । त्यसैले सवैसँग सल्लाह गरेस, तर हल्ला कहिले नगरेस् । महिना मरेपछि सवैका रातोगेडी मलाई दिएस, म घर पठाईदिन्छु । अरुले दिने भन्दा अलि वढि नै दिऊँला, तँलाई पनि यहाँको एकमा २५ पैसा नाफा दिउँला । महिनामा दुई चारलाख मात्र जम्मा गरीस भने पनि तेरो कमाई कति हुन्छ ? त्यो तँ आफै हिसाव गरेस । उनको सल्लाहलाई मनमनै गुन्दै सोँधे अनि कसरी बैंकको भन्दा वढि दिनुहुन्छ त मालिक ? भनेको तँ आँप खाएस तर रुख कहाँ छ कहिले नसोधेस पो मर्जि भो मालिकको । म लाटाले पापा हेरो जस्तै हेरोको हेरै भएँ । अनि जाहेर गरेँ, मालिक यो भन्दा अझै अर्को उपाय केही छ भने मर्जी होस, स्वस्ती गरेँ ।

मालिक आँखा तर्दै नाथु ! यता सुन् भन्दै फर्मान जारी भयो । यहाँ नेपालीको संख्या धेरै छ । त्यसैले यहाँ आम्दानी गर्ने अर्को तरीका भनेको कार्जेक्रम गर्नु हो । तर ठूलो गर्नु हुर्दैन उठिबास लाग्न सक्छ । त्यसैले होटलहरुमा सानो सानो गर्नुपर्छ । तर कलाकार १०, १५ जना ल्याउनु पर्छ । वाहिर प्रचार प्रसार गर्न २, ३ जना नाम चलेका कलाकार मात्र झिकाउने हो । अनि वाँकी मुन्छे के गर्ने नी ? हेर, हरी लठ्क, अस्ति गाऊँकी ठूली कान्छि, तल्लो घरे साईला अनि माथ्ला घरे दुखी वहादुरले पनि भिसा पठाईदेन काजी भन्दै फुन गरेका थिए । अनि भिजीटमा आउन हवाईघरले बन्द गरेको छ । त्यसैले हामीले कार्जेक्रम गर्ने भनेर छापसाप लगाएर ल्याउने । उनीहरुसँग एक दुईलाखको दरले पैसा असुल्ने । महिनामा एक कार्जेक्रम मात्र गर्न सके मालामाल होईन्छ । नाम चलेको कलाकारसँग पनि फुटोसुटो खिच्न पाईन्छ । अनि गाऊँमा त नाम र शान नै वेग्लै हुन्छ । म आवाक भएर हेरी मात्र रहेँ । अनि कपाल कन्याउदै म खवर गर्छु अव कम्पनिको गाडी फर्कने वेला भयो भन्दै वाटो तताएँ ।

गाडीमा हरीसँग एकै सिटमा वसेर घर तिर गएको त उसको अनुहारमा त ग्रहण लागेको थियो । के भयो भनी सोधेँ । विचराले घरमा आमा विरामी भएर पठाएको पैसा अहिलेसम्म घर पुगेको रहेनछ । उसकै गाऊँको दाजैले पठाईदिन्छु भनेका रहेछन् । अहिले न त दाजैको फुन उठछ, उता भाउजुलाई सोधनी गर्दा दाजै त त्यतै होलान यहाँ त छैन भन्छिन । 

उसले फेरी अर्को कुरा खोल्यो, अस्ति छुट्टि गएको गोल्छे पनि जेल परेको छ रे ! साथीले टि.भी. लगिदे भनेको थियो रे । एरर्पोटामा त टि.भि. भित्र चित्र त होईन् एक ढिक्काको पहेलो सुन पो थियो रे । कस्ता मुन्छेहरु भन्दै मन भारी वनाएर कोठामा पुगें । खाना मन नलागी खाटमा के पल्टेको मात्र थिएँ । नयाँ नम्वरबाट ट्वार ट्वार गर्न थाल्यो । हरे, को हो यति वेला न वेला फुन गर्ने भन्दै उठाएँ । उतावाट केटी पो वोल्छे । डरले फुन काटे को हो को ? फेरी आयो, फेरी उठाएँ । ओई तँ विर्खे होईन भन्दै सोधी, हो भने । उसले म गौथली वोलेको अस्ति आएको काम खोज्देन विर्खे भन्दै रुन थाली । के भयो कहिले आएको भन्दा १५ दिन अगाडी कलाकारसँगै आएको रे । थुप्रै पैसो खर्च गरेँ तर काम पाएको छैन भन्दै अत्तालिदै थिई ।

म खुईया गर्दै सोच्न थालेँ । आफ्नै मुन्छेलाई छलेर, ढाँटेर अनि फसाएर कमाएको पैसोले पोल्दैन ? छि मुन्छे कस्तो भएछन् । म त वरु ५ वर्षको साटो १० वर्ष विताउँछु तर मुन्छेको विश्वास, आस्था र नैतिकता वेच्ने काम गर्दिन् ।

भोक लाग्दा पानी पिउनु, दुःख भए आँसु

अरुलाई रुवाएर कसरी म हाँसु ?

पौरखी मेरो हात पौरख गर्नु कर्म

हामीले नै वुझ्नु पर्छ कानुनको मर्म । 

(गिरी पत्रकार महासंघ, युएई तथा एनआरएन युएईका सल्लाहकार हुन ।)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय