मेघराज सापकोटा 

यस्तै दिनको ३ बजेको हुनु पर्दछ, बिहीवार २४ सेप्टेम्बरको दिन । उनको मोबाइलमा घण्टी बज्यो । जीतपुर कपिलवस्तुका नारायण अर्याल २ महिना देखी दुबईको रसिदिया अस्पतालको कोमामा छन उनका सहृदयी मित्रले

भने । भर्खरै निर्बाचित भएका एनआरएन युएईका उपाध्यक्ष रमेश श्रेष्ठ हत्तनपत्त दगुरीहाले । उनी त्यस्तै साढे ४ बजे अस्पताल पुगे र बिरामीको बारेमा जानकारी लिए । 

त्यसो त एक दिन पहिले मात्र एनआरएन युएईले नेपालीहरुलाई भईपरी आउने समस्याहरुमा उद्दार गर्नु पर्ने भएमा तत्कालै गर्ने गरी उनकै संयोजकत्वमा आपतकालीन उद्दार समीती रेस्क्यु टीम बनाएको थियो । पहिले निमोनिया र पछी टिबीले ग्रसित नारायण अर्याल गत जुलाई २३ तारिक देखी दुबईको रसिदिया अस्पतालको कोमामा कृतिम अक्सिजनको सहायताले सास फेरीरहेका थिए । २ महिना भन्दा बढी अस्पतालमा मृत्‍युशैयामा लडीरहदा पनि युएईका कुनै पनि संघसंस्थाहरुलाई अत्तोपत्तो थिएन । 

उपाध्यक्ष श्रेष्ठ अस्पताल पुग्दा भरखरै बिरामीको लागि नै भनेर नेपालबाट आएका उनका भिनाजु ललित सापकोटा भेटिए । उनीबाटै श्रेष्ठले बिरामीको बारेमा जानकारी लिए । बिरामी अर्याल अझै कति दिन अस्पताल बस्नुपर्ने हो यसै भन्न सकिने अवस्था छैन । अहिलेसम्म २ लाख दिर्हाम भन्दा बढी खर्च भए पनि उनको खर्चबर्च इन्सुरेन्स (कम्पनी मार्फत) ले बेहोरिरहेकोले अहिलेलाई आर्थिक रुपमा त्यत्रो धेरै समस्या भने छैन । कहिलेसम्म त्यसरी अस्पतालमा बस्नुपर्ने, कति खर्च हुने, इन्सुरेन्सले कति बेहोर्ने र आफुले कति तिर्नु पर्ने हो भन्ने अहिले नै ठ्याक्कै भन्न सकिने अवस्था नरहेको बिरामीका भिनाजु सापकोटाले श्रेष्ठलाई जानकारी दिए । श्रेष्ठले पनि भबिस्यमा जे जस्तो सहयोग गर्नु परे पनि एनआरएन युएई तयार रहेको भन्दा सापकोटा एनआरएन देखी निकै नै खुशी देखिन्थे ।

एनआरएन युएईको नयाँ कार्य समिती २०१५-२०१७ ले केही राम्रा कार्यहरुको सुरुवात गरेको पाईन्छ । कार्यसमितिको पहिलो बैठकले २४ बुँदे निर्णय गर्दै काम गर्ने अठोट पनि सार्वजनिक गरेको छ । तिनै २४ बुँदे निर्णय मध्ये एक निर्णय थियो युएईमा दुःखमा परेका नेपालीहरुको उद्दार कार्य सम्पन्न गर्नको लागि एनआरएन युएईका उपाध्यक्ष रमेश श्रेष्ठको संयोजकत्वमा गठन गरिएको उद्दार समिति । अठोटहरु कति पुरा होलान या पुरा गर्नको लागि कति प्रयास गरिएलान त्यो त भबिस्यले नै बताउने छ ।  

उद्दार समितिले सातैवटा इमिरेट्समा रहेका जेल भ्रमण गर्ने र जेलमा रहेका नेपालीहरुको स्थितीको बारेमा जानकारी लिने निर्णय गरेको छ । सोही अनुसार समितिले अघिल्लो महिनामा दुबईको अल अबिर सेन्ट्रल जेल भ्रमण गर्‍यो । नेपाली दुताबासको सिफारिस पत्र सहित जेल भ्रमण गर्ने टोलीमा उनै उपाध्यक्ष श्रेष्ठ र महिला संयोजक कल्पना राई थिए । समितिले दुबई जेलमा रहेका १४ जना नेपालीहरुको नाम सार्वजनिक गरेको थियो । जसमध्ये ३ जना महिला छन । जेलमा भेटिएका १४ जना नेपालीहरु मध्ये ६ जना नेपाली रक्सी सेवन गरेको आरोपमा थुनामा परेको भेटिए । अन्य जेलहरुमा पनि रक्सी सेवन गरेको आरोपमा जेल पर्ने नेपालीहरु धेरै होलान भन्ने अनुमान छ ।

मेरो कम्पनीमा काम गर्ने मार्टिन नाम गरेका एक ईन्जिनियर थिए । उनी दक्षिण भारत मद्रास निवासी हुन । उनी सपरिवार युएईमा नै बसेकाले २-३ बर्षमा एक पल्ट आफ्नो गाउँ जान्थे । एक दिन गाउँबाट फर्केर उनी मलाई भेट्न मेरो अफिसमा आए । गाउँको कुरा गर्दै गर्दा उनले महङगी बढेको, उमेरदार जनशक्ती सबै बिदेश तिर लागेकाले ज्यालामा काम गर्ने श्रमिकहरुको अभाब बढेको, गाउँमा आईमाई, केटाकेटी र बुढाबुढी मात्र भेटिन थालेकोमा चिन्ता ब्यक्त गरे । गाउँमा सामान्य ज्यालादारीमा काम गर्ने श्रमिकको दैनिक ज्याला ६०० भारतीय रुपैया भन्दा बढी तिर्नु पर्ने भन्दै गुनासो पनि गरे । ६०० दैनिक ज्यालादारीले महिनाको १८,००० भन्दा बढी कमाई हुँदा पनि यी मद्रासीहरु लेबर काममा किन युएई बस्छन त ? मेरो जिज्ञासा भुईमा झर्न नपाउदै उनले भनेः आजकल नयाँ आउने क्रम कम त भयो तर पहिले नै आएकाहरु भने फर्केर जान मान्दैनन । किनभने युएईमा रक्सी सस्तो छ नि । एकछिन मनमनै हाँसे । पछी कुरा बुझ्दा त मेरो कम्पनीको क्याम्पमा सबैभन्दा बढी लेबर मद्रासी र सबै भन्दा बढी रक्सी खपत गर्ने पनि मद्रासी । १२ दिर्हाममा १ लिटरको रोयल स्ट्यागले धित मरुन्जेल पिउन पाइने ।

रस अल खैमहको बल्दिया (नगरपालिका) मा काम गर्ने बर्तमान एनआरएन युएईका केन्द्रिय सदस्य रेशम लामाले एउटा किस्सा सुनाए । स्थानिय अधिकारी तथा प्रहरी प्रशासनमा उनको चिनजान राम्रै छ । कसैलाई केही परे सहयोग गर्न पुलिस थानामा गईरहने हुनाले पनि उनलाई तल देखी माथि सम्मका कर्मचारीहरुसँग राम्रै पहुँच छ । एकदिन अर्कै काम बिशेषले पुलिस थानामा के पुगेका थिए भित्रबाट हाकिमले अरबी भाषामा सोधे – आज फेरी रक्स्याहा नेपालीहरुलाई छुटाउन आयौ कि ? यो त अत्ती बेइज्जत भएन र ? ती मद्रासीलाई अब नेपालीहरुले जितिसके जस्तो छ ।

रक्सी पनि फेरी कति सस्तो ? नेपालमा २५० रुपैया पर्ने कार्ल्सबर्ग बियर यहाँ ३ दिर्हाममा एक क्यान ९आधा लिटर० पाइने । रोयल स्ट्यागको ७५० एमएलको बोतल त १२ दिर्हाममा । नेपालमा ४०० रुपैया पर्ने आधा लिटरको हेनकेन बियर ७ दिर्हाम । अली धेरै नेपालीले पिउने गरेको अन्य बियर भन्दा अलिक कडा मानिएको रेडहर्स बियर ५ दिर्हाम । एउटा रेड हर्स पिए पछी झ्याप्प लाग्ने । केही बर्ष पहिले २५ रुपैया तिरेर एनआरएनको सदस्य बनौ न भन्दा एक जना महोदयले ५ वटा बियर पो आउछ भन्ने जवाफ दिएथे । हो रैछ ।   

दुईचार सय नेपाली भएको क्याम्पको त कुरा छोडौ । एउटै रूममा बस्ने ८-१० जना नेपालीहरुलाई पनि हरेक दिन एउटा न एउटा बाहानामा पिउने मेसो जुर्छ । आज वीकेन्ड, भोली बर्थडे, पर्सी ट्र्याजटी, निकोर्सी गर्लफ्रेन्ड, कानाकोर्सी चाडबाड, निकोकानाकोर्सी नयाँ बर्ष र अर्को दिन यस्तै केही । पुगेन त ७ दिन ? हरेक दिन झ्याप । 

मद्रासी माते पछी सुत्छ रे नेपाली माते पछी उठ्छ भन्छन । किन थाहा छ ? नेपालीलाई देशको धेरै चिन्ता हुन्छ रे । अनी नेतालाई गाली, पार्टीलाई गाली, देशलाई गाली, आमालाई गाली, बाउलाई गाली, लास्टमा साथीलाई गाली । गाली मात्रै भए त हो नि जन्म देखिको शक्ती लगाएर बितण्डा मचाउछ । झगडा गर्छ अनी जेल जान्छ । एकजना मित्र त झ्याप भएर नसाको सुरमा दुबईबाट सार्बजनिक बस चढेर अज्मान तिर लागेछन । बसमा वाकेछन । अनी प्रहरीको खोरमा परेछन । भिजिट भिसामा युएई आएका मित्रका परिवारलाई भने साथमा कागज पत्र नबोकेकोले प्रहरीले पक्रेको हो भनेर झुट बोल्न मलाई कम अप्ठेरो भएन । 

रक्सी खाएर गाडी कुदाउनेको त कुरै नगरौ । थाहा हुँदा हुँदै गल्ती गरे पछी “दुःख पाईस मंगले आफ्नै ढंगले” । युएईमा जेलमा रहनेहरुको धेरैको काहानी यस्तै हुन्छ ।  

जेल पर्नेहरुमा ४ जना चोरी काण्डमा पनि परेका रहेछन । चोर्नु आँफैमा अपराधीक मनोवृत्ति हो । त्यसमाथी युएईमा चोर्न अली गार्है हुन्छ है भनेर नयाँ आउनेहरुलाई सुरुमा युएई आउँदै खेरी मेनपावरले कानमा हालिदिनु पर्‍यो । युएईमा आफु बस्ने रूम देखी बाहेक प्रायः सबै सार्बजानिक ठाउँमा क्यामेरा जोडीएको हुन्छ । फ्रिङ्गर प्रिन्ट चेक हुन्छ । अनी यदी चोरी गरेको प्रमाणित भएमा ठुलो मात्रामा सजाय हुन्छ है भनेर जानकारी दिनुपर्ने देखियो । कसले ?

गतबर्ष एउटा अनलाइनमा नेपालमा श्रीमान र छोराछोरी भएकाहरुले युएईमा बङगाली र पाकिस्तानी बोइफ्रेन्ड बनाएको बारेमा एउटा ब्लग लेखेको थिएँ । प्यारमे कुछ कुछ होता हे भन्छन तर युएईमा गरिएको धोकेबाज ‘प्यारमे कुछ न कुछ होते हे’ भन्नु पर्ला । नेपालमा श्रीमान हुँदा हुँदै युएईमा बोइफ्रेन्ड बनाउने ती नेपाली चेलीलाई आफुलाई धोका दिएको भन्दै बङगाली प्रेमीले पोहोर साल हातले ठीक परेका थे रे यसपाली भने हत्या गर्ने मनसायले नै छुरी हानेछन । भाग्य बलियै रहेछ ती चेली अस्पतालमा उपचार गरेपछी निको त भईन तर अहिले रस अल खैमहको जेलको तातो तातो छिडीमा हावा खाईरहेकी छिन । उनको उद्दार कसले गर्ने ?

अबुधाबी स्थित कुनै एक कम्पनीमा काम गर्ने बुटवल घर भएका एकजना नेपालीले नेपालबाट श्रीमतीलाई भिजिट भिसामा झिकाएछन । नेपाल देखी नै रक्सी पिउने बानी परेका ती महोदयले रक्सी पिएर श्रीमतीलाई बाइकमा पछाडि राखेर जादै गर्दा दुर्घट्नामा परेछन । एकान्त ठाउँमा कसैले नदेख्दा पनि उनीहरु दुबैजनालाई  प्रहरीले सिसी टिभी क्यामारामा बेहोसी अवस्थामा देखेर उद्दार गरेछ । बिचरा श्रीमती १ महिना कोमामा बसेर उपचार गरेपछी अबुधाबीमा रहेका नेपालीहरुको सहयोगमा नेपाली फर्किन सफल भईन भने श्रीमान उपचार पश्चात जेलको छिडीमा हावा खाँदैछन । यिनलाई के गर्ने ?     

यी देखी बाहेक युएईका जेलमा केही ज्यान मुद्दामा सजाय भोगिरहेका, मृत्‍युदण्डको फैसला पाएका र केही फैसला कुरिरहेका पनि रहेका छन । रेस्क्यु टोलीले आगामी दिनमा अब अझै धेरै नेपालीहरुलाई युएईका अन्य जेलहरुमा पनि भेट्ने आशा छ । भेटेर उद्दारकार्यमा पनि होमिएला र सकेको सहयोग गर्ला पनि । तर उनीहरुलाई यसरी बिदेशको जेल जानबाट रोक्न पर्ने अर्को ठुलो आवश्यकता बारे लेखकलाई लागेको चिन्ता कसले मेटाउने ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय