युएईमा चुनाव एनआरएनको की राजनीतिक दलको ?

मेघराज सापकोटा, युएई

राजनीति सामान्यत सरकार, जनता र सार्वजनिक हीतको लागि जनताले आफ्नो बिचार पोख्ने र सोही बिचार अनुसार सरकारले काम गर्ने गराउने एउटा पद्दती हो । आफ्नो आफ्नो शासन पद्दती अनुसारको राजनीति हरेक देशले गरेका हुन्छन । भनौ देशका हरेक शासक र जनताले राजनीति गरेकै हुन्छन ।

एनआरएनलाई एनआरएन अभियान्ताहरु समाजसेवाको सर्वश्रेष्ठ थलोको रुपमा लिन्छन । समाजसेवा गर्न एनआरएन नै चाहिन्छ भन्ने पनि हैन । तर पनि प्लेटफर्मको हिसावले सानातिना जिल्लागत समाजभन्दा यो ठुलो शक्ती बोकेको प्लेटफर्म भने हो । विश्वका ७० वटा भन्दा बढी देशहरुमा शाखा भएको एनआरएनलाई मध्यपुर्ब खाडीका नेपालीहरुले अधिकतम आफ्नो हितमा प्रयोग गर्नु पर्छ भन्ने एनआरएनका नेताहरु नै बताउँछन ।

भौगोलिक बिशेषता अनुसार हामी खाडी देशहरुमा काम गर्ने श्रमिकहरुको आफ्नै प्रकारका समस्याहरु छन । ती समस्याहरु माथि नेपाल सरकार मुकदर्शक बनेर बसिरहेको बेला एनआरएनले केही हदसम्म समाधानमा सहयोग गर्छ भन्ने अपेक्षा उनीहरुको पाईन्छ ।

अर्को तिर ३० लाख नेपाली रहेको खाडी र मलेसियालाई आफ्नो पक्षमा प्रयोग गरी युरोप र अमेरिकामा बस्ने नेपालीहरुको आवाजलाई सम्बोधन गर्न नेपाल सरकारलाई दवाव दिन ठुलो टेवा पुग्ने विश्वाश अन्य देशका एनआरएनहरुको पाईन्छ । तसर्थ बेग्ला बेग्लै समस्या र स्वार्थ रहेका अलग अलग भौगोलिक समस्या र आवश्यकता बोकेका यी एनआरएनहरु आज विश्वभरीबाट एकजुट भएका छन । त्यो वास्तवमै राम्रो पक्ष हो । सबैतिरका नेपाली संगठित भएर मात्रै सबैका मागहरु पुरा गर्न सकिन्छ । संगठन आफैंमा शक्ती हो ।   

हामी नेपाली झन धेरै राजनीति गर्न निपूर्ण छौ । निपूर्ण त के भनौ राजनीतिको फोहोरी खेलमा अझ धेरै निपूर्ण छौ । यो संस्कार हामीले हाम्रो देशबाट नै सिकेर प्रवासमा पनि त्याग्न नसकेको कला हो । देश बिकासको राजनीति सिकाउन नसक्ने तर एकआपसमा भिडाउने र लडाउने राजनीति सिकाउने हाम्रा देशका नेताहरु झनै महान छन । यस्तै निपूर्णताको फोहोरी खेल अहिले एनआरएनए, युएईको आसन्न अधिबेशन र सो अधिबेशनले छान्ने नयाँ कार्यसमितिको चुनावमा देखिन थालेको छ ।

२००३ मा नेपालीको लागि नेपाली भन्ने मिठो नारा बोकेर स्थापना भएको एनआरएनले २००५ मा पहिलो पल्ट युएईमा खुट्टो टेकेको हो । एनआरएन, युएईको १० बर्षे सहमतिको ईतिहासलाई यसपालीको एनआरएनको निर्वाचनले मात खुवाने लक्षणहरु देखा परिसकेका छन ।

एनआरएन युएईका कहानी रोचक र घोचक छन । यी रोचक कहानीहरु बिस्तारै आगामी अंकहरुमा छापिने नै छन । अहिले भने केही महत्वपूर्ण सवालहरुमा केन्द्रित हुनेछु ।

पछील्लो अवस्थामा एनआरएन अभियान्ता हुँ भन्नेहरुका केही गतिबिधीहरु लज्जास्पद देखिन थालेका छन । ती कार्यहरु तुरुन्त बन्द गरिनु पर्दछ ।

एनआरएनमा सकेसम्म राजनीति नघुसोस र अहिले तस्वीरमा देखिएका सक्षम नेताहरु मध्ये एक कोहीले नै एनआरएनलाई नेतृत्व गरुन् भन्ने सबैलाई लागेको अवस्था हो । अहिलेसम्मको एनआरएन युएईको नेतृत्व चयनको ईतिहास हेर्ने हो भने नेपालका ठुला राजनीतिक दलका भातृ संगठनका प्रतिनिधिहरु बस्ने र आलोपालोमा नेतृत्व भागबण्डा गर्ने परिपाटी रहेको छ ।

एनआरएनमा राजनीति हुनुहुन्न र यसअघिका कार्यकालमा रहेका ब्यक्तीहरुकै कार्यक्षमता र समयको उपलब्धताको आधारमा सक्षम ब्यक्तीले एनआरएनको नेतृत्व गर्नु पर्दछ भन्ने हाम्रो बुझाई रहेको थियो । र ती ब्यक्तीहरु वर्तमान कार्यकालका उपाध्यक्ष सुदीप कार्की र महासचिव गोपाल कँडेल नै हुन भन्ने पनि हाम्रो ठहर हो । उनी मध्ये गोपाल कँडेलले अहिले आएर एनआरएन युएईको अध्यक्षको दाबी गरेनन । उनले आईसिसी केन्द्रिय सदस्यको लागि उम्मेद्बारी दिए । उनी निर्बिरोध पनि हुनेछन । अग्रीम बधाई ।

अध्यक्षका दाबी गर्ने अर्का उम्मेद्वार सुदीप कार्की केही जुझारु मानिन्छन । उनीसँग समाजसेवा गर्नको लागि पर्याप्त समय पनि छ । गोपाल कँडेलले मैदान खाली गरीसके पछी उनी अध्यक्षका हकदार मानिन्छन । उनी अली छिट्टै आक्रोशित हुन्छन भन्ने आरोप उनलाई लाग्ने गरेको छ । काम गर्ने सवालमा भने उनी अरु भन्दा अगाडि नै मानिन्छन । उनीसँग प्रतिस्पर्धा गर्ने अर्का अध्यक्षका प्रत्यासी वर्तमान सचिव लेखनाथ न्यौपाने हुन । न्यौपाने म्रिदुभासी मानिन्छन । उनी सक्षम पनि हुन तर उनी सँग समय पटक्कै छैन । मनी एक्स्चेन्जमा काम गर्ने उनीसँग न शुक्रबार छुट्टी छ न त शनिबार नै । एक दिन पनि छुट्टी नहुने भएपछी उनले कसरी समाजसेवा गर्ने हुन प्रश्न यहाँ छ ।

त्यसो भए उनी किन मैदानमा उत्रिए त ? जानकारहरु भन्छन कार्कीलाई माओवादी र काँग्रेसको समर्थन छ । एमाले कुनै पनि हालतमा अहिले आफ्नो हातमा रहेको एनआरएनको नेतृत्व कार्कीलाई सुम्पन चाहदैन । त्यसो त २ बर्षको अहिलेको एमाले समर्थित कृष्ण भुसाल नेतृत्वको एनआरएन युएईकै ईतिहासमा असफल कार्यकालको पगरी गुथाइन्छ । त्यती हुँदाहुँदै पनि एक दिन पनि छुट्टी नहुने न्यौपानेलाई मैदानमा खडा गर्नुले एमालेले के भोलीका दिनमा न्यौपानेले जितेमा पनि पहिलेकै जस्तो असफल कार्यकाल होला भन्ने चिन्ता गरेको छैन ? वा आफ्ना उम्मेदवार जिताउन उसले जुनसुकै कुरामा पनि आँखा चिम्लिन्छ ? त्यसैले राजनीतिको चस्मा खोलेर सक्षम ब्यक्तीलाई एनआरएनको नेतृत्व सुम्पने बाटोमा अघि बढ्दा समग्रमा एनआरएन र खाडीका देशमा कार्यरत कामदारका लागि राम्रो हुन्छ । प्रतिशोधले समाजसेवा हुन्न । त्यसका लागि सहमति नै उत्तम बाटो हो ।

कसरी भाँडियो त सहमती ?

एनआरएन, युएईको नेतृत्वको प्रतिस्पर्धामा देखिएका पुराना अनुभवी ब्यक्ती भनेर वर्तमान महासचिव गोपाल कँडेललाई हेरिएको थियो । अर्कोतिर वर्तमान उपाध्यक्ष सुदीप कार्की पनि बिगतका २ कार्यकाल देखी निकै नै सकृय भएर आफुलाई अध्यक्षको दाबेदार भन्दै आएका थिए । गोपाल कँडेल र सुदीप कार्की एक आपसमा जो आए पनि मिलेर जाने सहमती पहिले नै बनेको थियो । उनीहरु बीच शक्ती सन्तुलनको आधारमा एकले अर्कोलाई सहयोग गर्ने रणनिती पनि थियो ।

त्यहि वीचमा वर्तमान कार्यकालका सचिव लेखनाथ न्यौपाने अध्यक्षका उम्मेद्वारका रुपमा अघि सरे । उनी कँडेल र कार्की दुबै भन्दा जुनियर हुन । उनीसँग समाजसेवा गर्न पर्याप्त समय छैन । यसअघि कतै चर्चामा नआएका न्यौपानेले किन दिए त उम्मेद्बारी ? स्रोत भन्छ राजनीति नै एकमात्र कारण हो । केही दिन देखी एमालेका प्रतिनिधिहरुले एकातिर कार्कीलाई सहयोग गर्ने भनेर ललिपप देखाउने त अर्को तिर कंडेललाई फकाउदै आफुले अध्यक्ष हात पार्ने दाउमा थिए । यो खेल बारे कंडेल र कार्की समर्थित दलका प्रतिनिधिहरु सजग देखिन्थे । एकदिन त यतिसम्म भएछ कि कार्कीलाई फोन गरेर उनको अध्यक्ष पक्का भनेर फोन राख्न नपाउदै तिनै महोदयले कंडेल र कंडेल सम्बद्द अन्य ब्यक्तीहरुलाई समेत सोही बचन दिन भ्याए । यही बिचमा कंडेलले आफ्नै सहयात्री बिचमा आफ्नो पकड गुमाउदै लागेका थिए भने कार्की बलियो हुँदै आएका थिए । यही खेल हो जसले कार्की र कंडेललाई एउटा निर्णयमा पुग्न वाध्य बनायो र अध्यक्षमा कार्की उठ्ने निश्चित गरायो ।

लज्जास्पद गाली गलौज किन ?

निर्वाचन जती जती नजिकिदैछ उती उती एनआरएनकर्मीहरु राजनीतिक  प्रतिशोधले ग्रसित भई एकआपसमा आरोप प्रत्यारोपमा ओर्लिएका छन । लाग्छ नेपालको संसदीय चुनावलाई एनआरएन युएईको चुनावले मात खुवाउदैछ । तल्लो स्तरमा झरेर गरिने आरोप प्रत्यारोपले कसैको पनि इज्जत बढाउदैन । एकले अर्कोलाई गाली गर्ने, गरेको गाली रेकर्ड गरेर उसैलाई सुनाउने जस्ता एकदम नीच कार्यहरु समेत देखिएका छन । फेसबूक च्याट र वाट्स अप च्याटहरु सार्वजनिक गरिदिने धम्कीहरु फेसबूकमा बारम्बार छाउने गरेका छन । डनबाद र धनबादका आरोपहरु लाग्न थालेका छन । यस्ता कार्यहरुले एनआरएन स्वयमलाई लज्जास्पद बनाएको छ भने कानुनी झन्झट आउने सम्भावानालाई बलियो बनाएको छ । 

तसर्थ सबै पक्षले धैर्य अपनाउदै राजनीतिक प्रतिशोध र प्रतिस्पर्धा भन्दा सामाजिक भावले माथि उठ्न सकियो भने मात्र खाडीका श्रमिकहरुले एनआरएनको फाईदा पाउने हुन । नत्र कसैलाई नेता बनाउन र माथि पुर्याउन युएईका श्रमिकहरुलाई के खाँचो ? 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय