‘नाटक गर्छस् ?’

चर्चित-

नाटक गर्नु कति सजिलो वा गाह्रो विषय हो भन्ने बारे मैले कहिलै सोचेको थेन । तर केहीथान नाटक हेरेको भने अवश्य हुँ ।

पहिलो नाटक मैले भारतको आसाममा हेरेको सम्झिन्छु । धनश्री बजारमा । गुवाहाटी नजिकको हवाइपुर जिरिवास्साबाट आएका नेपालीभाषी कलाकारले देखाएको त्यो नाटकको खुकुरी डान्सबाहेक मलाई अन्य कुनै दृश्य याद छैन ।

केही नाटक झापा आएपछि हेर्ने अवसर पाएँ । झापाको दुधेमा देखाइएका केही नाटक हेरेको रहेछु । दुधेका खुंखार उद्घोषक नरेन्द्र जवेगु र उनको स्वरजादु म अहिले पनि सम्झन्छु । नाटकले भन्दा बढि म उनको उद्घोषणकलाले प्रभावित भएको रहेछु । त्यै भएर उनी मेरो सम्झनामा बसेका रहेछन् । उनी अझै जिउँदै छन् कि सेलिङ केसी दाइ ?

पछिल्लोपटक राजधानीको मण्डला थिएटरमा दयाहाङ राईद्धारा लिखित, निर्देशित नाटक ‘जिरोजिरोजेड’ हेरेको थिएँ । त्यस नाटकले मेरो मन यसरी तान्यो कि जसरी तान्छ हिटरले बिजुली ।

नाटकले सधैं मलाई तानिरहेकै रहेछ । तर मैले कहिले पनि त्यसबारे सोचेको रहेनछु । यो अद्भुत कलाको अंगलाई मैले मिहिन ढंगले हेरेकै रहेनछु । मैले मिहिन ढंगले हेर्दैमा वा नहेर्दैमा केही फरक वा योगदान होला नहोला तर धेरै नेपालीले नाटकलाई फगत तन्नम चिजका रुपमा प्रयोग गरेको पाएँ ।

मेरै सर्कलका साथीहरु मैले केही अपत्यारिला तर सत्य कुरा बताएँ भने भन्छन्, ‘नाटक गर्छस् ।’ नाटक त्यसरी गरिन्छ कि ? गरिन्छ र अनुप बराल दाइ ?

कत्तिपटक मैले लेख लेख्न नसक्दा, नभ्याउँदा, अल्छिलाग्दा र समयमा लेख हातलगाउन नसक्दा मेरै सम्पादकले भनिसके, ‘नाटक गर्न कत्ति जानेको ।’

मेरी दिदी नाटक बाँच्छे कि ? ऊ विहान उठेदेखि राती नसुतुञ्जेल बनावटी अभिनय नै गरिरहेकी हुन्छे । उसको वास्तविक जीवन गोरेटोमा र बनावटी जीवन रेलको लिकमा असमान कुदिरहेको हुन्छ । तर पनि मलाई नै फोनमा, भेटमा भन्छे, ‘नाटक गर्छस् ।’

दाजु उस्तै नमुना छ । हरेक चिजमा अनावश्यक बहस गर्छ । कसैले मेरो नाम मात्रै पनि सोध्यो भने ‘त्यसले के सोध्यो लेख्’ भन्छ । कहिले कहीं त उसका पालामा ऊ घोकन्ते विद्या पढ्थ्यो र त्यसले उसको मनमा डेरा बनाएको छ जस्तो लाग्छ । नलेखी नहुने । नलेखी नरट्ने र रटेरै बस्ने । रटेरै लेख्ने । रट्दा बुझ्नुपर्ने कुरोको अत्तोपत्तो नहुने । खै के खै के तालको । ऊ अहिले राजधानीमा जग्गा किन्ने भन्छ । ऊ बस्छ इटहरी । म खोजिदिन भ्याउँदिन । ऊ दिन विराएर फोनगर्छ । ‘हेर्न भ्याएकै छैन’ भनेर सत्य कुरो बताउँदा पनि भन्छ, ‘नाटक गर्छस् ।’ के म साँच्चै नाटक नै गर्छु त घिमिरे युवराज दाइ ?

कतार बस्दा धेरै असल मित्र र धेरै खराव शत्रु कमाएको सम्झन्छु । असल मित्र त असल भइहाले, खराव शत्रु त कतिसम्म खराव भने शत्रुता पनि सही ढंगले निभाउन नसक्ने । शत्रुहरुका कुरालाई कुनै अर्को लेखमा छुरा लाउँला । अहिले भने मेरा केहीथान असल मित्रहरुको कुरा गर्दछु ।

त्यहाँ मैले दुईथान गोर्खा जिल्लाका असल मित्र कमाएको थिएँ । अरु साथीहरु अन्य जिल्लाका पनि कमाएँ । तर यि गोर्खाली मित्रहरु अलि बढि आजको विषयका पात्र छन् । दुईमध्ये एकजना स्वदेशमै मकालु बस हाँक्छन् । अर्का रेगिस्तानतिरै छन् । उनी कुनै एउटा कम्पनिका सामान डिस्प्ले गर्छन् ।

कालो कालो कलरका रेगिस्तानी मनुवाको फोटो भने गोरो आउँछ । त्यसो हुनुलाई फोटोजेनिक फेस भन्छन् क्यारे । उनी फोटो खिच्न सधैं तयार रहन्थे । सिन देख्नै हुन्थेन, खिचिमागीहाल्थे । कुनै दिन वाक्क लागेर खिच्न नमान्दा भन्थे, ‘नाटक ।’ खै किन हो ‘गर्छ वा गर्छस्’ जोड्दैनथे । ‘कतै जाने’ भनेर उनले सोध्दा ‘भ्याउँदिन’ वा ‘नजाने’ भन्यो भने भन्थे, ‘नाटक ।’ यहाँ पनि ‘गर्छ वा गर्छस्’ छुटाउँथे । ति मनुवा राजेश्वर ढकाल हुन् । अझै पनि यि गोर्खाली यसै गर्छन् कि महेश्वर नेपाल भाइ ?

अर्का गोर्खाली मित्र पनि उतै कतारमा हुँदा मन बाझिने कुरो ग¥यो कि ‘किन नाटक ग¥या’ भन्थे । उनको जिउ अनुसारको बोलीमा दम पनि थियो । अस्ति कलंकीमा भेटेर पार्सल लगिदिन भनें । उनले सहर्ष स्वीकारे । ‘केही दिनुपर्छ कि ?’ भनेर सोधेको झण्डै मेरो सातो खाए । सातो खाने कुरोको निचोढ उही ‘नाटक गर्न जानेको’ भन्ने नै हो । तर पनि यि मलाई अत्ति प्रिय छन् । यि हुन् ठुलाकदका धनी मित्र जगतराम बर्देवा ।

एकजना झापाको सुरुङ्गामा उद्यम गर्ने मेरा अन्नय मित्र छन् । उनले भदौ ३ गते झ्याईं पारे । निकैअघि ब्यामा आउन निम्तो गरेका थिए । मैले स्टाटस नै लेखेर जाने जनाएको थिएँ । ब्या नजिकिंदै गर्दा पनि फोन गरिरहे । म कर्मविशेषले जान नसक्ने भएँ । तर टार्ने बहाना सुझेनन् । कहिले ‘के भन्ने होला’ भन्ने डरले कल उठाईन । कहिले ‘विजि छु’, ‘भरे म आफैं गर्छु’ भनें । खैर, जान सकिन । उनले अहिले पनि कतारमैजस्तो भन्दै होलान्, ‘नाटक गर्छ ।’ अनेक कारणले ‘जान्छु’ भनेको ठाउँमा जान नसक्नु नाटक गर्नु हो र सुनिल पोखरेल दाइ ?

कुनै दिन ज्यामराजै लिन आयो रे भने पनि म भन्छु होला ‘जान्न, जान्न’ । अनि ऊ रिसाउँदै भन्दो हो, ‘नाटक नगर् !’

नाटक यत्ति सस्तो विषय हो र अशेष मल्ल दाजु ? कि मान्छे नाटक नबुझेरै नाटक गर्छन् ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय