
चर्चित –श्रीमान/श्रीमती/सुश्री ६०१ को सरकारमा हामी एनआरएन अर्थात् ‘नवरङ्गी नेपाली’को हार्दिक नमस्कार, ढोग, नमन, साष्टाङ्ग दण्डवत्, सलाम, रामराम, लाल सलाम, जय नेपाल र लास्टाँ सलामवालेकम ! सर्वप्रथम त हाम्रो नामाकरणको रहस्य सरकारलाई सुनाउन चाहन्छौं । नयाँ नयाँ देशमा गएर नेपाली राजनीतिको नयाँ रङ्गले, नयाँ ढङ्गले प्रचारप्रसारमा लाग्ने भएकाले र विशेष गरी खाडीमा समस्यामा परेका नेपालीदेखि कोशौं टाढा भाग्ने भएकाले हामीले हामीलाई एनआरएन भनेका हौं र यो एनआरएनको पूरा रुप ‘नवरङ्गी नेपाली’ हो । हामी छेपारोले झैं रङ्ग फेर्न र चुनावका बेला चेपारो घस्नमा माहिर छौं । हामी यो नयाँ जमानामा नेपाललाई नयाँ बनाउनमा लाग्ने प्रणले संस्थागत भएकाले पनि हाम्रो नाम सार्थक छ भन्ने हामीलाई लाग्या छ । नामको सार्थकतापछि कामको सार्थकतातिर हामी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । स्थापनाकालदेखि हामीले गर्दैआएका महान उपलब्धीलाई हामी यहाँ बाँड्न पाउँदा खुसीले गद्गद् भएका छौं । हामीले गरेको सवैभन्दा महान काम हाम्रो संस्थाको स्थापना हो । पृथ्विनारायण शाहले ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन’ भनेजस्तै ‘हाम्रा साना स्वार्थले आज्र्याको संस्था होइन’ । संस्था गठनपछि हामीले विश्वभरि शाखा खोलेर यो रसियाब्यापी संस्थालाई विश्वब्यापी बनाउन महान भूमिका खेल्यौं । त्यसपछि हामीले बर्षैपिच्छे नयाँ पार्षद् थप्यौं र पुराना पार्षद्लाई नविकरण गरायौं । पार्षद् थप्दा र नविकरण गराउँदा हामीले मोटो रकम बटुल्ने नीतिलाई निरन्तरता दियौं । मोटो रकम असुल्ने तर परिआउँदा लुक्ने हाम्रो रणनीतिले गर्दा हामीले तीसौैं लाख नेपालीमा एक लाखभन्दा कम सदस्य बनाउन सफल भएका छौं । तर यस्तो हुनुलाई हाम्रो कार्यशैलीसँग बितृष्णा भएर सदस्य नबढेका हुन् भन्ने सरकारलाई लाग्छ भने हामी गम्भिर असहमति जाहेर गर्दछौं । खास कुरो के हो भने ‘धेरै विरालाले मुसो मार्दैनन्’ भनेर प्रवाशी नेपालीहरुले ‘नवरङ्गी नेपाली’ जस्तो महान संस्थालाई चुस्त, दुरुस्त र तन्दुरुस्त पारीराख्न जम्बो टोली नबनाएका हुन् । चार करोड जनतामा छ सय एक सभाषद् हुनु पनि नेपाली जनताको यस्तै उदार भावनाले हो भन्ने हाम्रो बुझाइ छ । त्यसैले सदस्य संख्या बढाउन नसक्नु भन्दा पनि नचाहनुमा सरकारको पनि हाम्रैजस्तो बुझाइ हुनुपर्छ भन्ने हाम्रो माग छ । अन्य केही महान उपलब्धीलाई हामीले यहाँ उल्लेख गरेनौं भने गम्भिर त्रुटी हुने देखिएकाले हतारहतार हामी भनाइ र गराइमा कठिबद्ध नभए पनि यो पत्रमा लिपिबद्ध गर्न चाहन्छौं । हामीले खाडी र मलेशियामा रहेका नेपालीलाई समेट्नुका पछाडिको कारण गुह्य छ । र त्यो के भने अन्य मुलुकमा भन्दा ति मुलुकमा काम गर्न गएका लाटासिधा नेपालीलाई फस्ल्याङ्गफुस्लुङ्ग पारेर सदस्य बनाउन सकिन्छ भन्ने भित्रि ‘ग्राइनडिजाइण्ड’ हो । यसरी एकपटक चिप्लो घसेर बसमा पारियो भने रकम हातालागि भइहाल्छ । फेरि तिनै देशमा अन्य देशमा भन्दा धेरै संख्यामा नेपाली कामदार छन् । हाम्रा सदस्य पनि तिनै देशमा धेरै छन् । यो यसै नीति अनुसार सम्भव भएको हो । दुई बर्ष कटेकालाई सदस्य बन्न पाउने नियम बनाउनुको पनि बेग्लै कथा छ । हाम्रो मुख्य सदस्य भएका खाडी राष्ट्र र मलेशियामा तिनले चाहेर पनि युरोप, अमेरिका, क्यानाडा, अष्ट्रेलिया आदि देशमा जस्तो ‘ग्रिन कार्ड’ पाउँदैनन् । बरु पाए भने सिधै ‘रेड कार्ड’ पाएर नेपालै फर्किन्छन् । खाडी र मलेशियामा भएका श्रमिकको लागत पनि ख्वाप्पै र खटाइ पनि दह्रो अनि कमाइ पनि कम हुने भएकाले छुट्टिमा आउँदैजाँदै गरे पनि धेरै बर्ष बस्ने गरेका छन् । यसो हुँदा धेरै बर्ष दुहुनु गाईलाई जस्तै तिनलाई हामीले दोइरहन पाउँछौं । कहिलै थारो नहुने गाईका रुपमा हामीले तिनलाई बर्गिकरण गरेका छौं । एजेण्ट वा म्यानपावर कम्पनिलाई विदेसियाए वापत दिएको रकम उठाउनै तिनलाई दुई बर्ष भन्दा बढि लाग्छ र करैले पनि बस्नुपर्छ । त्यही मौकामा हामी तिनलाई पार्षद् बनाइहाल्छौं । खास कुरो यही हो । हामीले सामुहिक लगानीको कुरो जोडतोडले उठाएका छौं । किन पनि भने हामी नेपालीमा कहींकतै कोहीसँग पनि मेलमिलाप छैन । खुट्टा तान्ने, छिर्की हान्ने गर्नमा हामीले ‘पिएचडि’ गरेका छौं । कहिलै मिल्न नसक्ने नेपाली स्वभाव थाहा पाएर नै हामीले यो कुरोलाई अघि बढाएका हौं । मिलाउनै नसकिएपछि लगानी गर्नै परेन । त्यसै पनि यो नारा लोकप्रिय भएकै छ । नारा लोकप्रिय हुनु भनेको ‘नवरङ्गी नेपाली’ लोकप्रिय हुनु हो र यो लोकप्रिय हुनु भनेको बर्षेनी पार्षद् बढ्नु र अर्थतन्त्र बलियो हुनु हो । नेपालमा चुनाव गर्नु चाहीं सरकारलाई जनबल देखाएर मनोवल गिर्न नदिनु हो । यत्ती गरेपछि आलोचित हुनु पर्दैन भन्ने हाम्रो ठम्याइ छ । नेपालमा दर्ता गछौं भन्ने चैं ‘हात्तीको देखाउने दाँत’ हो । दर्ता गरेर केही गर्न नसकिने सत्यलाई गोप्य राखे पनि काम नगरेको आधारमा सरकारले खारेज गर्ला र फोकटमा आउने नाम र दामलाई गुमाइएला भनेर हो । सरकारसँग हाम्रा केही मागहरु छन् । हामी नेपालीहरु मागेरै काम चलाउँछौं, यो हाम्रो राष्ट्रिय चरित्र हो । त्यही भएर हामीले दोहोरो नागरिकता मागेका हौं । खासमा यसरी हामीले दोहोरो नागरिकता माग्नुका पछाडिको राज पनि गज्जबको छ । हामीमध्येका उमेद्वारहरु सवै केही न केही ब्यावसाय गर्नेहरु छौं । यो एनसिसि र आइसिसि दुवैमा लागु हुन्छ । मन मात्रै हुनेलाई हामीले पार्षद्मै थन्क्याएर धन हुनेहरुलाई मेजर पोष्टमा तानेका छौं । यि सवै पहुँचवालाहरुलाई कालान्तरमा ग्रिन कार्ड मिल्ने देशमा ल्याउने हाम्रो योजना हो । त्यसमा पनि खाडी र मलेशियामा भएकाहरुका लागि यो दोहोरो नागरिकताका कुरा सकेसम्म लुकाउने गरेका छौं । लुकाउनकै लागि तिनले श्रमिक ल्याएर अलपत्र पार्दा पनि ‘तैं चुप मैं चुप’ गरेर बसेका हौं । किनकी हामी पश्चिमी देशमा भएकाहरुलाई बसेको देश र नेपालको नागरिकताको खाँचो छ । खाँचो किन पनि परेको हो भने यो ‘नव रङ्गी नेपाली’को संस्थामा हामीलाई हाम्रो पार्टीका मान्छेले धकेलेर/बोकेर पठाएका हुन् । भोली नेपालमा राजनीति गर्न र त्यो नभए पनि कमसेकम दशैंमा ससुरालीमा टिका थाप्न भए पनि जानै पर्छ । त्यसैका लागि मात्रै दोहोरो नागरिकताको खाँचो हो । दिने भए आउँछौं, नदिने भए यत्रैसित्ती ! पत्र प्रेषक नवरङ्गी नेपाली यो पनि पढ्नुहोस् कतारमा हामी लगभग अर्धभूमिगत रुपमा काम गर्दैछौंः रिमाल