
हिजो आज मलेशियाको प्रायः ठाउँमा अलिक बाठा जस्ता देखिने, बोल्न सिपालु र अलिक सुकिलो कपडा लगाउने नेपालीको मोबाइल फोन मिनेट मिनेटमा बजिरहन्छ । मोबाइलमा म्यासेजहरु उहि रुपले आउँछन् । फोनमा उनी प्रायसलाई आजको रेट यति छ वा पैसा झिक्ने पिन नम्बर आधा घण्टामा आउँछ भन्दै जवाफ दिइरहेका भेटिन्छन् । जो यति बढी यो रुपमा व्यस्त छ, बुझ्नुस् त्यो मलेसियामा झोेले बैंक चलाउने अर्थात हुण्डी व्यापारी हो।
यसरी बठ्याई गर्दै मलेसियामा अवैध धन्दा चलाइरहेका ति व्यक्तिको मलेसियाका प्रायः नेपाली काम गर्ने सवैजसो शहरमा सञ्जाल बनिसकेको छ । तिनिहरुले मलेसियामा कार्यरत नेपालीको मन यसरी जितेका छन्, विश्वासकै भरमा उनीहरुलाई कडा परिश्रमले आर्जेको ठूलो रकम सजिलै थमाइदिन्छन् तिनिहरुको हातमा । त्यसरी पैसा पठाउँदा कुनै रेमिट कम्पनीले दिने भन्दा बढी मूल्य पाउनु नै आकर्षणको मुख्य कारण हो । त्यसैले नै ति नेपाली व्यापारीका मोवाइल निक्कै व्यस्त हुने गरेका हुन् ।
लोभले लाभ लाभले बिलाप
दार्चुलाका दिपक सिंहले बैधानिक रुपमा खोलिएका रेमिट्यान्स कम्पनीमा भन्दा केहि बढि पैसा पाइने लोभले आफुसँगै काम गर्ने साथीका हातमा यहाँको आरएम ५ हजार थमाए । अर्थात नेपाली झण्डैै डेड लाख । तर दुईदिनसम्म पनि नेपालमा पैसा झिक्नका लागि नेपाल पठाउने पीन नम्बर नै आएन । अनी आफु सँगै काम गर्ने साथीलाई सोध्दा सिस्टम डाउन भएको छ एकदुई दिन पर्खिन भने उनले ।
तर दिपकका अनुसार त्यस्ता एकदुई दिन त के हप्तै पनि बिते तर पीन नम्बर आएन । अनी यसको केहि दिन पछि त साथी नै पो काममै आउन छाुडे । उनीसँग फस्ने दिपक एक्ला थिएनन् । केहि बढी रेट पाउने लोभमा कम्पनीका अरु केहि नेपालीहरुले पनि पैसा त्यसरी नै बुझाएका थिए । ति सवैको पैसा कुम्ल्याएर भागेका ति नेपाली फर्केर आएनन् ।
कापर भन्ने ठाउँमा उनको होटल भएको पत्तो लगाएका रकम फसेका नेपाली उनलाई खोज्दै त्यहाँ पनि पुगे । तर त्यहाँ होटलमा भोटेताल्चा लगाइएको देखेपछि सवैको नौनाडी गल्यो । अर्थात चितवनका जनक कुँवरले थुप्रै नेपालीको गरी झण्डै २५ हजार रिङ्गेट खाएर कुलेलम ठोके । अव उनलाई समात्ने कुनै आधार छैन पीडितहरुसँग ।
जनकलाई रकम बुझाएका मोरङ्गका जितेन्द्र यादव गाउँमा जग्गा बैना गर्न भनेर साथिहरुसँग समेत ऋण गरेर बुझाएको ६ हजार रिङ्गेट लिएर साथि बेपत्ता भएपछि उनको सातोपुत्लो उडेको छ । यता मलेसियामा साथिहरुलाई रकम तिर्नुछ, उता नेपालमा रकम पुगेन, जग्गा बैना गर्ने कुरा सपना मात्र भयो ।
यो त केवल एउटा पछिल्लो उदाहरण मात्र हो, खोजि हेर्ने हो भने. यसरी नै चिनारु वा साथिभाइले नै हुण्डीको नाममा पैसा खाएर भागेका कयौं उदाहरणहरु छन् ।
को हुन् मलेसियामा नाम चलेका हुण्डी व्यापारी ?
बिदेशबाट पैसा पठाउने काम नेपाल राष्ट्र बैंक तथा सम्बन्धित देशको केन्द्रीय बैंकबाट स्वीकृति प्राप्त गरेका संस्थाहरुले मात्र गर्न पाउँछन् । तर हिजोआज हुण्डीको कारोवार चम्किएको र बैधानिक बाटोबाट रकम पठाउने क्रम घटेको मलेशियामा रहेका बिभिन्न रेमिट्यान्स कम्पनीका प्रतिनिधिहरु बताउँछन् ।
अहिले यहाँको सरकारले जीएसटि(बस्तु तथा सेवा कर) लागु गरेदेखि त यो क्रम अझ बढेको जानकारहरु बताउँछन् । यसमा मलेसियामा नाम चलेका नेपाली संलग्न छन् । तोक राना, हाकिम श्रेष्ठ, बिश्व राई लगायत मलेशियाका थुप्रै नेपाली होटल तथा रेष्टुराँबाट हुन्डी कारोबार हुने गरेको भुक्तभोगिहरु बताउँछन् । कारोवारी र कारोवार दुवै बढेसँगै ठगिनेको संख्या पनि बढेको छ । र, यसको ओखती भनेको पैसा पठाउने मान्छे आफैं सचेत हुनु नै हो ।
विद्रोही नेपाली ,क्वालालम्पुर
यो पनि पढ्नुहोस् मलेसियामा संस्था बनाउ, रकम कुम्ल्याउ