बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष वाग्लेलाई निलम्वन गर्ने तयारी

काठमाडौं, माघ २३ – नेपालबाट बैदेशिक रोजगारीमा जाने कामदारका लागि मलेसियामा बायोमेट्रिक प्रणाली लागू गर्ने नगर्ने विषयमा अहिले बहस मात्र नभइ विवाद नै चलिरहेको छ । मलेसियाको एक नीजि कम्पनीलाई यसको जिम्मेवारी दिइएपछि त्यसको विरोध नेपालमा मात्र नभइ स्वयं मलेसियामा समेत भइरहेको छ ।

दुई साता अघि जवर्जस्ती बायोमेट्रिक लागू गर्न खोजिएपनि गत साता संसदिय समितिले यसलाई रोक्न आदेश दिएपछि हाल यो स्थगित छ ।

बायोमेट्रिकका बारेमा चर्को विवाद भएपछि यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी पाएको मलेसियाली कम्पनी बेष्टिनेट एसडीएन, बिएचडीले हाल मलेसियामा यसका पक्षमा लविङ गरिरहेको छ ।

नेपालमा अधिकाँश बैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी यसको विरोधमा छन् । तर बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्ले यसको पक्षमा खुलेरै लागेका छन् ।

वाग्ले मलेसियामा बिहिवार बेष्टिनेटद्धारा आयोजित पत्रकार सम्मलेलनमा सहभागि भएपछि संघका उपाध्यक्ष कुमुद खनाल लगायतका संघका पदाधिकारी अध्यक्ष वाग्लेलाई निलम्वन गर्ने अभियानमा जुटेका छन् ।

संघका २१ जना मध्ये १४ जना सदस्यको हस्ताक्षर सहित आज(शुक्रवार) नै वाग्लेलाई निलम्वन गरिने अभियानमा खनाल नेतृत्वको टोली जुटेको छ । यसै सन्दर्भमा खनालसँग देश परदेशका लागि सुनिल न्यौपानेले गरेको कुराकानी ।

अध्यक्ष वाग्ले त मलेसिया पुग्नु भएछ बेष्टिनेटको पत्रकार सम्मेलनमा । तपाईहरु यहाँ विरोध गरिरहने अध्यक्ष उता हाम्रो समर्थन छ भन्न पुग्ने ?

-यो अध्यक्षको व्यक्तिगत स्वार्थ हो, यसमा संघको कुनै समर्थन छैन । हामीले दुई हप्ता अघि नै संघको बैठकमा यो लागू हुनुहुन्न भनेर २१ जना मध्ये १२ जनाले विरोध गरेका थियौं ।

बहुमतले विरोध गरेपछि अध्यक्ष पनि बाध्य हुनुभयो र उहाँले यसको विरोधमा बोल्नुपर्छ भन्नुभयो । आफूले पनि बिरोध गर्ने भन्दै त्यसलाई लागू हुन नदिन वातावरण तयार पार्न त्यसपछि उहाँले मेरै संयोजकत्वमा ५ सदस्य भएको टोली बनाउनुभयो ।

हामीले त्यसपछि संसदिय समिति, विभिन्न दलका नेताहरु लगायतलाई भेटेर यसले निम्त्याउने खतराका बारेमा बताएपछि सवै सहमत हुनुभयो र अहिले बायोमेट्रिक लागू हुन नपाएको अवस्था छ ।

यो व्यवसायी व्यवसायी बीचको झगडा हो वा यसमा साँच्चै कामदारको स्वार्थ हेर्नुभएको हो ?

-भोली बायोमेटिक लागु भयो भनें एउटा व्यक्तिको सम्पूर्ण विवरण र जैविक प्रमाण एउटा नीजि कम्पनीसँग पुग्नु भनेको कति ठूलो खतराको कुरा हो विचार गर्नुपर्छ । भोली त्यो प्रमाणको दुरुपयोग भयो भनें हजारौं, लाखौं व्यक्तिको विवरण उनीहरुसँग हुन्छ, त्यो अवस्थामा के गर्ने ? अर्को कुरा अहिले बेष्टिनेटले कामदारले तत्काल थप आर्थिक भार व्यहोर्नु नपर्ने भनेको छ, भोली बढाउँदा के हुन्छ ? के नेपालका स्वास्थ्य व्यवसायीले त्यत्रो रकम तिरेर ल्याएको उपकरणको रकम कामदारलाई थप्दैनन् ? त्यसैले यसले अन्ततः कामदारलाई ठूलो क्षती पुर्याउँछ । यो अवस्थामा हाम्रो अध्यक्षले बेष्टिनेटको पक्षमा वकालत गर्नका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा बायोमेटिक ठिक छ, नेपालमा एक दुई प्रतिशतले मात्र विरोध गरेका हुन् भन्नु भएको कुरा आएको छ, यो कहाँसम्म जायज हो ? राज्यले नगर्ने भनेको विषयमा, लाखौं कामदारलाई समस्या पार्नेगरी हाम्रो अध्यक्षले त्यो कार्यक्रममा सहभागिता जनाएर गल्ती गर्नुभएको छ, हामी उहाँलाई कारवाही गर्छौं ।

के गर्नुहुन्छ कारवाही ?

-हामी २१ सदस्यीय कार्यसमितिमा १४ जना यसको विपक्षमा छौं । हिजो(विहिवार) एकजना साथि चितवनबाट नआइपुगेका कारण थप कारवाही गर्न सकिएन । आज(शुक्रवार) हामी दुई तिहाई पुर्याएर अध्यक्षलाई निलम्वन गर्छौं र नयाँ नेतृत्व चुन्छौं । हामीलाई देशको स्वार्थ, नेपालीको स्वार्थ बेचेर कामदार पठाउनु र आफ्नो व्यवसाय गर्नुछैन ।

अध्यक्षको व्यक्तिगत स्वार्थ देखियो भन्नुभयो ? के हो स्वार्थ ?

-यो व्यवसायीक स्वार्थ नै हो । बेष्टिनेटका सञ्चालकहरु बदनाम र जेल परिसकेका व्यक्ति छन् । एकजना त मेनपावर सञ्चालक नै छन् । हो, उनीहरुसँग हाम्रो अध्यक्षले मिलेर काम गर्न खोज्नु भएको छ । यसअघिका केहि विज्ञापन हेर्नु भयो भनें पनि उहाँले गरेको बदमासी प्रष्ट देखिन्छ । तर दुःखको कुरा बैदेशिक रोजगार विभाग, नेपाल सरकारले पनि यो कुरा बुझेर पनि मौन बसेको छ । यसले शंका जन्माएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय