म हराएको छैन

निकै पहिलेदेखि दोहामा चिनाजानी भएका पत्रकार दाजु सुनिल न्यौपानेले भेट्न डाकेका थिए । म आफैं भेट्न जानुपर्ने, भ्याएकै थिईन ।

Charcheet inside the story

राजधानीमा टिक्न सानो कमाइले पुग्दैन । सानै सही तर दैनिक कमाइ भइरहने कुनै ब्यावसाय भएन भने यो सहरले हरेक नागरिकलाई खेद्छ, त्यो उपत्यकावासी नै किन नहोस् ।

यो सहरमा ज्यान नजोगाइ रहर पूरा गर्न सकिंदैन । ज्यान जोगाउन एउटा सानो फोटो स्टुडियो खोलेको छु । सँगै स्टेशनरी छ । बस, प्लेन र ट्रेनका टिकट बेच्छु । अर्थात् यो सहरमा म पनि टिक्न थालेको छु ।

यहि मेलो मिलाउन लाग्दा सुनिल दाईलाई भेट्न जानै भ्याएको थिईन । एकदिन साइत जुर्यो र लागें उनलाई भेट्न– कर्मै हापेर ।

पाटनढोका नपुगी हिमालगल्लीबाट पाँचसय मिटर भित्रको एउटा गज्जबको घरमा देशपरदेश डटकमको अफिस रहेछ । पाटनढोकाको ढोकैबाट दाईले लिएर गए । बेसमेन्टमा रिसेप्सन, रेकर्डिङ्ग स्टुडियो, किचन र अफिस रहेछ । अफिसमा तीनवटा टेबुल रहेछन्, तर ति तीनवटा टेबुल तीनजना अलग अभियानमा लागेका साथीहरुले प्रयोग गर्दा रहेछन् । र भाडा पनि ‘दोस्ती पक्की, खर्च अप्ना अप्ना’ रहेछ । यो मलाई झन् गज्जब लाग्यो । करिब तीन घण्टा हामीले आ–आफ्ना बिगतबारे कुरा गर्याै । मैले कतारमा रहँदा गरेको पत्रकारिता र फोगोग्राफीबारे सुनाएँ । उनले यसअघिको पत्रकारिताको अनुभव सुनाए र त्यसपछिको आगतबारे बताए । नेपाली मिडियाबारे पनि लामो कुराकानी भयो । सवै कुरा सुनेपछि उनले कतारलगायतका देशमा कार्यरत मेरा प्रिय पाठकलाई मैले ब्यांग्य लेख्न छोडेर अन्याय गरेको बताए । कुरा ठीकै लाग्यो । देश र परदेशमा रहने मेरा प्रिय पाठकका लागि मैले लेख्नुपर्ने भनेर उनले सुझाव दिए । त्यही सुझावलाई मनन गर्दै मैले मेरो पुरानो स्तम्भ ‘थर्ड अम्पायर’लाई फेरि जिवित बनाउने निर्णय गरें । यही लेखबाट मैले स्तम्भ सुरु गरेको छु । आशा छ– मेरा प्रिय पाठकले मेरा लेख पढेर भद्र सल्लाह, सुझाव र प्रतिक्रिया दिनेछन् । प्रिय पाठकलाई क्रिकेट मनपर्छ वा क्रिकेटको डाइहार्ट फ्यान हो भने थर्ड अम्पायर के हो भन्नेबारे थाहै होला । क्रिकेट खेलमा मैदानमा खटिएका दुई अम्पायरले गर्न नसकेका जटिल निर्णय थर्ड अम्पायरले सजिलै गरिदिन्छ । थर्ड अम्पायरले गरेको निर्णय नै अन्तिम निर्णय हुन्छ । म पनि यो स्तम्भमा हरेक बिषयलाई सत्यको नजिक रहेर लेख्नेछु । तर मेरो विचार नै क्रिकेटको थर्ड अम्पायरले गर्ने अन्तिम निर्णय जस्तो अन्तिम सत्य भने नहुन पनि सक्छ । यो स्तम्भमा म हरेक विविध विषयलाई समेट्नेछु । ति ब्यंग्य हुन पनि सक्छन् र नहुन पनि । ति जानकारीमुलक हुन पनि सक्छन् र नहुन पनि । ति पाठकको रुचिकर हुनेछन् पनि र हुनेछैनन् पनि । तर म लेखिरहनेछु । निरन्तर लेखिरहनेछु । तर जे लेख्नेछु– ति सवै कतारमा लेखिएका भन्दा फरक हुनेछन्, नविन हुनेछन् । ‘नेपाल गएपछि चर्चित हरायो ।’ यो कुरो मैले धेरैपटक सुनेको छु । हुन त कतारमा अझै ‘राजधानी अन्तर्राष्ट्रिय साप्ताहिक’मा मेरा आलेख पाठकले खोजिराका होलान् । ‘कान्तिपुर गल्फ साप्ताहिक’मा मेरा आलेख, समाचार र फोटो छापिने दिन पर्खिराका होलान् वा नहुन पनि सक्छन् । तर मेरा आलेखले एकपटक छोएका पाठकले कहींकतै यसले लेखोस् भन्ने कामना गरिरहेका होलान् भन्ने म ठान्दछु । चर्चित हराएकै हो त ? हैन, ऊ त अझै सक्रिय भएको हो । केही समय पसलको ब्यवस्थापनमा अल्झियो चर्चित । केही समय कविता गोष्ठीको भूचक्रमा रुमल्लियो चर्चित । केही समय माइग्रेसन समस्या समाधानार्थ खुलेको एउटा नन् प्रोफिटेवल संगठनमा जेलियो चर्चित ।

केही समय ठूला मिडियामा काम खोज्दै खिइयो चर्चित । केही मिडियाले आशा पनि जगाए, तर आशा आश्वासनमा बद्लिएपछि निरासियो चर्चित । रुचि विपरितका कर्मका अफर आएर केही समय दोधारमा रह्यो चर्चित । एकजोर जुत्ता खिइसकेपछि बल्ल ठेगानमा आएको छ चर्चित ।

अव चर्चितले निर्णय गरेको छ– पसल चलाउने, फिल्म र एल्बममा गीत लेख्ने, एउटा पत्रिका र यही अनलाइनमा स्तम्भ लेख्ने, स्वास्नी पाल्ने र आफु पनि पालिने । बस् । यत्ति पढ्दा आफ्नैबारे लेखेछ भन्ने प्रिय पाठकको धारणा रह्यो होला । हो, सुरुवातमा आफैंबारे लेख्न मन लाग्यो । आफैंलाई नलेखी अरुबारे लेख्न सकिंदैन । यही विचारले बाध्यो । मित्रहरु, चर्चित हराएको हैन । हरायो भन्नेले नखोजेका मात्र हुन् । अव चर्चितले यहिंबाट तपाईसँग साइनो गास्ने छ ।

चर्चित charcheetdhungel@gmail.com

तपाईको भनाई ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय