कुमार अमरेन्द्र- गत माघ १६ गते सम्पन्न काकाको छोरोको विवाहोत्सवमा सहभागी हुन एक साताअघि सपरिवार गाउँ गएको थिएँ । माघ १५ गतेदेखि २० गतेसम्म गाउँमा बसें । गाउँ बसाइकै सिलसिलामा मलाई टड्कारो रूपमा महसुस भयो – मेरो गाउँ पनि वैदेशिक रोजगारको कमाइमा निर्भर हुँदै गएको छ ।
वैदेशिक रोजगारको कमाइबाट मेरा गाउँलेले पक्की घर बनाएका छन् । फुसको घरमा जस्ताको छाना हालेका छन् । यसो विराटनगरतिर अलिकति घडेरी पनि जोडेका छन् । साइकल फेरेका छन् । मोटरसाइकल चढेका छन् । छोराछोरीलाई बोर्डिङ स्कुल पढाएका छन् । राम्रो दानदहेज दिएर छोरीको बिहा गरेका छन् ।
जन्तीबाट फर्किएको भोलिपल्ट, माघ १८ गते गाउँमा टहलिन निस्केको थिएँ । दुई जना दलित युवासँग जम्काभेट भयो । एक जना रामस्वरूप खंग र अर्को गणेशी मण्डल ।
थर फरक लेखे पनि उनीहरू दुवै जना दलितभित्र उपल्लो मानिने खत्बे जातका हुन् । करिब दुई साताअघि मलेसियाबाट रोजगार गरेर फर्किएका रहेछन् । दुवै जना मेरै दौंतरी भए पनि गाउँले सम्बन्धअनुसार रामस्वरूप भाइ पर्छन् भने गणेशी भतिज । करिब चाररपाँच वर्षपछिको भेट थियो त्यो । बडो मिठो भलाकुसारी भयो ।
उनीहरू वैदेशिक रोजगारमा गएको मलाई पत्तै थिएन । त्यतिबेलै थाहा भयो– तीन वर्ष विदेश बसेर फर्किएका रहेछन् उनीहरू ।
गणेशीले परदेशिनुपर्ने कारण खोतल्न थाले, ‘के गर्नु काका, खेतीगृहस्थीले अब पुग्दैन । सिँचाइको व्यवस्था छैन । त्यसैले उब्जनीको ठेगानै हुँदैन । वर्षा भयो भने राम्रै हुन्छ । नत्र खडेरी ।’
गणेशीका बुबा लामो समय पक्षाघातका रोगी भए र केही वर्षअघि बिते । घरमा आमा, श्रीमती र तीन छोरा–छोरी छन् । तीन वटै छोराछोरी सरकारी स्कुलमा पढ्छन् । एक जना भाइ छन्, आफ्नो जहानपरिवारसित छुट्टिएर बसेका छन् ।
‘श्रीमती र आमाले यता घर र खेत सम्हाल्छन् । म उताबाट महिनाको २०/२५ हजार रुपियाँ बचाएर पठाउने गर्दछु । विदेश गएदेखि राम्रै भएको छ, काका । छोराछोरीलाई ट्युसन पनि पढाउन पुगेको छ ।’
हाम्रो गाउँ दलित र गैरदलितको संगमस्थल हो । यादव, हलुवाई, देव, सुतिहारजस्ता गैदलित समुदायको बसोबास छ भने गैरदलितको बसोबाससँगै जोडिएर खत्बे, चमार, मुसहर जातिका बस्ती छन् । अन्य दलित परिवारमध्ये गणेशी र रामस्वरूपको परिवार अलिकति जायजेथा भएको परिवार हो । उनीहरूको पुर्खासँग आफूलाई पुग्ने जग्गाजमिन थियो । तर परिवारमा सदस्यको बढ्दो संख्या, चुलिँदो आवश्यकता र महँगीका कारण अब पहिलेजस्तो रहेन । खेतीकिसानीबाट अब वर्षदिन खान पुग्दैन ।
मैले रामस्वरूपलाई सोधें, ‘तिम्रो त राम्रै थियो । तिमी त राजविराजमा काम गर्थ्यौ । किन गयौ विदेश ?’
‘हो दाजु, पहिले रामै्र थियो । तर छोराछोरी हुर्किंदै गए । उनीहरूलाई पढाउनु पनि पर्यो । अन्य घरधन्दाको खर्च बढ्दै गयो । ६, ७ हजारले नपुग्ने भयो, अनि विदेशिएँ’, रामस्वरूपले विस्तृत रूपमा बताए ।
रामस्वरूपका एक भाइ नेपाल प्रहरीमा हवलदार छन् । मैले तत्कालै सम्झिएँ, रामस्वरूप राजविराजको एउटा हार्डवेयर पसलमा काम गर्दथे । हरेक विहान ८ बजेतिर साइकल चढेर मेरै घरअगाडिको बाटो भएर काममा जाने गर्थे ।
त्यत्तिकैमा जयनारायण दाइ आइपुगे । उनी पनि विदेश जाँने तयारीमा रहेछन् । मलेसिया । एक वर्षअघिदेखि नै प्रयास गरेका थिए तर बल्ल भिसा लागेको छ । उनी रामस्वरूप र गणेशीसँग सरसल्लाह गर्न आएका थिए ।
मैले सोधें, ‘जैया दाइ, तपाईं कहिले जाँदै हुनुहुन्छ ?’
‘म आज काठमाडौं जाँदैछु । भोलि मेरो मेडिकल छ ।’ उनले भने ।
जयनारायण दाइले एसएलसी पास गरेर २०५४/५५ सालतिरै अहेब समेत अध्ययन गरेका छन् । दर्जनौं पटक लोकसेवा दिए, तर नाम निस्किएन । प्राइभेट अस्पतालमा तलब राम्रो नभएकोले कहिल्यै प्रयासै गरेनन् । तर आर्थिक अवस्था खस्किँदै गएपछि उनी राजविराजको एउटा प्लस टु कलेजमा कार्यालय सहयोगीको काम गर्छन् । आफ्नो खेतीगृहस्थीका साथै कलेजबाट ५, ६ हजार महिना उठाउँछन् ।
अब उनलाई विदेश नगई सुखै छैन । ४ छोरी र एक छोरा छन् । छोरा चाहिने नै भयो । तीन छोरीपछि मात्र छोरा जन्मिए । छोराको जोडा लगाउन खोजे तर फेरि छोरी जन्मिए । अनि परिवार नियोजन गराए ।
जेठी छोरी प्रियन्का १४ वर्षकी भइसकी । ५/६ वर्षपछि छोरीको बिहे गर्नुपर्ने हुन्छ । राम्रो घरवरका लागि राम्रै दानदहेज दिनुपर्छ । चुरो कुरो के हो भने छोरीहरूको विवाहका लागि दहेज रकमको व्यवस्था गर्न जैया दाइ विदेश जाँदैछन् ।
जयनारायण दाइले रामस्वरूप र र गणेशीलाई केही सोध्नै परेन ।
उनीहरूले मलेसियाको रहनसहन र हावापानीबारे बताउन थाले । त्यहाँको कानुनी व्यवस्था, विदेशी कामदारलाई पुलिस र त्यहाँका कर्मचारीले दिने दुःख र स्थानीय बदमास केटाहरूको गुण्डागर्दीबाट कसरी बच्ने भन्ने विषयमा समेत टिप्स दिए ।
गणेशीले जयनारायण दाइलाई अन्तिम गुरूमन्त्र दिए, ‘जैया काका, मलेसियामा रक्सी र केटीबाट बच्नुभयो भने राम्रै पैसा बच्छ । नत्र कमाएको सबै स्वाहा ।’
‘मलाई घरपरिवारको माया छ । छोरीहरूको विवाह गर्नु छ । त्यस्तो कुलतमा फसेर म जहानपरिवारको जिन्दगी बर्बाद गर्दिनँ,’ जैया दाइले बाचारकसम खाए ।
भोलिपल्ट बुबालाई ब्लडप्रेसर बढेको महसुस भयो । छिमेकी गाउँको स्वास्थ्यचौकीमा काम गर्ने जोगिन्दर दाइको घर गए । प्रेसर जाँच्ने मेसिन माग्न । जोगिन्दर दाइको दलान पुग्दा भाउजुले आँगनै आउन भनिन् । आँगन गएँ । देखें– उनका काकाको छोरा भर्खरै बनाएको पक्की घरको छतमाथि केही गर्दैथिए । छतमाथि उनका बुबा पनि थिए । शिष्टाचारवश वीरेन्द्रलाई हालखबर सोधें, ‘के छ खबर ? के गर्दैछौं ?’
उनले बडो गर्वका साथ वैदेशिक रोजगारमा कमाएको पैसाले गाउँमै मकान घर (पक्की घर) बनाएको सुनाए । उनले वैदेशिक रोजगारले दिएको आर्थिक प्रगतिबारे सुनाउँदै गर्दा उनी र उनको बुबाको अनुहारमा एकसाथ गौरव, प्रसन्नता र आत्मसम्मान छर्लङ्गै देख्न सकिन्थ्यो ।
म २५ वर्षअघिको आफ्नो बालापनको गाउँ र गाउँको आर्थिकरसामाजिक परिवेश सम्झिन पुगेछु । मेरो गाउँ पुरै कृषि अर्थतन्त्रमा आधारित थियो । उहिले गरिब होस् वा धनी, दलित होस् वा गैरदलित । गाउँका कोही पनि अर्थोपार्जनका लागि बाहिर जाँदैनथे । जानुपर्दैनथ्यो । कृषिबाहेक दूध उत्पादन गर्नु, राजविराजमा मजदुरी गर्नु र चुरेजंगलबाट दाउरा ल्याएर राजविराजमा बेच्नु नै वैकल्पिक रोजगारका माध्यम थिए ।
हजुरबुबाबाट धेरै पहिले सुनेको थिएँ– पहिले–पहिले गाउँका कोही–कोही कमाउन भनेर मोरङ र आसाम जान्थे । मोरङ जानेलाई मोरङिया र आसाम जानेलाई हसनिया भन्ने गरिन्थ्यो । यो राणाशासनको अन्त्यतिरको कुरा हो । तर पञ्चायती व्यवस्थाको अन्त्यतिर विस्तारै रोजीरोटीका लागि बाहिर जाने सिलसिला सुरु भयो । सुरुमा गाउँका गरिबगुरुवाहरू दिल्ली र पञ्जाव जान थाले । पछि गार्मेन्ट र भवन निर्माणमा मजदुरी गर्न काठमाडौं आउन थाले । अहिले दिल्ली, पञ्जाब र काठमाडौंमा मजदुरी गर्ने मान्छे गाउँमा बिरलै पाइन्छ । सबै मलेसिया, कतार, दुबई र साउदीतिर ।
प्रेसर नाप्ने मेसिन लिएर घर आएँ । विवाहमा जेठी फुपूका दुवै छोरा आएका थिए । जेठो छोरा लहानको एक निजी अस्पतालमा काम गर्छन् । अहेब पढेका छन् । उनैले बुबाको प्रेसर नापे । उनको सरकारी जागिर छैन । त्यसैले सन्तुष्ट छैनन् । भन्छन्, साउदी वा मलेसिया जान्छु । फुपूको कान्छो दुहबी–विराटनगर करिडोरको एक फेक्ट्रीमा काम गर्छन् । १०/११ हजार तलब थाप्छन् । तर पनि पुगेको छैन । उनी पनि कमाउन विदेश जान्छु भन्दैथिए ।
गाउँमा यसपालि कस्तो तीतो यथार्थसँग साक्षात्कार भयो भने मेरो गाउँ र नातागोताका जति युवा वैदेशिक रोजगारमा छन्, त्योभन्दा कैयौं गुणा बढी तन्नेरी विदेश जाने तयारी गर्दैछन् । गाउँमा वैदेशिक रोजगारको बढ्दो प्रभावले नै हुनुपर्दछ– भाइको विवाहको जन्तीमा २५ देखि ४० उमेर समूहका युवाहरू अत्यन्तै थोरै देखिए ।
मेरो आफ्नै भाइ पनि जैया भैया (जयनारायण दाइ) सँग विदेश जान्छु भन्दैथियो । बडो मुस्किलले उसलाई ‘कन्भिन्स’ गरेको छु । उसलाई कन्भिन्स गर्न दुई वर्ष लाग्यो ।
बल्ल पाँच वटासम्म भैंसी पाल्नसक्ने फर्म दर्ता गरेको छ । यही फागुनदेखि भैंसी फर्म सञ्चालन गर्ने तयारीमा लागेको छ ऊ । घरै बसेर दूध उत्पादनबाट महिनाको २०/२५ हजार कमाउँछु भन्ने विश्वास उसको मनमा जाग्नु मेरो लागि सबैभन्दा ठूलो खुसी र सन्तोषको कुरा हो ।
इ समताबाट साभार