जव सपना धुजाधुजा भयो मलेसियामा

मेरो घर काभ्रेपलाञ्चोक ८ बालुवामा पर्छ । म काठमाडौंको बसुन्धरामा भाडामा बस्छु । परिवारमा २ छोरी, एक छोरा, श्रीमति र म गरी ५ जना छौं ।

चप्पलकारखाना भन्ने ठाउँमा एउटा कारखानामा काम गर्थे । कमाइ खासै थिएन । महिनामा ७ हजार कमाउँथें । त्यो कमाईले काठमाडौंको ठाउँमा ५ जनाको परिवारको हातमुख जोर्नै धौ धौ पर्यो । त्यसैले केहि कमाइ हुने उपायको खोजिमा लागें ।

म बसेकै ठाउँमा एकजना मान्छे थियो । उ कुनै मेनपावर कम्पनीका लागि काम गर्छ भन्ने सुनेको थिएँ । त्यसैले उसलाई भेटेर उपाय सोधें । उसले आफूले एकसे एक राम्रा मेनपावर चिनेको र त्यसमध्ये गतिलो ठाउँबाट विदेश पठाइदिन्छु भन्यो । कुनै अप्ठ्यारो नपर्ने र अप्ठ्यारो परेर नेपाल फर्किनु परेमा लागेको खर्च सवै फिर्ता गरिदिन्छु भनेपछि म ढुक्क भएँ ।

त्यसपछि उसले मलाई क्लासिक मेनपावर कम्पनीमा लिएर गयो । त्यहाँबाट मलेसिया पठाइदिने भन्नुभयो । मासिक १४ सय ६ रिंगिट तलव हुने, ओभरटाइम जत्ति पनि गर्नसकेजति पाइने र त्यसवापतको पैसा थप कमाइ हुने भनेपछि मलाई अव दिन फिर्ने भए भन्ने लाग्यो ।

पैसा साथमा थिएन । त्यसैले घरबेटीसँग ऋण माग्ने विचार गरें ।

उनले सयकडा दुई हिसावले ऋण दिने भए । पैसाको इन्तजाम पनि भयो । मलाई १ लाख २० हजार मागियो । त्यसैले १ लाख ५० हजार ऋण लिएँ । १ लाख २० हजार बुझाएँ बाँकी यताउता खर्चमै सकियो । 

त्यसपछि म केहि कमाउने र नेपाल फर्केर सानोतिनो आफ्नै व्यापार गरिखाने मेलो मिलाउने सुर कसेर मलेसियाका लागि उडें । तर मलेसियामा पुगेपछि मेरो सपना सवै धुजाधुजा भयो ।

म काम गर्न गएको कम्पनी सोफा बनाउने कम्पनी रहेछ । त्यहाँ कति मान्छेका हात काटेको, कतिको खुट्टा काटेको रहेछ । तर त्यसो हुँदा पनि कम्पनीले कुनै उपचार गर्दो रहेनछ । त्यहाँ त टाउको दुखेको औषधी समेत आफैंले किनेर खानुपर्ने रहेछ ।

अनी विरामी परेर काम गर्न जान नसकेको दिनको पैसा पनि काटिंदो रहेछ । जवकी यहाँबाट पठाउँदा सवै इन्स्योरेन्स हुन्छ, आफुले कुनै खर्च गर्नुपर्दैन भनिएको थियो । त्यहाँ गएपछि पहिलो यहि कुराले झस्कायो ।

अर्को कुरा तलव पनि यहाँ भनेजस्तो होइन रहेछ । ओभरटाइमको त कुरै थिएन । एक दाम कमाउने अवस्था भएन । खान, बस्न सवै कम्पनीले नै दिन्छ भनेर पठाइएको मान्छे, त्यहाँ त खाने, बस्ने मात्र होइन विजुली पानी सवैको पैसा तिराउँदो रहेछ ।

तलव रहेछ ९ सय रिंगिट । त्यसमा यी सवैको काट्दा ३ सय रिंगिट घटाएर ६ सय रिंगिट हात पर्ने भयो त्यो पनि समयमा नदिने । त्यसैले बेला बेलामा गरेर दिने त्यो पैसा जोडजोड गर्दा पनि घरमा पैसा पठाउन सक्ने स्थीति भएन ।

अव केले ऋण तिर्ने, के ले घरका मान्छेको मुखमा माड लगाउने भन्ने आपत पर्न थाल्यो । रातभर निद्रा पर्न छोड्यो । लालाबालको चिन्ताले हरदम सताउन थाल्यो ।

मेनपावरमा फोन गरेर मलाई भनेको तलव दिएन, धेरै पैसा काट्यो नेपाल फर्काइदेउ भनेर भन्दा एक महिना बस्न, त्यहि बीचमा आफूले कुरा मिलाउने र नेपालमा भने जत्तिकै तलव पाउने बताए । त्यसो हुन नसकेमा फेरी फोन गर्नु र नेपाल झिकाउने व्यवस्था गरौंला भन्नुभयो त्यहाँको सरले । हस भनेर पर्खेर बसें ।

अर्को महिना आयो तर कथा उहि थियो । बत्ती, पानी, खाने बस्ने सवैको पैसा काटिएकै थियो, हात पर्यो उहि ६ सय रिंगिट । त्यहि दुःख सुनाउन मेनपावरमा फोन गरेको अव फोन उठ्नै छोड्यो । कतिपटक फोन गरें तर अहँ फोन उठेन । विलखवन्दमा परियो ।

अर्काको देश भाषा बुझिंदैन, काम दाम कमाउने छैन । नेपाल फर्काइदे भन्दा कम्पनीका मान्छेले सुन्दै सुन्दैनन् । ४ हजार रिंगिट दिएमा मात्र पासपोर्ट फिर्ता दिने भनेपछि नौनारी फतक्क गलेर आयो । अव फसियो भन्ने लाग्यो । त्यतिबेला आफ्नोे भन्दा पनि खाली परिवारकै चिन्ताले पिरोलिरहने ।

अव भएन भनेर बाहिर पनि केहि समय काम गर्न थालें । यस्तै गर्दागर्दै ८ महिना बिते । थोरै कमाइ भएपछि कम्पनीको एकजनालाई ९ सय रिंगिट दिएँ पासपोर्ट निकालिदेउ र टिकट काटिदेउ भनेर । टिकटलाई त्यस्तै ६ सय रिंगिट पर्दो रहेछ । धन्न त्यो मान्छेले पासपोर्ट र टिकट हातमा हालिदिएपछि अव घर पुग्ने भएँ भन्ने सास आयो ।

म नेपाल फर्केपछि मेनपावर कम्पनीमा धाइरहेको छु । ६ पटक गइसकें । कतार जाने भए आधा पैसा हाल्नु, आधा कम्पनीले हालेर पठाइदिने भन्छ । नजाने भए थोरै पैसा फिर्ता दिउँला भनेको छ । तर म अव विदेश जाने सुरमा छैन ।

केहि कमाएर भनेर गएको मान्छे समयको नाश, पैसाको नाश अनी मानसिक तनाव बोकेर बल्लतल्ल नेपाल फर्केको छु । भो अव मलाई विदेशको पैसा चाहिएन । हेरौं मेनपावरले कति पैसा दिन्छ । त्यसपछि यतै सानोतिनो केहि काम गरेर बस्ने विचार गरेको छु ।

मलेसियामा मैले देखें धेरै नेपाल साह्रै दुःख पाएर काम गरिरहेका छन् । उनीहरु रोएर काम गर्दैछन् भन्दा पनि हुन्छ । थोरैले चाहिं ओभरटाइम सहितको काम पाएका छन्, कमाई पनि राम्रो छ उनीहरुको । तर त्यस्ता चाहिं हजारमा १० ८ जना होलान् । अरु त म जस्तै हुन् तावाको माछा उफेर भुङ्ग्रोमा भनेजस्तै ।

त्यसैले नबुझि विदेश जानु हुन्न रैछ । मान्छेले त जे भनेर पनि फसाउँदा रैछन् । म त धेरै दुःख पाएर फर्के अरु चाहिं त्यसरी नजाउन् भन्ने लाग्छ । खै गरिवलाई बेलामा बुद्धि दिने मान्छे पनि को पो हुँदो रै छ र ?

(गोपाल गौतम, गौतमसँग काठमाडौंमा गरिएको कुराकानीमा आधारित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय