
अमृतसर- अबुधावीको एक जेलमा रहेका पञ्जावका युवाहरुलाई त्यहाँको जेल प्रशासनले मुस्लिम धर्म अपनाउन बाध्य पारिरहेको समाचार सार्वजनिक भएको छ । यति मात्र नभई उनीहरुलाई जेलका अधिकारहरुले गाइको मासु खान दवाव दिने गरेको समेत भारतीय सञ्चारमाध्यम आजतकले समाचार लेखेको छ ।
ति युवालाई मुस्लिम धर्म अपनाए माफी दिइने समेत प्रलोभन दिइएको जनाइएको छ ।
अबुधावीको जेलमा रहेका एक युवाका आफन्तले राष्टिय अनुसुचित जाति आयोगका उपाध्यक्ष राजकुमार बेरकालाई भेटेर यसको जानकारी गराएका हुन् ।
बेरकाले उनीहरुलाई यस विषयलाई गम्भीरतापूर्वक लिइएको भन्दै यसका बारेमा युएईसँग बुझ्ने आवश्वासन दिए । उनले एक हप्ताभित्रै युएईमा रहेका भारतीय दुतावासबाट रिपोर्ट माग्ने समेत बताए ।
अबुधावीको कारागारमा रहेका सुखवन्त सिंह बोनी नामका ति युवा सन् २००९ मा दुवई गएका थिए । उनलाई सन् २०११ मा हत्याको अभियोगमा कारागार चलान गरिएको थियो । त्यसयता सुखवन्तलाई लगातार मुस्लिम धर्म अपनाउन दवाव दिइएको तथा गाईको मासु खान दवाव दिइएको उनले आफन्तलाई बताएका छन् ।
उनले मुस्लिम धर्म अपनाए सजायमा समेत कटौती हुने आश्वासन दिने गरिएको उनको भनाई छ । हालै अबुधावीको कारागारबाट सजाय काटेर फर्केका पञ्जावकै अर्का एक युवकको भनाईले पनि सुखवन्तको भनाईलाई पुष्टि गर्ने समाचारमा उल्लेख छ । सदानन्द नामका ति व्यक्तिले आफूलाई पनि धर्म परिवर्तनका लागि धेरै दवाव दिइएको बताएका छन् ।