काठमाडौं । नेपाली महावाणिज्यदूतावास, दुबईले संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारीका लागि आउन चाहने नेपाली नागरिकलाई भिजिट तथा व्यक्तिगत भिसाको नाममा हुने ठगीबाट सचेत रहन आग्रह गरेको छ।
महावाणिज्यदूतावासले युएईमा रोजगारीको प्रलोभन देखाएर नेपालमै ठूलो रकम असुल्ने र भिजिट भिसामा युएई ल्याएर अलपत्र पार्ने घटना बढ्दै गएको जनाएको छ। कतिपय अवस्थामा भिजिट भिसामा युएई आएपछि रोजगारदातासँग सम्पर्क हुन नसक्ने वा प्रतिबद्धताअनुसारको रोजगारी नपाउने अवस्था देखिएको दूतावासले जनाएको छ।
त्यसैगरी, केही व्यक्तिले नेपालबाट ठूलो रकम लिएर भिजिट भिसा निकालिदिने र युएई पुगेपछि रोजगारी खोजिदिने भन्दै नेपाली नागरिकलाई प्रलोभनमा पार्ने गरेको पनि दूतावासले जनाएको छ। यस्तो अवस्थामा युएई पुगेपछि रोजगारी नपाउनुका साथै आर्थिक तथा कानुनी समस्या समेत आउन सक्ने भएकाले सचेत रहन दूतावासले आग्रह गरेको छ।
रोजगारीका लागि युएई आउन चाहने नेपाली नागरिकले संस्थागत तथा कानुनी प्रक्रियामार्फत रोजगार भिसा लिएर मात्र आउन दूतावासले पुनः आग्रह गरेको छ। यात्रा गर्नुअघि रोजगारदाता कम्पनी, रोजगारीको प्रस्ताव तथा रोजगारीका सर्तहरू विश्वसनीय स्रोतबाट जाँच गर्न पनि दूतावासले सुझाव दिएको छ।
दूतावासले स्थापित तथा भरपर्दा म्यानपावर कम्पनीमार्फत मात्र रोजगारीको प्रक्रिया अगाडी बढाउन र सम्बन्धित कम्पनी तथा रोजगारीको विश्वसनीयता यकिन गर्न आग्रह गरेको छ। युएईमा रहेका नेपाली नागरिकलाई समेत आफ्ना परिवार तथा आफन्तलाई यस्ता ठगीबाट जोगाउन सहयोग गर्न अनुरोध गरिएको छ।
महावाणिज्यदूतावासले युएईमा रोजगारीका लागि आउन कानुनी र संस्थागत प्रक्रियाको विकल्प नरहेको स्पष्ट पार्दै भिजिट भिसामार्फत रोजगारीको प्रलोभनमा नपर्न सबै नेपाली नागरिकलाई आग्रह गरेको छ।
