काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको अभियान जारी रहेको छ। अभियानअन्तर्गत रसुवाको उत्तरगया गाउँपालिका–३ डाँडागाउँका बाढी प्रभावित नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। नेपाल रेडक्रस सोसाइटी रसुवासँगको समन्वय तथा स्थानीय स्वास्थ्य चौकीको सहजीकरणमा आयोजित शिविरमा ३ सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन्।
एनआरएनए ग्लोबल स्वास्थ्य विभागकी सहसंयोजक प्रसुना कँडेलको नेतृत्वमा खटिएको चिकित्सक टोलीले स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण तथा स्वास्थ्य परामर्श प्रदान गरेको थियो। टोलीमा डा. कावेरी कार्की, डा. शोभित गुरुङ र हरि कोजु सहभागी थिए। शिविरमा विशेषगरी रुघाखोकी, श्वासप्रश्वाससम्बन्धी समस्या, एलर्जी तथा विभिन्न दीर्घरोगका बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो।
आवश्यकताअनुसार प्रभावितलाई मनोसामाजिक परामर्शसमेत दिइएको एनआरएनएले जनाएको छ। विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सेवामा थप सहयोग पुर्याउने उद्देश्यले एनआरएनएले स्थानीय स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री, औषधि तथा ह्वीलचियरसमेत हस्तान्तरण गरेको छ।
राहत कोषमा ४ करोड ३८ लाखभन्दा बढी
एनआरएनएका अनुसार भोटेकोशी बाढी प्रभावितका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग रकम प्राप्त हुने क्रम जारी छ। हालसम्म पदाधिकारी, विभिन्न राष्ट्रिय समन्वय परिषद् ९एनसीसी०, विदेशस्थित संघसंस्था तथा नेपाली व्यक्तिहरूबाट ४ करोड ३८ लाख ६९ हजार २ सय ७१ रुपैयाँ ३३ पैसा राहत कोषमा जम्मा भएको छ।
संघका कोषाध्यक्ष तथा सम्बन्धित प्रतिनिधिहरूमार्फत निरन्तर समन्वय र पत्राचार भइरहेकाले प्रतिबद्धता गरिएको बाँकी रकमसमेत क्रमशः प्राप्त हुने क्रममा रहेको एनआरएनएले जनाएको छ।
हालसम्म विभिन्न एनसीसी तथा संस्थाले केन्द्रीय राहत कोषमा जम्मा गरेको रकममध्ये बेलायतबाट पहिलो चरणमा ५३ लाख ४३ हजार २ सय ४४ रुपैयाँ २५ पैसा, बहराइनबाट २५ लाख ७९ हजार ३ सय २८ रुपैयाँ, नर्वेबाट १७ लाख ८९ हजार ८ सय ४२ रुपैयाँ ९६ पैसा र ओमानबाट १३ लाख १५ हजार रुपैयाँ प्राप्त भएको छ।
त्यस्तै, स्टिचटिंग नेपाल फण्डस् नेदरल्याण्डबाट १० लाख ५५ हजार १ सय ९३ रुपैयाँ ६० पैसा, लक्जेम्बर्गबाट १० लाख ४६ हजार ५ सय ४८ रुपैयाँ ८६ पैसा, साउदी अरेबियाबाट १० लाख, टर्कीबाट ७ लाख ५० हजार ३ सय ३७ रुपैयाँ, म्यानमारबाट ६ लाख १ हजार, इजरायलबाट ५ लाख ४ हजार ३ सय ८५ रुपैयाँ र नेदरल्याण्ड्सबाट ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको एनआरएनएले जनाएको छ।
एनआरएनएले बाढी प्रभावित क्षेत्रमा तत्कालीन राहतसँगै स्वास्थ्य सेवा र आगामी पुनर्स्थापनाका लागि विभिन्न साझेदार तथा संस्थासँग सहकार्यलाई निरन्तरता दिने जनाएको छ।
सहकार्यबारे छलफल
यसैबीच, एनआरएनए र भारतको शिखएडबीच भोटेकोशी बाढी प्रभावित समुदायका लागि राहत तथा मानवीय सहायता उपलब्ध गराउने विषयमा छलफल भएको छ। एनआरएनए सचिवालय, बालुवाटारमा भएको छलफलमा प्रभावित क्षेत्रमा देखिएका तत्कालीन आवश्यकता, राहत सामग्रीको ढुवानी तथा वितरणमा देखिएका चुनौती र आगामी दिनमा राहत तथा पुनर्स्थापनाका लागि गर्न सकिने सहकार्यबारे छलफल भएको थियो।
हालै प्रभावित क्षेत्रको स्थलगत निरीक्षणबाट फर्किएका एनआरएनएका महिला उपाध्यक्ष राधिका गुरुङ (टिका), प्रवक्ता सोम सापकोटालगायतले स्थलगत अवस्थाबारे आफ्नो अनुभव र सुझाव प्रस्तुत गरेका थिए। छलफलमा भारतबाट नेपाल आएका शिख एडका संस्थापक रौनक सिंहसहित नबजोत सिंह, परमजित सिंह तथा नेपालबाट राहत अभियानमा संलग्न स्वयंसेवकहरूको सहभागिता थियो।
शिख एडले सन् २०२० देखि विपद् राहत, स्वास्थ्य सहायता, खाद्य सहयोग, शिक्षा, महिला सशक्तीकरण, जीविकोपार्जन तथा समुदाय विकासका क्षेत्रमा काम गर्दै आएको जनाएको छ। संस्थाले हाल नेपाल फ्लड रिलिफ २०२६ अभियान सञ्चालन गरिरहेको छ।
