रोजगार मन्त्री र बैदेशिक रोजगार व्यवसायी बिच बाझाबाझ

काठमाडौं, नेपालमा बायोमेट्रिक लागू भए, नभएको विषयमा सरकारले प्रस्ट पार्नुपर्ने भन्दै म्यानपावर र स्वास्थ्य व्यवसायी श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको कार्यकक्षमा पुगेपछि राज्यमन्त्री र व्यवसायीबीच आइतबार चर्काचर्की भयो।

व्यवसायीले कुनै पनि हालतमा बायोमेट्रिक लागू हुन नहुने अडान राखेपछि राज्यमन्त्री गुरुङले व्यवसायीले पनि कामदार ठग्दै आएकोले पहिला आफू सुध्रिनुपर्ने भन्दै थर्काए।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्ले, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष प्रज्ञान न्यौपाने, नेपाल प्रगतिशील वैदेशिक रोजगार मञ्चका कार्यवाहक अध्यक्ष हरि पाण्डे, निवर्तमान अध्यक्ष टंक राउत, व्यवसायीहरु किरणकिशोर घिमिरे, विमल ढकाल, कुमुद खनाल लगायत दुई दर्जन व्यवसायी मन्त्रालय पुगेका थिए।

व्यवसायीले सरकारले स्वीकृति नदिँदै बायोमेट्रिक प्रणाली लागू भएकोले तत्काल उपकरण जफत गरेर कानुनी कारबाही गर्न सुझाएका थिए। राज्यमन्त्री गुरुङले मलेसियाले पठाएको पत्रको जवाफ हेरेपछि मात्र नयाँ निर्णय हुने भन्दै म्यानपावर व्यवसायीले पनि कामदारलाई ठग्न बन्द गर्नुपर्ने बताएपछि व्यवसायी र उनीबीच चर्काचर्की भएको हो।

मञ्चका अध्यक्ष हरि पाण्डेले मन्त्रालयले आँखा चिम्लिँदा भिएलएन नेपालमा लागू भएको र बायोमेट्रिक पनि आउन लागेको बताए। यसमा मन्त्रालय र कर्मचारीको पनि मिलेमतो छ, उनले राज्यमन्त्रीकै अगाडि आरोप लगाए। पाण्डेले त्यसो भनेपछि राज्यमन्त्री गुरुङले उनलाई तत्काल कार्यकक्षबाट बाहिर पठाएका थिए।

गुरुङसँग आवेशमा बोलिरहेका अर्का व्यवसायी किरणकिशोर घिमिरेलाई पनि बाहिर जान भन्दै रिसाएका थिए। राज्यमन्त्री गुरुङले विमल ढकाललाई तिमीले चलाउ भन्दै कुर्सी देखाएका थिए।

कामदारलाई आर्थिक भार थप्ने काम भएको र ३८ वटा मेडिकल सेन्टरले आपसी मिलेमतोमा काम गर्ने भएको भन्दै नेपाल वैदेशिक रोजगार मेडिकल एसोसिएसन, वैदेशिक रोजगार व्यवसायी संघ र स्वास्थ्य व्यवसायी महासंघकै केही सदस्यले विरोध गर्दै आएका थिए। पछिल्लो समय वैदेशिक रोजगार व्यवसायी संघले विरोध गर्न छोडेको छ र महासंघका सदस्य चुनाव जितेर कार्यसमितिमा पुगेपछि मौन छन्।

नागरिकबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: