
काठमाड- त्रिभुवन विमानस्थलको अध्यागमन (इमिग्रेसन)मा कागजपत्र देखाएर शनिबार दिउँसो १ बजे पाँच महिला एयर अरेबियाको उडानबाट दुबई हुँदै लेबनान जान लागेका थिए । घरेलु कामदारका रूपमा जान लागेका उनीहरूको हातमा एउटै खालको कालो डायरी थियो । डायरीभित्र पासपोर्ट र टिकट थियो । बोर्डिङ पास गरेर इमिग्रेसन जाँचपछिको अन्तिम सुरक्षा ढोकामा पुग्दा सुरक्षाकर्मीले जाँच गरे ।
उनीहरूको डायरी अस्वाभाविक मोटो थियो । भित्र राखिएको पासपोर्ट, बोर्डिङ पास र टिकट निकालेर एक महिला सुरक्षाकर्मीले जाँच गरिन् । अझै डायरीको मोटाइ उस्तै थियो । डायरीको एउटा चेप त ब्लेडले काटिएको थियो । काटिएको स्थानमा ती महिला प्रहरीले हात हालेर हेर्दा त भित्र अर्कै कागज पट्याएर राखिएको भेटियो ।
बाहिर निकाल्दा थाहा भयो । ती पाँच महिला लेबनान होइन, इराक जाँदै थिए । डायरीको भित्रपट्ट दुवईबाट इराकको कुर्दिस्तान जाने ई टिकट र भिसा थियो । अरबी भाषामा लेखिएको कागजमा ती महिलाहरूको नाम मात्र प्रस्ट थियो ।
खासमा उनीहरू गौशालामा रहेको मेनपावर कम्पनीलाई ५० हजार रुपैयाँ तिरेर इराक जाँदै थिए । इमिग्रेसन र प्रहरीलाई झुक्याउनमात्र उनीहरूलाई मेनपावर कम्पनीले लेबनान जाने कागजपत्र बनाएको प्रहरीले फेला पार्यो ।
सरकारले इराकमा कामदार जान प्रतिबन्ध लगाएका कारण उनीहरू लेबनान जाने प्रक्रिया पूरा गरेर दुबईबाट इराक उड्न लागेका हुन् । सिन्धुपाल्चोककी २६ बर्षिया गंगा नगरकोटी, ४० बर्षकी निमा लामा, २२ बर्षकी आइती तामाङ, २८ बर्षकी मनमाया तामाङ र चितवन जुटापानीकी कुमारी लामा हुन् । आइती र मनमाया दिदीबहिनी हुन् ।
यिनीहरूलाई गौशालामा रहेको अर्थ भिजन मेनपावरले पठाएको हो । लेबनानमा हाउसमेडका लागि श्रम स्वीकृतिको स्टिकरलगायत सबै कानुनी प्रक्रिया पूरा गरिएको छ । विमानस्थल सुरक्षा गार्डका नायब उपरीक्षक विनोद घिमिरेका अनुसार यही मेनपावर कम्पनीले श्रम स्वीकृतिका लागि २ सय ५० महिलाको निवेदन दिएको छ ।
लेबनान नै जाने भनेर दिइएको पाइएको छ घिमिरेले भने, यस्तो चालले त यी सबैलाई इराक नै पठाउन लागिएको हो । यी महिलाबाट मेनपावर कम्पनीले टिकट मात्र किन्ने पैसा लिएको छ । प्रतिबन्धित मुलुक इराकमा एक महिला पठाएबापत मेनपावर कम्पनीले कम्तीमा डेढ लाख रुपैयाँ पाउँछ ।
हामीलाई पठाउनेले जे गर भनेको थियो, त्यही गरेको हो, गंगा नगरकोटीले भनिन्, दुबई पुगेपछि मात्र अर्को कागजपत्र झिक्न भनेको थियो । मेनपावरले मासिक ३० हजार नेपाली रुपैयाँ कमाइ हुने आस देखाएर उनीहरूलाई त्यहाँ पठाएको हो । इराक पुगेपछि विमानस्थलमा उनीहरूलाई लिन कम्पनीको व्यक्ति आउने बताइएको थियो ।
विमानस्थल प्रहरीले इराक उड्नबाट रोकिएका ती पाँच महिलालाई शनिबार गौशाला वृत्तमा राखी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पेस गरिने र झुक्याएर प्रतिबन्धित मुलुकमा कामदार पठाउन खोज्ने मेनपावरलाई कारबाहीका लागि प्रक्रिया अघि बढाइने जानकारी दिएको छ ।
तर, यस्ता प्रकरणमा मेनपावरलाई कारबाही गर्ने प्रहरीलाई महिलाकै असहयोग हुने गरेको छ । विमानस्थलका सुरक्षा प्रमुख डीआईजी विजयलाल कायस्थले भित्र(बाहिर लुकाएर दुइटा टिकट राखेर पठाउनु सरासर मानव तस्करी भएको बताए ।
कान्तिपुरबाट