
दुवई, युएईमा पर्यटक भिसा शुल्कमा बृद्धि भएको छ । पर्यटन सम्वन्धि काम गर्ने संस्था तथा कम्पनीहरुका अनुसार एक महिनासम्मका लागि एकपटक प्रवेश गर्न पाउने भिसाको शुल्कलाई २ सय १० दिरामबाट बढाएर २ सय ५० दिराम पुर्याइएको छ ।
यो गत जनवरी १ देखि नै लागु भइसकेको ट्राभल एजेन्सीहरुले जनाएका छन् ।
तर यस बारेमा त्यहाँको विदेश मामिला विभागले कुनै प्रतिकृया दिएको छैन । तर ट्राभल एजेन्सीहरुले भनें यहि अनुसार बढेको भिसा शुल्क लिन थालिसकिएको बताएका छन् ।
यसअघि पर्यटक भिसाका लागि ३ सय देखि ४ सय ५० दिराम(झण्डै नेरु ८ हजार देखि १२ हजार) सम्म लिंदै आएका त्यस्ता कम्पनीहरुले त्यसमा ४० दिराम बढिसकेको जनाएका छन् ।
गल्फ टाइम्सका अनुसार यसलाई दुवईमा रहेका कम्पनीहरुले न्यून बृद्धि भनेका छन् । दुवईमा लामा टुर्स सञ्चालन गरिरहेका कुलवन्त सिंह लामाले भने ‘अन्य कतिपय पश्चिमा मुलुकले १५ हजारभन्दा धेरै भिसा शुल्क लिइरहेको तुलनामा यो न्यून बृद्धि हो ।’
सो कम्पनीले बर्षमा १ लाख ५० हजार भन्दा धेरै भिसाका लागि आवेदन संकलन गर्दै आएको छ ।
यसैगरी पर्यटक भिसाको म्याद नथपिने व्यवस्था समेत गरिएको छ । यसले दुवईमा पर्यटक भिसामा आएर काम गरेर बस्ने प्रवृत्ति निरुत्साहित हुने दावी गरिएको छ । अव पर्यटक भिसाको म्याद ३० दिनको मात्र हुने र त्यसको समय थप्न नसकिने व्यवस्था गरिएको छ ।
यसका साथैै पर्यटक भिसामा कडाई समेत गर्न थालिएको समेत समाचारमा जनाइएको छ । यसले वास्तविक पर्यटक मात्र दुवईमा आउने विश्वास गरिएको छ । धेरै व्यक्ति रोजगारीको खोजीमा पर्यटक भिसामा युएई आउने र लामो समयसम्म उपयुक्त रोजगारी खोजेर बस्ने गरेको भन्दै नयाँ व्यवस्थाले त्यस्तो प्रबृत्तिलाई निरुत्साहित गर्ने समाचारमा उल्लेख छ । हालसम्मको तथ्याँक अनुसार युएई आएका २० देखि ३० प्रतिशत पर्यटकले आफ्नो युएई बसाई लम्व्याउने गरेका छन् ।