कतारमा नेपालीलाई मृत्युदण्डकै फैसला

दोहा (कतार) कतारको पुनरावेदन अदालतले स्याङ्जाका कुशल कार्कीलाई मृत्युदण्डको सजाय दिने तल्लो अदालतको फैसलालाई सदर गरेको छ । मार्च ३१ तारिखमा क्रिमिनल कोर्टले मृत्युदण्डको फैसला गरेपछि कार्की पुनरावेदन गएका थिए । पुनरावेदनले पनि मलाई मुत्युदण्ड दिने फैसला सुनायो, कार्कीले भने । २०१२ अक्टोबर २० मा महोत्तरीका मोहम्मद इर्शाद अन्सारीको हत्या गरेको अभियोगमा कार्कीलाई अदालतले दोषी ठहर गरेको हो ।

नेपाली दूतावासले यसअघि नै अदालतले मृत्युदण्डको सजाय सुनाएकोबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेको थियो । कार्यवाहक राजदूत गणेशप्रसाद ढकालले पीडक र पीडित दुवै नेपाली भएकाले परिवारहरूबीच सहमति गराउन आवश्यक रहेको बताए । पीडक र पीडित दुवै नेपाली हुन् । दुई परिवारबीच मेलमिलाप भएमा सजाय कार्यान्वयन हुँदैन, उनले भने, सम्बन्धित पक्षबीच मेलमिलापको प्रक्रिया अगाडि बढाउन हामीले माथिल्लो तहमा भनिसकेका छौं ।

अन्सारीका परिवारले भने माफी दिन चाहेका छैनन् । कुशलले आफ्नो परिवारमार्फत पीडित परिवारलाई मनाउन आग्रह गरेको बताए । मबाट गल्ती भयो । यसमा मेरो पश्चाताप छ, उनले भने, पीडित परिवारको तर्फबाट मलाई माफी दिन अपिल गर्छु ।

सामान्यतया कतारको कानुनअनुसार पीडित परिवारले पीडक पक्षबाट दिइएको ब्लडमनि स्वीकार गरेको खण्डमा माफी दिन सकिन्छ । यहाँ ब्लडमनिबापत दुई लाख रियाल (५२ लाख रुपैयाँ) दिइने नियम छ । कतार आएको तीन महिनामै उनी हत्या अभियोगमा पक्राउ परेका थिए । तलब र काम नदिएको रिसमा आबेगमा आई कार्कीले कम्पनीका सुपरभाइजर अन्सारीमाथि चक्कु प्रहार गरी हत्या गरेका थिए । कतारमा नेपालीले नेपालीकै हत्या गरेको अभियोगमा अरू आधा दर्जन मुद्दामाथि छानबिन भइरहेको छ । ती हत्याको अभियोग लागेका नेपालीहरू यहाँको केन्द्रीय कारागारमा थुनामा छन् ।

ओलीलाई दुई वर्ष मिनाहा बालिकालाई छोएको अभियोगमा तीन वर्ष सजाय पाएका रोल्पाका झक्कुप्रसाद ओलीलाई यहाँको पुनरावेदन अदालतले दुई वर्ष कैद मिनाहा गरिदिएको छ । कतारको साउदीय हाइपरमार्केटमा सेल्सम्यानको काम गर्दै आएका पाखापनी ९ रोल्पाका ३० बर्षिय ओलीलाई बालिकालाई छोएको अभियोगमाथि जुन २१ तारिखमा तल्लो अदातलले तीन वर्षको सजाय सुनाएको थियो । उनलाई गत मार्च १६ तारिखमा मार्केटबाटै पक्राउ गरिएको थियो । पुनरावेदन अदालतको फैसला भएलगत्तै ओलीले भने, अब मार्चसम्म जेलमा बसेपछि र्फकन पाउनेछु ।

तल्लो अदालतको आदेशविरुद्ध पुरावेदनमा अपिल गर्न ओलीलाई नेपाली दूतावासले वकिलको व्यवस्था गरिदिएको थियो । उनले हाइपरमार्केटमा बेसार झिक्ने क्रममा बेसारको प्याकेट खसेर बालिकालाई लागेको बताए । स्थानीय महिलाले भने उनले बालिकालाई छोएको भन्दै ओलीमाथि मुद्दा दायर गरेकी थिइन् ।

कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय