‘हामीले त सिक्यौं, अव अरुलाई सिकाउँछौं’

काठमाडौं, नेपाल ट्रेड युनियन महासंघ(जिफण्ट) ले सुरु गरेको नियमित ट्रेड युनियन स्कुलको पहिलो व्याचको तालिम सम्पन्न भएको छ । नियमित ट्रेड युनियन स्कुलका लागि छानिएका २७ जना प्रशिक्षार्थीले ५ दिन लामो प्रशिक्षण शनिवार सम्पन्न गरेका हुन् ।

समापन समारोहमा बोल्दै जिफण्टका अध्यक्ष विष्णु रिमालले चार बर्षमा थप ५३ हजार ८० सदस्य संख्या बढाउनु पर्ने चुनौति रहेको बताए । ‘हामीले यसअघि नै यो प्रतिवद्धता जनाइसकेका छौं’ समापन समारोहमा बोल्दै अध्यक्ष रिमालले भने ‘अव त्यसका लागि प्रतिवर्ष हामीले १३ हजार २ सय ७० जनाका दरले सदस्य संख्या बढाउनै पर्छ ।’ त्यसका लागि अहिले प्रशिक्षण लिएर प्रशिक्षक बन्न सफल व्यक्तिहरुले महत्वपूर्ण काम गर्न सक्ने रिमालले विश्वास व्यक्त गरे ।

उनले महिला युनियनकर्मीको सदस्य संख्या बढाउनु पर्ने चुनौति समेत सँगसँगै रहेको स्मरण गराए । ‘हामीले अन्तराष्टिय मञ्चहरुमा त्यो पनि कवोल गरेका छौं, किनकी हामी विश्वका ३ सय २५ युनियन मध्ये छानिएका १ सय युनियनमा पर्छौं र हामीले महिला सदस्यको संख्या पनि बढाउनै पर्छ’ रिमालले भने । जिल्ला जिल्लाबाट युनियनका सदस्यहरुलाई काठमाडौंमा बोलाएर लामो समयसम्म राखेर तालिम दिनु महत्वाकाँक्षी लक्ष्य नै रहेको भन्दै उनले त्यसमा सफलता हासिल हुने नहुने कुरा पहिलो व्याचबाट प्रशिक्षण लिएका व्यक्तिहरुमा निर्भर रहने बताए ।

समापन समारोहमा प्रशिक्षार्थीहरुका तर्फबाट बोल्दै राजकुमारी चौधरीले यस्तो प्रशिक्षणले जिफण्टको सदस्य विस्तार सम्वन्धि अभियानमा महत्वपूर्ण सहयोग गर्ने बताइन् । हामीले त सिक्यौं अव यहि कुरालाई अरु धेरै मजदुर साथिहरुलाई सिकाउनु पर्ने दायित्व हाम्रो काँधमा आइपरेको छ उनले भनिन् । यसैगरी प्रशिक्षार्थीहरुकै तर्फबाट बोल्दै गोकर्ण गिरीले जिफण्ट एउटा सिर्जनशिल संगठन भएको भन्दै नियमित स्कुल पनि त्यहि सिर्जनसिलताको उपज भएको धारणा राखे । उनले जिफण्टले गरेको लगानीको प्रतिफल प्राप्त हुन्छ भन्दै त्यसका लागि सम्पूर्ण प्रशिक्षितहरु तत्पर रहेको बताए ।

गत पौष १५ गते सुरु भएको तालिममा लामो समयदेखि युनियन आन्दोलनमा संलग्न छानिएका २७ व्यक्ति सहभागि थिए । प्रशिक्षणमा श्रमिकको परिभाषा, श्रम तथा ट्रेड यूनियन ऐन, वर्ग संघर्ष, समाज विकासको चरण हुदै समाजवाद तथा साम्यवादसम्मका बारेमा प्रशिक्षकहरुलाई ज्ञान प्रदान गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय