म पैसा कमाउन भनेर चारमहिना अगाडी साउदी अरब आएको हुँ । यहाँ आएको तीन चार दिनमै स्वास्थ्यमा समस्या देखियो । मेरो पिसावबाट रगत बग्ने समस्या छ । धेरैपटक अस्पतालमा गएर उपचार गराउँदा पनि ठिक भएन । म एकदम कमजोर भएको छु ।
बिरामी परेर काम गर्न नसक्ने भएपछि म घर फर्किन्छु भन्दा कम्पनीले १२ हजार रियाल तिरेर जा भन्छ । नेपालमा मेनपावरलाई फोन गर्दा एजेण्टलाई गर भन्छ । एजेण्टलाई फोन गर्दा उसले राम्रोसँग कुरा नै गर्दैन । फोन नै उठाउँदैन ।
काम गर्न नसकेपछि म नेपाल फर्किन खोजेको हुँ । काम गरेर कमाउन भनेर आएको मान्छे म त्यसै रहरले फर्किन खोजेको त होइन । तर कम्पनी, मेनपावर, एजेण्ट सवै मैले रहरले नेपाल फर्किन खोजेको जस्तै व्यवहार गर्छन् ।
म ६० हजार तिरेर आएको हुँ । तर यहाँ आएपछि थाहा भयो भिसा र टिकट फ्रि रहेछ । अहिले म साह्रै अप्ठ्यारोमा परेको छु तर वास्तै गर्दैन । म साउण्डलाइन मेनपावर कम्पनी मार्फत आएको हुँ । म आएको कम्पनीको नाम एक्सप्रेस फुड अलवाक कम्पनी हो ।
म अहिले काम गर्नै नसक्ने अवस्थामा छु । तर कम्पनीले तँ काम गर्न सक्छस् । त्यसैले अवको एक हप्ता भित्रमा काम गर्न थालिनस् भनें तलाई प्रहरी लगाएर पक्राएर थुनाउँछु भन्ने धम्की दिइरहेको छ । म राम्रोसँग हिंड्न समेत नसक्ने अवस्थामा छु, कसरी काम गर्न सक्छु र ?
यहाँ आएको तीन महिनासम्ममा मैले १० दिन पनि राम्रोसँग काम गर्न सकिन । कम्पनीले एकपटक तलव दियो, त्यसपछि खाली हात छु । त्यसैले अहिले मसँग खाना खाने पैसा समेत छैन ।
साथिहरुले खुवाइरहेका छन् अहिलेसम्म त । साथिले पनि सधैं सहयोग गर्न सक्ने अवस्था त हुन्न । म काम गर्न पनि नसक्ने, नेपाल फर्किन पनि नपाउने अवस्था भयो । म यसै मर्ने भएँ । मलाई जसरी पनि नेपाल झिकाइदिनुहोस् ।
समस्यामा परेपछि म एक पटक सहयोग माग्न नेपाली दुतावास पनि गएँ । त्यहाँबाट मेनपावर कम्पनीमा फोन पनि गर्नुभएको थियो । त्यसरी म दुतावास गएको कुरा मेनपावरले कम्पनीमा खवर गरेछ । त्यसपछि कम्पनीले मलाई काममा नगए प्रहरी लगाउने धम्की दिन थाल्यो ।
मलाई जसरी पनि यो खाडलबाट निकालि दिनुहोस् । म गरिवको छोरो यो मरभूमिमा मर्ने अवस्था आइसक्यो ।
रामकुमार रिमाल, जेद्धा (हाल साउदी अरबको जेद्धामा रहेका रिमालले देश परदेशलाई पठाएको सन्देश)