‘रक्तदान होइन, हामीले खोजेको विदेशमा बगेको रगतको न्याय हो’

आज १५ औं अन्तराष्ट्रिय प्रवासी श्रमिक दिवस । आप्रवासी कामदार तथा तिनका परिवारका सदस्यहरुको अधिकार संरक्षण गर्ने उद्धेश्यले राष्ट्र संघले १९९० डिसेम्बर १८ मा महासन्धी पारित गरेको दिनलाई स्मरण गर्दै ४ डिसेम्बर २००० को महासभाले यो दिवस मनाउने निर्णय गरेको थियो ।

महासन्धीमा आप्रवासी कामदार अधिकारलाई मानवअधिकारकै रुपमा लिन, कुनै प्रकारको विभेद नगरी सम्मानपुर्वक व्यवहार गर्न, उत्पत्ति, बाटोमा पर्ने राष्ट्र तथा गन्तब्यमा कामदार र तिनका परिवारको हक संरक्षण गर्न, गन्तब्य देश कुनै पनि बेला छाडेर मुलुक फर्किन पाउनु पर्ने प्रावधान छ ।

नेपालमा पनि यो दिवस साताव्यापी रुपमा मनाईंदैछ । श्रम तथा रोजगार मन्त्रालय को अगुवाईमा सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा ‘सुरक्षित आप्रवासको आवश्यकताः हामी सबैको प्रतिवद्धता’ नाराका साथ आप्रवासी कामदार दिवस मनाईदै छ ।

यो हप्ता भरी नै विभिन्न कार्यक्रमहरु आयोजना गरिए । मुख्य रुपमा काठमाडौंमा छलफल, अन्तरक्रिया कार्यक्रम धेरै भए र पीडितका समस्याका कुरा धेरै सुनिए । तर यो दिवस यसरी मनाइरहँदा के यसका बारेमा कामदार स्वयं जानकार छन् ? एकपटक विचार गरौं त । धेरैजसोलाई यो दिवसका बारेमा या त थाहा नै छैन वा थाहा पाए पनि यसले उनीहरुको जीवनमा त्यति धेरै महत्व राख्दैन ।

गएकाहरुको मात्र तथ्याँक हेर्ने हो भनें कात्तिक मसान्तसम्ममा श्रम स्वीकृति लिएर काम गर्न गएकाहरुको संख्या झण्डै ३५ लाख पुगेको छ । नेपालबाट अहिले २० लाख भन्दा धेरै व्यक्ति रोजगारीको सिलसिलामा मुख्य गरी खाडीका मुलुक र मलेसियामा छन् । ति देशमा नेपाली काम गर्छन् जहाँ श्रमिक भनेको दास नै हो भन्ने मानसिकताले जरो गाडेको छ । रोजगारदाताको श्रमिक प्रतिको व्यवहार पशुलाई गर्ने जस्तै छ ।

खाडीका देशहरु साउदी अरब, कतार र युएईका समस्या पटक पटक सार्वजनिक भइरहन्छन् । कुवेतमा महिला कामदारहरुले भोगको समस्या र कतार, साउदीमा निर्माण श्रमिक र भेडी गोठालाहरुले भोगेका पीडा सुन्दा लाग्छ पुराणहरुमा वर्णन गरिने नर्क कहिं छ भनें त्यो खाडीका देशहरु नै हुन् । जुन देशमा रोजगारी त छ तर न्यूनतम मानवअधिकार छैन । श्रमिक जान त मन लागेको समयमा सक्छन् तर फर्किन लाख चाहेर पनि सक्दैनन् । अर्थात कोहि कसैले नस्वीकारे पनि कतारका लागि पूर्व नेपाली राजदुत डा. मायाकुमारी शर्माले भने जस्तै ति मुलुक आप्रवासी कामदारका लागि खुल्ला जेल नै हुन् । यसमा दुईमत छैन ।

तर त्यो अन्याय, अत्याचारका विरुद्धमा बोल्ने साहस उति धेरै मुलुकले गर्न सकिरहेका छैनन् । रोजगारीको अवशर खोसिएला र आफ्नो जनशक्तिले काम गर्ने ठाउँ नपाउला भन्ने चिन्ता धेरै देखिन्छ सम्वन्धित देशका सरकारहरुसँग । त्यसैले आफ्ना नागरिकले भोगिरहेको समस्या साझा छन्, चिन्ता साझा छ तर नेपाल सहित भारत, बंगलादेश, श्रीलंका अन्यायका विरुद्धमा एकमुख भएर बोल्न सक्दैनन् । न्यूनतम सुविधाका बारेमा एक भइरहेका छैनन् ।

नेपाली राजदुत शर्माले दिएको अभिव्यक्तिपछि उनले जसरी स्वदेश फर्किनु पर्यो, त्यसपछि खाडीका देशमा रहेका कुटनीतिक नियोगका प्रतिनिधिहरु यति थरहरी भएका छन् उनीहरु श्रमिकका समस्याका बारेमा खुलेर बोल्नै चाहँदैनन् । अर्थात उनीहरु सुरक्षित रुपमा जागिर पकाउन र ति देशमा बस्न पाएको समय पूर्ण रुपमा व्यतित गर्न मात्र चाहन्छन् । यो अवस्थामा विदेशमा रहेका नियोगहरुले श्रमिकका पक्षमा धेरै काम गर्लान् भन्ने अपेक्षा कमै राख्दा हुन्छ ।

तर स्वदेशको पनि समस्या यो भन्दा कम छैन । बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई ठग्ने काम नेपालमै सुरु हुन्छ र त्यसको धेरैजसो हिस्सा नेपालमै सकिन्छ । हुन त सुरक्षित बैदेशिक रोजगारीका लागि कृयाशिल संघसंस्थाका प्रतिनिधिहरु नेपालमा हुने ठगिको दर कम भएको र विदेशमा बढेको तर्क गर्छन् तर पासपोर्ट बनाउँदा देखि सुरु हुने ठगिको सिलसिला कामदार विदेश नउडेसम्म हरेक पाइलामा चलिरहन्छ । त्यसैले बैदेशिक रोजगारमा जाने कामदार नेपालमै ठगिएर लगभग सोत्रियान भइसकेपछि मात्र विदेशको एयरपोर्टमा उत्रिन्छ जहाँ अर्को ठूलो समस्याले उसलाई पर्खिरहेको हुन्छ ।

नेपालमा हुने ठगिका लागि को जिम्मेवार छन् त ? गैरसरकारी संघसंस्थाले मेनपावर कम्पनी र सरकारलाई दोषि देखाउँछन् । मेनपावर कम्पनीहरु गाउँका एजेण्टतिर चोर औंला तेस्र्याउँछन् । अनी सरकारी अधिकारीहरुका लागि यो केवल एउटा सुन्ने विषय मात्र हो, उनीहरु यसमा उति धेरै काम गर्न सक्दैनन् वा गर्दैनन् । यो अवस्थामा ठगिको सिलसिला हरेक दिन, हरेक साता र हरेक महिना चलिरहेको छ । अर्थात ठगहरुले कुम्ल्याइरहेकै छन् ।

नेपालमा पछिल्लो समयमा रेमिट्यान्स धेरै सुनिएको, कुरा गरिएको र देशको अर्थतन्त्रका लागि जीवनदायिनी मानिएको शव्द हो । तर त्यहि रेमिट्यान्स पठाउनेहरुका बारेमा केहि कार्यक्रमहरुमा छलफल गर्ने र बिरालो बाँधेर श्राद्ध गर्ने परम्परा रोकिएको छैन । अर्थात डिसेम्वर १८ तारिखका दिन वा त्यस अघिको एक हप्ता कार्यक्रमहरु गरिन्छन् । यो एक हप्ता वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी निकाय, गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु सोह्र श्राद्धको बाहुन भन्दा कम व्यस्त हुन्नन् । हरेक व्यक्तिलाई एउटा कार्यक्रम सकेर अर्कोमा हाजिर जनाउन आतुरी हुन्छ ।

कतै रेमिट्यान्सको महत्वका बारेमा प्रवचन गरिन्छन् र कतै रक्तदान कार्यक्रम गरिन्छन् । तर परदेशमा नेपालीले हरेक दिन बगाउने रगतको खोजि अरु दिन उति धेरै हुन्न । दिवस चलिरहँदा कतै बैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकको सम्झनामा बत्ती बालिन्छ तर पीरै पीरले गुम्सिएको कुनै नेपाली प्रवासी श्रमिकको मनको बत्ती बाल्ने प्रयास हुन्न । अर्थात उ कुनै मुलुकको अनकण्टार मरभूमि वा जंगलका बीचमा आफ्नै भाग्यलाई धिक्कार्न एक्लै छाडिइन्छ ।

हामीले खोजेको भनेको त नेपालबाट श्रम गर्न गएकाहरुको काम मर्यादित हुनुपर्छ भन्ने हो । हामीले मागेको भनेको खाडीका देश र मलेसियामा भइरहेको चरम श्रम शोषणको अन्त्य हो । र हामीले आग्रह गरेको भनेको नेपालीको बैदेशिक रोजगारीको यात्रा सुरक्षित र लाभदायक आम्दानी सहितको होस् भन्ने नै हो ।

के आप्रवासी दिवसले यो सन्देशमा कुनै मद्धत गर्यो त ?

सुनिल न्यौपाने, काठमाडौं 

तपाईका विचार लेख्नुहोस् । तपाईको विचारलाई हामी स्वागत गर्छौं ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय