इजरायल- कृषि उद्यमी युवाको आकर्षक गन्तव्य
झलेन्द्र भट्टराई

साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम खास गरेर १२ कक्षा पास गरेका नेपाली बिद्यार्थीहरु जो साना किसान परिवारका सदस्य हुन्, साना किसान सहकारी संस्थामा आबद्ध छन्, उनीहरुका परिवारका मानिसहरु कृषिमैं निर्भर छन्, बर्षौदेखि उनीहरु कृषि पेशा अपनाएर आएका छन् ति परिवारका युवालाई कृषिप्रती आकर्षित गर्नका लागि ल्याईएको कार्यक्रम हो । यहि मुलुकमा हामी कृषिबाट उद्यमी बन्न सक्छौं तथा यसबाट जिविकोपार्जन मात्र हैन राम्रो व्यबसाय गर्न सक्छौं भन्ने बाटो खोल्नका लागि इजरायलको समृद्ध कृषिमा साक्षात्कार गराउने एउटा प्रयासका रुपमा हामीले यसलाई हेरेका छौं ।

यो रोजगारी हैन, तालिम हो । १० महिना युवाहरुले त्यहाँ बस्ने मौका पाउँछन् । प्रत्येक हप्ता कलेजमा व्यस्त अभ्यास गर्नुपर्ने हुन्छ । हप्ताको पाँच दिन उनीहरुले सम्बन्धित फार्महरुमा काम गर्ने मौका पाउँछन् र त्यसबापत उनीहरुले पारिश्रमिक पनि पाउँछन् ।

एकातिर उनीहरुले सैदान्तिक ज्ञान आर्जन गर्ने अवसर पाएका छन्, त्यो पनि ईजरायलको समृद्ध कृषि कलेज तथा तालिम केन्द्रहरुमा भने अर्कोतिर उनीहरुले तीनै ज्ञानहरुको व्यबहारिक प्रयोग कसरि भएको छ भन्ने कुराहरुको बुझ्ने मौका पाएका छन् । त्यहाँको सैद्धान्तिक र व्यबहारिक शिक्षाले सक्षम उद्यमी बनाउन सहयोग पुग्छ भन्ने हामीलाई लागेको छ । ती बिद्यार्थी यहाँ फर्केर आईसकेपछि तत्काल आफुले अपनाईरहेको पेशालाई कसरि आधुनिकिकरण गर्न सकिन्छ र कृषिलाई कसरि बढि उत्पादनमुलक बनाउन सकिन्छ भन्ने कुरामा आफ्नो ज्ञान प्रयोग गर्छन् ।

हाम्रो यो सानो प्रयास हो । अहिले हामीसँग जतिपनि आबद्ध भएका सानाकिसान सहकारी छन् ति सहकारीमा आबद्ध भएका सानाकिसान परिवारका सदस्यहरु जो १२ कक्षा सरह पास गरेका छन्, उनीहरुको परिवार कृषि पेसामैं आबद्ध छ, एक बर्षदेखि साना किसान सहकारीमा आबद्ध भएर काम गरेका छन् र २० देखि ३० बर्ष उमेर समुह बिचका छन् ति युवायुवतिहरुलाई यसमा आबद्ध हुने मौका प्रदान गरेका छौं ।

यो नितान्त शुल्कविहिन तालिम हो । यसमा जाने बिद्यार्थीले कुनैपनि संस्था, संगठनलाई पैसा तिर्नुपर्दैन र इजरायलमा पनि तालिम लिएबापत पैसा पाइदैन । यहाँबाट बिद्यार्थीहरुको आफु जाँदा लाग्ने खर्च भनेको हवाईटिकट, पासपोर्ट तथा काठमाडौं आउने÷जाने खर्च व्यहोर्नुपर्छ । इजरायली राजदुतावासले नेपाली बिद्यार्थीका लागि भिसा शुल्क नलाग्ने बनाएको छ । उताको कलेजले आफ्नो नियम अनुसारको फी लिन्छ । बिद्यार्थीहरुलाई बस्ने व्यबस्था मिलाईएको हुन्छ तर खानाको शुल्क आँफैले व्यहोर्नुपर्छ । स्वास्थ्य बीमा कलेजले गर्छ । हप्तामा पाँच दिन काम गरेर कमाएको पैसाले इजरायलको खर्च चलाउँछन् । त्यसबाट बचत पनि गर्छन् । यहाँबाट जाने सन्दर्भमा बिद्यार्थीबाट कुनैपनि अतिरिक्त शुल्क उठाइदैन ।

हामीले यो बिल्कुलै नयाँ चिज सुरु गरेछौं । नेपालमा पढेको मान्छेले खेती गर्न हुन्छ भन्ने भ्रमको रुपमा बिकास भैरहेको रहेछ । पढेको मान्छेले खेती गर्नुहुँदैन भन्ने सत्य स्थापित भैरहेको अवस्था रहेछ । यसलाई हामीले चिर्ने प्रयास गर्‍यौं । त्यसैले ति बिद्यार्थी जसले तालिम पुरा गरेर आए उनीहरुले कृषि व्यबसाय सुरु गर्दा ‘इजरायल गएर फर्केर आएर पनि फेरी खेती गर्ने’ भनेर हामीलाई धेरै जिस्काए भनेर बिद्यार्थीहरुले हामीलाई धेरै सुनाउनुहुन्थ्यो ।

झापा, धादिङ, मकवानपुरका बिद्यार्थीहरुले कृषि व्यबसाय सुरु गर्नुभएको छ । इजरायलमा हुने कतिपय कुराहरु हाम्रो ठाउँमा नहोला तर त्यहाँको प्रविधि र सिकेका कुरा यहाँ पनि काम लाग्ने भए । यहाँको माटो सुहाउँदो, यहाँको व्यबसाय सुहाउँदो पेशा उहाँहरुले सुरु गर्नुभएको छ । केहि साथीहरु कामको योजना बनाउँदैहुनुहुन्छ । झण्डै आधाभन्दा बढी बिद्यार्थी आफ्नो गन्तव्य बनाएर हिंड्नुभएको छ । यद्यपी अझैपनि मुल्यांकन गरिहाल्ने समय भएको छैन ।

काम गर्नेका लागि कँहिपनि रोकिदैन । अनुदान नभई गर्नसकिदैन भन्यो भने हामीसँग त्यसको जवाफ अहिलेलाई छैन । तरपनि नेपाल सरकारले यि बिद्यार्थीहरुलाई पनि लक्षित गरेर अनुदान घोषणा गरेको पनि छ । लगानीको सन्दर्भमा बिद्यार्थी स्वयंले उताबाट फर्केर आउँदा कम्तिमा ४ देखि १० लाखसम्म बचाएर आएका छन्, मतलब एउटा स्केलको पुँजी उनीहरु आफुले लिएर आएका छन् । अर्को, साना किसान सहाकरी संस्थाबाटै गएको हुनाले उनीहरुलाई संस्थाले सहयोग गर्छ । त्यसबाहेक ठुलो पुँजी चाहिने भयो भने ‘बिजनेश प्लान’का आधारमा बाणिज्य बैंकसँग सम्पर्क गराईदिने कार्य पनि हामीले गर्दै आएका छौं । अहिले त सरकारले पनि ६ प्रतिशत व्याजमा ऋणको व्यबस्था गरेको छ । पुँजीको कारणले काम रोकिदैन । पुँजीको कारणले मैंले कृषि उद्यम गर्न सकिन भन्नु नपरोस् भन्ने हाम्रो चाहना छ ।

यो कार्यक्रमलाई बिल्कुलै वैदेशिक रोजगारीको रुपमा हेरिनु हुँदैन । वैदेशिक रोजगारीमा जाने मान्छेहरु यति दिनमा यहाँ आउनै पर्ने र यहाँ आएर यस्तो पेशा सुरु गर्नैपर्ने भन्ने बाध्यता हुँदैन । अर्को भनेको वैदेशिक रोजगारीमा सीप भन्दा पनि पैसा कमाउने लक्ष्य हुन्छ । बिल्कुल फरक किन पनि हो भने २० देखि ३० बर्ष उमेरको बिद्यार्थी मात्र जान्छन्, कृषि पेशामा आबद्ध भएको परिवारको मान्छे मात्रै जान्छन्, त्यहाँ गएका बिद्यार्थीले कलेज पढ्नै पर्छ, परिक्षा दिनैपर्छ र पास गर्नैपर्छ । त्यस्तै कृषिदेखि बाहेक अरु केहि गर्नै पाउँदैन । र, १० महिना पुरा भएपछि उ त्यहाँ बस्नै पाउँदैन, नेपाल आउनै पर्छ र नेपाल आएपछि पनि पहिला साना किसान सहकारीमा सम्पर्क राख्नुपर्छ । सम्पर्क पछि ‘बिजनेश प्लान’ हामीलाई बताउनुपर्छ । त्यसका लागि हामी सहयोग गर्छौ । यो कृषि उद्यमीको बिकास गर्ने उद्देश्यले डिजाईन गरिएको कार्यक्रम हो ।

झलेन्द्र भट्टराई, बरिष्ठ प्रबन्धक साना किसान बिकास बैंक लिमिटेड

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय