कतारका सामाजिक संस्थाः रहर की आवश्यकता ?

खगेन्द्र कार्की, कतार – नेपालीका लागि कतार रोजगारीको दोश्रो प्राथमिकताको गन्तव्य स्थल बनिरहँदा यहाँ पाँचलाख बढी नेपालीको जमघट भईसकेको छ । कतारको यो नेपाली समाजभित्र रहेका समुदायको हितका निम्ति खोलिएका सामाजिक संस्थाहरु ठूला र साना गरी लगभग एकसय भन्दा धेरै छन् ।

ति सबै संस्थाको लक्ष्य र उद्देश्य एउटै रहेको छ– नेपालबाट कतारमा आएर रोजगारी गरिरहेका नेपालीहरुको उद्दार गर्नु, समृद्ध बनाउनु, सचेत गराउनु, व्यक्तित्व विकास गर्नु । हरेक दिन, हरेक हप्ता वा महिना कतारमा काम गरिरहेका नेपालीहरु विभिन्न प्रकारका समस्यासँग पौठाजोरी खेलेर भाग्य र भविष्यसँग युद्ध रचिरहेका, लडिरहेका छन् ।

दैनिक रुपमा विभिन्न रुपबाट कतारमा आकस्मिक रुपमा मृत्युवरण गर्ने संख्या त्यतिकै छ । अधिकांश नेपाली जोखिमपूर्ण काम, निर्माण कम्पनीमा कार्यरत भएकाले अंगभंग भएका, विविध प्रकारका रोगले ग्रसित भएकाहरु धेरै छन् । पारिवारिक तनावले मानसिक रुपमा ग्रसितहरु त्यतिकै छन् ।

यद्यपि उनीहरुले जति बुझेका छन्, जति जानेका छन त्यो अनुसार संस्थागत वा व्यक्तिगत रुपमा सामाजिक अभियानमा क्रियाशिलता देखाएकै छन् । तर ति संस्थामा आवद्ध तमाम जिल्लाबासीलाई संस्थाले पूर्णरुपमा उपेक्षा गरेको दुखेसो विभिन्न संस्थामा कार्यरत व्यक्तिहरु बताउने गर्दछन् ।

उनीहरु भन्छन्– आर्थिक भार कम गर्न र समूह ठूलो देखाउन मात्र जिल्लाबासी प्रयोग गरिन्छन्, जसरी राजनीतिमा भोट बैंकको रुपमा जनतालाई प्रयोग गरिन्छ । सीमित व्यक्तिको घेरा बाहिर संस्था जान नसकेको कारण निराश भएर संस्थामा क्रियाशिल व्यक्तिहरु बाहिरिनेहरुको जमात पनि कम छैन ।

कतारमा रहेर काम गरिरहेका धेरै नेपालीहरुको यो दुःखको कमाई प्रवासदेखि मातृभूमिसम्म ठूलो लगानी हुने गरेको छ । तर त्यो लगानी सवै ठाउँमा सदुपयोग भइरहेको छ कि छैन कुनै लेखाजोखा हुँदैन । यसरी संस्थाका गतिविधिमा साथ र सहयोग गरिरहेका व्यक्तिहरु कतारको रोजगारीबाट फर्किदा जसरी आएका थिए उसैगरी रित्तो हात, रोग र अपाङ्गता बोकेर फर्कने नेपालीको संख्या त्यतिकै रहेको छ ।

अकल्पनीय रुपमा मृत्युवरण गर्न पुगेका व्यक्तिहरु बाकसमा बन्द भएर फर्काइएका छन्, कतिको शव फर्काउन समेत महिनौं पर्खिनु परेको छ, त्यस्ताका परिवारमा पीडाको कुनै लेखाजोखा छैन । अर्कोतिर कम्पनीको तर्फबाट गरिएका गल्तिहरुमा समेत नेपाली कामदारले नै सजाय भोग्नु पर्ने नियमको जञ्जिरमा नेपाली कामदार जकडिएका छन् ।

भिसा नलगाई दिने, आईडी नदिने, स्वास्थ्योपचार नगर्ने, तोकिएको तलव, सेवा सुविधा दिन कम्पनीले नसक्ने अनि तलव, सेवा सुविधा वा घर जाने वातावरण माग्दा गैरकानुनी बसोबासको आधारमा प्रहरीको कष्टडीमा परेकाहरु, भागेर काम गर्न विवश पारिएकाहरु र अलपत्र भविष्यसहित पीडादायी जीवन बिताइरहेकाहरुको संख्या कतारमा ठूलो छ ।

तर त्यो कम्पनीको कमजोरी हो, फलानो कम्पनीले यसरी कमदारलाई दुःख दिइरहेको छ भनेर कतारी सरकारको निकायसम्म पु¥याउने माध्यम सहज हुन सकिरहेको छैन । कम्पनी सञ्चालकको डरत्रासमै नेपालीले नारकिय जीवन बिताइरहनु पर्ने बाध्यता छँदैछ । ति कम्पनीलाई कारवाही गर्ने निकायसम्म पुग्न सक्ने हैसियत हामीले बनाउन सकिरहेका छैनौं ।

समस्या जानकारीमा आएपछि संस्थाहरुले सहयोगको लागि, उद्दारका लागि पहल गर्ने गरेका छन, तर समन्वयात्मक एकताको आधारमा सामूहिक रुपमा नभई फरक फरक एकल तरिकाले जाने परिपाटीको विकास हुँदैछ । पीडितको तत्कालिन उद्दारका निम्ति सामाजिक संस्थाहरुले आफ्ना सदस्य मार्फत रकम संकलन गरेर लाने गर्दछन् तर त्यो समस्या समाधानको दिर्घकालिन सामूहिक सोचको विकास, दिर्घकालिन लक्ष्यका साथ अगाडि बढ्ने ध्येय संस्थाका अगुवाहरुमा देखिन्न । जसले गर्दा एउटै समस्या दोहोरिई, तेहरिएर आउने गरेका छन् तर शीघ्र समस्या समाधानको संयन्त्र निर्माण गर्न नसकिरहेको अवस्था छ ।

एकलरुपमा जाँदा संस्था र संस्थामा आवद्ध व्यक्तिहरुको नाम आउने भएकाले पनि एकल कार्यक्रम संस्थाका लागि प्रभावकारी हुने तर्क संस्थाका पदाधिकारीहरुले दिने गरेका छन् ।

एक सय संस्थाहरु मात्र एकजुट भएर लाग्ने हो भने जुनसुकै समस्या समाधान हुन्छ, गर्न सकिन्छ । एकताबद्ध भएर नेपाली नियोगमा जाने, कतारका सम्बन्धित निकायमा जाने र कुरा राख्ने हो भने त्यो प्रभावकारी हुन्छ र कार्यान्वयन पनि चाँडै हुनेछ ।

आर्थिक सहयोगकै हिसाबले पनि एक सय वटा संस्थाले एक एक सय रियाल मात्र एउटा समस्यालाई संकलन गर्ने हो भने दश हजार रियाल हुन आउँछ यो ठूलो रकम हो, त्यति व्ययभार पनि पर्दैन तर यसरी जान कोही तयार देखिँदैनन्, सबैले आ–आफ्नो दुनो सोझ्याउन, नाम चर्चामा ल्याउन खोजेका छन् ।

अझ भन्नुपर्दा सहयोग लिन र दिन पनि पहुँचको लेखाजोखा हुने गर्दछ । नयाँ वा साना संस्थाले बोल्दा कसैले सहयोग नगर्ने तर ठूला संस्थाले ल्याएका योजनामा प्रबुद्ध वर्ग, व्यवसायी, बुद्धिजीवि र संस्थाहरुले मनग्गे सहयोग गर्ने परिपाटी पनि बढ्दै छ चाहे त्यो संस्थागत वा सामाजिक सञ्जालबाट गरिएको होस् वा व्यक्तिगत होस् ।

यद्यपि रोजगारीका हिसाबले देश, परिस्थिति अनुसार आफ्नो बचेको समयलाई सदुपयोग गर्दै मानविय सेवामा समर्पित रहनका निम्ति संस्थाको माध्यमबाट जति गरे, त्यो सह्रानीय छ तर जति गर्नुपर्ने थियो, त्यति भने हुन सकेको छैन ।

सामाजिक संस्थाको रुपमा नेपाली नियोगमा सूचिकृत भएका संस्थाहरुको पहिलो दायित्व भनेको सम्पूर्ण जिल्लाबासी साथीहरुको समन्वयमा विविध ठाउँमा छरिएर रहेका नेपालीहरुलाई एकत्रित पर्नु हो ।

यसैगरी कतारको भौगोलिक परिवेश, कानुनी अड्चन, रोजगारको बाध्यता, पारिवारिक समस्या र आर्थिक रुपबाट सुनिश्चित भविष्यका लागि थोरै पुँजीबाट आर्थिक समृद्धिको बाटो, व्यक्तित्व विकास, प्रतिभा प्रष्फुटन, स्वास्थ्यको हेरचाह, उपचारका उपाय, ट्राफिक नियमको जनचेतना, कम्पनी मालिक र कामदारबीचको सम्बन्ध, जोखिम पूर्ण कामदारहरुको पहिचान, कम्पनीको दादागिरीबाट हुनसक्ने सम्भावित क्षति वा असर आदिका बारेमा उनीहरुलाई सचेत गराउनु हो ।

अनी परिआएका समस्यालाई हल गर्न सघाउन पनि संस्थाका पदाधिकारीहरु अग्रसर हुनुपर्दछ । साथै दिर्घकालिन लक्ष्य, उद्धेश्यका बारेमा पनि क्रियाशिल रहनु पर्दछ ।

तर यस विपरित कतारमा रहेका धेरैजसो क्रियाशिल संस्थाहरु समुदायको हित भन्दा पनि पद र प्रतिष्ठाका निम्ति सीमित पदाधिकारीहरुको झुण्ड बनाएर विविध प्रकारका क्रियाकलापहरु गर्दै सक्रियता देखाइरहेका छन् । राजनीतिबाट टाढा बस्न खोज्ने केही संस्थालाई पनि राजनीतिमा तान्ने प्रयत्न बारम्बार हुने गरेको छ ।

भएका क्रियाकलाप पनि सेवामुखी भन्दा पनि मनोरञ्जनात्मक बढी मात्रामा हुने गरेका पछिल्ला दृष्टान्तहरुले देखाइ सकेका छन् । छाता संगठनको रुपमा स्थापित गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्ले वैकल्पिक मार्ग अवलम्बन गरेर मनोरञ्जन दिने र प्रतिभाको खोजि गर्ने गरेको छ यद्यपि अन्य संस्थाले त्यो मार्ग अवलम्बन गर्न सकिरहेका छैनन ।

अधिकांश संस्थाहरुले हिजोआज नेपाली साहित्य, कला र संस्कृतिको जगेर्ना गर्दै लुकेका प्रतिभा प्रस्फुटनको नाममा कतारमा रहेका समुदायलाई ठूलो व्ययभार बोकाउँदै आएका छन् । एउटै उद्देश्य र एउटै लक्ष्य बोकेर तिनै समुदायका निम्ति गरिएका कार्यक्रमहरु पनि फरक फरक ढंगले गरिनुले फजुल खर्च र समयको सदुपयोग नभईरहेको अवस्था छ । त्यसैले सामूहिक कार्यक्रमको सोचको विकास हुनु जरुरी छ ।

तिनै समुदायले राष्ट्रिय विपत्तिका अवस्थामा मानवीय सहयोगका रुपमा त्यतिकै खर्चेको छन् । समाजले ल्याएका योजना एम्बुलेन्स, शैक्षिकलगायत विविध प्रकारका योजनाहरुमा योगदान अतुलनीय योगदान पु¥याउँदै आएका त्यो समुदायहरुले गाउँमा बालआश्रम, बृद्धाआश्रम, विभिन्न रोगले ग्रस्त भएकादेखि परिबन्दमा परेर विभिन्न अभियोगमा मृत्युदण्ड सुनाइएका व्यक्तिहरुलाई समेत साथ र सहयोग गरेर बचाइरहेका छन् ।

अर्को विडम्बना सामाजिक संस्थामा व्याप्त छ– हचुवाको भरमा संस्थाको कुनै पदाधिकारी मातृभूमि पुगेर कसैलाई बोलेको भरमा समेत धेरै रकम संकलन गरेर व्ययभार बोकाउने गरिन्छ । सहयोग गर्नुपर्ने संस्था वा व्यक्तिको अवस्था, त्यसको स्थलगत प्रतिवेदन वा संस्थालाई सहयोग चाहिएको पत्रसमेत नल्याईकन धेरै रकम संस्थाले उठाउने र त्यो पैसा रेमिट गरेको भन्ने बाहेक अरु कुनै उपलब्धी देखिँदैन ।

त्यतिकै मात्रामा सामाजिक सञ्जालबाट र व्यक्तिगत रुपमा समेत सहयोग संकलन गर्ने गरिएको छ । उनीहरुको त्यो सहयोग कति सुरक्षित र उपलब्धी मूलक वा दिर्घकालिन छ भन्ने विषयमा दोहो¥याएर सोधिखोजि कसैले गर्ने गरेको देखिँदैन । धेरै रकम दिर्घकालिन भन्दा पनि अल्पकालिन रुपमा सकिने र सहयोग पश्चात त्यसको कुनै लेखाजोखा नहुने ठाउँमा खर्च भईरहेको देखिन्छ ।

अल्पकालिन सहयोगको लागि जो जसले जसरी लडिरहे पनि सहयोग गरिने संस्था वा समुदायको हकमा दिर्घकालिन रुपमा समस्या समाधानका लागि यस्ता सहयोग दिन सकियो भने सहयोग दिने र लिनेको बीचको सम्बन्ध प्रगाढ समेत भईरहने गर्दछ । अबका दिनमा स्वास्थ्योपचार वा विपत्ति बाहेकका विषयमा दीर्घकालिन रुपमा नै सामाजिक संस्थाका कार्ययोजना अगाडि बढाउँदा सामाजिक अभियानले नौलो फड्को मार्ला कि ?

(कतारमा कार्यरत कार्की पत्रकारितामा समेत सक्रिय छन्)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय