गैर आवासिय नेपाली संघ(एनआरएएनए) ले चीनबाट फैलिएकोे नोभेल कोरोना भाइरसको संक्रमणबाट जोगिन सजग रहन अपिल गर्दै चीनको उहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन सहयोग गर्ने जनाएको छ । संघका तर्फबाट एक विज्ञप्तीवारी गर्दै प्रवक्ता डीबी क्षेत्रीले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् चीन उहानमा रहेका १ सय ४० भन्दा बढी नेपालीहरुसँग सम्पर्कमा रहेको र उनीहरुलाई नेपाली दूतावास बेइजिङ्गसँगको समन्वयमा नेपाल फिर्ता गर्ने सम्बन्धमा सक्रिय रुपमा काम गरिरहेको जनाएका छन् ।
विज्ञप्तीमा भनिएको छः केही समय यता चीनको उहान क्षेत्रबाट फैलिएको नोभेल कोरोना भाइरसको संक्रमणले अहिले अन्तराष्ट्रिय स्वास्थ्य आपतको स्थिति खडा गरिसकेको छ । यस भाइरसको संक्रमणबाट चीन लगायतका विभिन्न मुलुकमा मृत्यु हुनेको संख्या झण्डै ६०० पुगिसकेको र ३० हजार भन्दा बढी व्यक्तिहरु संक्रमित भईसकेका छन् । यसले विश्वव्यापी महामारीको रुप लिनसक्ने शंका उत्पन्न भएको छ विज्ञप्तीमा भनिएको छ ।
गैरआवासीय नेपाली संघ यस भाइरसको संक्रमणको कारणले मृत्यु भएका व्यक्तिहरुको आत्माको चीरशान्तीको साथै संक्रमित व्यक्तिहरुको शिघ्र स्वास्थ्य लाभको लागि कामना गर्दछ विज्ञप्तीमा भनिएको छ यस प्रकोपबाट प्रभावित सबैमा सहानुभूति प्रकट गर्दछ ।
संघको स्वास्थ्य सम्बन्धी समिति कोरोना भाइरसको बारेमा गैरआवासीय नेपालीहरु माझ जानकारी फैलाउन सक्रिय रहेको भन्दै यस प्रकोपबाट नेपालको पर्यटन लगायत अर्थतन्त्र प्रभावित हुन थालिसकेको हुँदै यसले नेपाल जस्तो कम साधनश्रोत सम्पन्न मुलुकलाई चुनौति थपिएको जनाइएको छ ।
यस्तो अन्तराष्ट्रिय विपतको स्थिति कुनै एक मुलुकले मात्र सामना गर्न नसक्ने भन्दै एनआरएनएले यसका लागि सबै राष्ट्र र सम्पूर्ण व्यक्ति एकतावद्ध भई लाग्नु पर्ने धारणा राखेको छ । यस महामारीबाट बच्ने उपाय अवलम्वन गर्न चीन लगायत विश्वभरी फैलिएका सबै गैरआवासीय नेपाली र नेपालमा रहेका नेपालीलाई एनआरएनएले अपिल गरेको छ ।
