काठमाडौं, कात्तिक ५-
कतारमा सुपरमार्केटको रोजगारीमा पठाउने भनेर पासपोर्ट र रकम लिएपछि राजधानीको एक मेनपावर कम्पनीले दुई युवालाई जवर्जस्ती आजाद भिसामा पठाउन खोजेको खुलेको छ । पीडितहरुले आफूहरु फरक काम र कम्पनीमा नजाने अडानमा रहेपछि यसको रहस्य खुलेको हो ।
धनुषाका जियाउल मुस्तफा तथा सलमा रायनले कतारको एक सुपरमार्केटमा काम गर्ने भिसा दिलाउने शर्तमा गत बैशाखमा राजधानीको व्लू ग्यालेक्सी ईन्टरनेशनलमा पासपोर्ट र जनही २० हजार रुपैंयाँ बुझाएका थिए । स्थानीय एजेण्ट बुधेश्वर मण्डल हुँदै काठमाडौं स्थीत सो मेनपावर कम्पनीको कार्यालयमा नै आएर आफूहरुले पासपोर्ट र रकम कम्पनीका निर्देशक कमल दहाललाई बुझाएको मुस्तफाले बताए ।
लामो समय पर्खिएपछि आफूहरुलाई कतार जाने भिसा आएको जानकारी दिइएको तर भिसामा हेर्दा लेवरको काममा स्यालुट ट्रेडिङ एण्ड कन्ट्राक्टीङ कम्पनीको भिसा देखाएपछि ति दुवैले आफूहरु सो भिसामा जान अस्वीकार गरेका थिए । तर भिसा लागिसकेको भन्दै पासपोर्ट र पैसा फिर्ता दिन नमानेको सलमा रायन बताउँछन् ।
यस विषयमा दुवैले आफूहरुको पासपोर्ट र रकम फिर्ता गराइदिन धनुषास्थीत सुचना केन्द्रमा निवेदन परेको र यस विषयमा कुराकानी गर्दा कम्पनीका निर्देशक दहालले आफूहरुले आजाद भिसामा पठाउन खोजेको र त्यो झन राम्रो हुने बताएको सुचना केन्द्रका कर्मचारी प्रभात कुमार मिश्रले बताए ।
देशपरदेशसँगको कुराकानीम व्लू ग्यालेक्सीका निर्देशक दहालले उनीहरुको पासपोर्ट फिर्ता गर्न एजेण्टलाई भनिसकेको र त्यो फिर्ता हुने बताए । उनले आजाद भिसामा पठाउने गरी नै कुराकानी भएको भने । तर आजाद भिसामा कामदार पठाउन कानुन अनुसार मिल्छ भन्ने प्रश्नमा भनें उनले कुनै जवाफ दिएनन् ।
रायन र मुस्तफालाई मेनपावरसम्म लैजाने काम गरेका बुधेश्वरले पनि सुरुमै उनीहरुलाई मेनपावर कम्पनीमा आजाद भिसामा मागपत्र आउने र कतार पुगेपछि काम खोजेर लगाउने जिम्मेवारी आफ्नो भएको प्रतिवद्धता मेनपावर कम्पनीका तर्फबाट गरिएको र मुस्तफा, रायन र अर्का दुई व्यक्तिले स्वीकारेर नै रकम र पासपोर्ट बुझाएको बताए ।
यो पनि पढ्नुहोस् कथित ‘आजाद’ भिसामा आउनेहरु थप समस्यामा
