काठमाडौं, भदौ ८-
धनुषा २५ का ८ जना युवा एजेण्टले डेढ वर्ष अगाडी लगेको राहदानी(पासपोर्ट) फिर्ता नपाएर हैरान छन् । यसबीचमा उनीहरुले धेरैपटक आफ्नो पासपोर्ट फिर्ता गरिदिन आग्रह गरेपनि एजेण्टले आलटाल गर्दै आएका छन् ।
रामकुमार ठाकुर, दिनेश मण्डल लगायतका ति युवाले धनुषाकै यदुकुहाका भोगिन रायलाई पासपोर्ट र जनही ४ हजार ५ सयका दरले रकम बुझाएका थिए । वैदेशिक रोजगारमा पठाइदिने एजेण्टको काम गर्दै आएका रायले सुरुमा उनीहरुलाई कुवेतमा क्लीनरको काममा पठाउने आश्वासनमा पासपोर्ट र रकम लिएका थिए । तर पछि कुवेतबाट भिसा नआएको भन्दै युएई र त्यसपछि कतार पठाउने व्यवस्था मिलाउने भन्दै रायले आफूहरुलाई झुलाएको पीडित मध्येका एक रञ्जित यादव बताउँछन् ।
पासपोर्ट र लिएको रकम फिर्ता गरिदिन आग्रह गर्दा गर्दा थाकेपछि पीडितले धनुषामा सञ्चालित सुचना केन्द्रमा निवेदन पनि दिएका छन् । आफूहरुको पासपोर्ट झण्डै डेढ वर्षदेखि राखेर रायले आफूहरुलाई बैदेशिक रोजगारमा जान वञ्चित गराएको भन्दै उनलाई कारवाही हुने अपेक्षाका साथ निवेदन दिएको राकेश पासवान बताउँछन् । सुचना केन्द्रबाट फोन गर्दा पनि रायले सोमवार फिर्ता गर्छु भन्दै आलटाल गरिरहेको सुचना केन्द्रले जानकारी दिएको छ । एजेण्ट रायसँग यस विषयमा कुरा गर्दा उनले आफू व्यस्त रहेको भन्दै कुरा गर्न चाहेनन् । कानून अनुसार वैदेशिक रोजगारका एजेण्टलाई हटाइसकिएको छ । तसर्थ उनीजस्तो अव कसैले एजेण्टको रुपमा काम गरेमा त्यो गैरकानूनी हुन्छ ।
