काठमाडौं, माघ २८-
श्रम मन्त्री गोकर्ण विष्टले रोेजगारीको सिर्जना चूनौतिपूर्ण काम भएपनि वर्तमान सरकारको यो प्राथमिक विषय भएको बताएका छन् । उनले थप रोजगारी सिर्जनाका लागि मन्त्रालयले यसबर्ष आधार तयार पारिसकेको समेत बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका बारेमा जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री विष्टले सरकारको उद्धेश्य बेरोजगार भत्ता बाँड्ने नभई धेरै भन्दा धेरै व्यक्तिलाई रोजगारीमा संलग्न गराई उत्पादकत्व बृद्धि गर्नु रहेको बताए । उनले काम गर्ने उमेर समुहको जनशक्तिलाई रोजगारीसँग जोड्न सरकारले पहल गर्नका लागि नै प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्न लागिएको बताए ।
अदक्ष जनशक्तिलाई सीप तालिम मार्फत दक्ष बनाउँदै उनीहरुलाई रोजगारीमा जोड्न सरकार तत्पर रहेको मन्त्री विष्टको भनाई थियो । उनले काम र जनशक्तिबीच संयोजनको भूमिकामा सरकार रहने समेत प्रष्ट पारे । केवल शारिरीक श्रम मात्र होइन बौद्धिक श्रम गर्ने जनशक्तिलाई समेत सरकारले यसका कार्यक्रम मार्फत रोजगारीमा संलग्न गराउने छ मन्त्री विष्टले भने । यसका लागि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा शिक्षित जनशक्तिका लागि रोजगारी सिर्जना गरिने उनको भनाई थियो ।
सो अवसरमा मन्त्रालयमा प्रधानमन्त्री रोजगार कार्यक्रम हेर्ने सहसचिव प्रकाश दाहालले कार्यक्रमको अवधारणा प्रस्तुत गरेका थिए । उनले नेपालको संविधान, राष्ट्रिय रोजगार नीति, २०७१ रोजगारीको हक सम्वन्धी ऐन र त्यसको नियमावली लगायतमा रहेका व्यवस्थालाई आधार बनाएर कार्यक्रम तयार पारिएको बताए । उनले रोजगारीका क्षेत्र पहिचान, कार्यक्रम सञ्चालनको पद्धती लगायतका विषयमा प्रष्ट पारे । उनले नेपालमा श्रमलार्ई सम्मान गर्ने संस्कृति नभएको भन्दै यस कार्यक्रम मार्फत श्रमको सम्मानका लागि अभियान नै सञ्चालन गरिने बताए । उनले रोजगारीको सुनिश्चितता सहितको तालिम सञ्चालन गरिने भन्दै कार्यक्रमले ५ बर्ष भित्रमा बाध्यतापूर्वक बैदेशिक रोजगारमा जाने अवस्था अन्त्य गर्ने लक्ष्य राखेको बताए ।
आन्तरिक रोजगारी सिर्जनाका लागि वर्तमान सरकारको महत्वाकाँक्षी तथा बहुप्रतिक्षित कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रम आगामी फागनु १ गते सुरु हुँदैछ ।
रोजगार संयोजकको पहिलो चरणको छनौट सूचि बनार्ईंदै
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मुलुकका ७ सय ५३ स्थानीय तहमा रहने रोजगार संयोजकको पहिलो छनौट सूचि आज(सोमवार) सार्वजनिक गर्ने मन्त्रालयले तयारी गरेको छ । यसका लागि मन्त्रालयले अन्तिम चरणको काम गरिरहेको बताएको छ । श्रममन्त्री गोकर्ण विष्टले आवश्यक संख्याको तीन गुणा बढी संख्यामा पहिलो चरणको छनौट सूची तयार पार्ने कार्य सकेसम्म आज(सोमवार) नै प्रकाशित हुने बताए । रोजगार संयोेजकका लागि मुलुकभरीबाट २३ हजार ९ सय ६८ जनाले आवेदन दिएका छन् । उनीहरुको परिक्षा कम्प्यूटर प्रविधि मार्फत नै गरिने र निश्पक्ष रुपमा छनौट हुने मन्त्री विष्टले बताए ।
यो पनि पढ्नुहोस् आन्तरिक रोजगारी प्रवद्र्धनको अग्नि परिक्षाः प्रधानमन्त्री रोजगार कार्यक्रम
