सनमाया रम्तेल-
मलेसियामा रोजगारी गरिरहेका नेपालीहरु विभिन्न कारणले कम्पनी छोडेर भाग्ने समस्या सवैभन्दा धेरै देखिएको छ । यसको मुख्य कारण चाहिं कतिपय कम्पनीबाट श्रमिकले काम गरेको तलव नपाउने वा पाए पनि ढिलो पाउने समस्या छ ।
यसरी कम्पनीबाट समस्या भएपछि कतिपय नेपाली रोजगारीका लागि आएको कम्पनी छोडेर भाग्ने गर्नुहुन्छ । तर मलेसिया सरकारले पछिल्लो समयमा निक्कै कडा रवैया अपनाएको छ । त्यसरी कम्पनी छोडेकाहरुसँग पासपोर्ट र कुनै कानूनी कागजात नहुने भएका कारण उहाँहरु पक्राउ पर्नुहुन्छ । त्यसैले तलव नपाएपछि चाल्ने कदमले उहाँहरुलाई झन समस्यामा पारेको छ । त्यसैले तपाई मलेसियामा कार्यरत हुनुहुन्छ, तलव पाउनु भएन वा ढिलो दिइयो भनें हामी दूतावासका तर्फबाट तपाईलाई सहयोग गर्न सक्छौं । त्यस्तो अवस्थामा हामी नेपालमा मेनपावर कम्पनीसँग कुराकानी गर्छौं । त्यति गर्दापनि भएन भनें हामीसँग कानूनी बाटो हुन्छ । हामीले गरिरहेका पनि छौं ।
जव तपाई तलव पाइएन भनेर कम्पनी छोडेर भाग्नुहुन्छ, त्यसपछि त्यो भन्दा लाखौं गुणा ठूलो समस्या तपाईको सुरु हुन्छ । मलेसियाको अध्यागमनले त्यसरी कागजात नभएका व्यक्तिलाई खोज्ने, पक्राउ गर्ने गरेको छ । त्यसैले तपाई समातिने, थुनामा पर्ने हुनसक्छ । हामी जेल वा थुनुवा केन्द्रमा भ्रमणमा जाँदा धेरैजसो नेपाली साथमा पासपोर्ट वा आवश्यक कागजात नभएका कारण पक्राउ परेर थुनामा परेको भेट्छौं ।
अर्को कुरा त्यसरी कम्पनी छोडेर भागेकाहरु नेपाल फर्किन सहयोग माग्दै दूतावास आउने गर्नुहुन्छ । तर हामीले चाहेर पनि, प्रयास गर्दा पनि तपाई कम्पनी छोडेर भाग्नु भएको हो भनें सजिलै नेपाल पठाउन सकिन्न ।
कमाउन आएको मान्छे, आर्थिक अवस्था केहि सुधारौं भनेर आएको मान्छे, थोरै सचेत नहुँदा दुःख पाउनुहुन्छ । घरपरिवारको आर्थिक अवस्था सुधार्छु भनेर आएको मान्छे जेल, थुनुवा केन्द्र हुँदै घर फर्किनुपर्दाको अवस्था कल्पना गरिसाध्यको हुन्न । हामीले गरेको जेल र थुनुवा केन्द्रको भ्रमणमा त्यो समस्या एकदमै धेरै देखिएको छ । त्यसैले बेलैमा यो कुरामा विचार पुर्याउन मेरो आग्रह छ ।
अर्को कुरा मलेसियामा रोजगारीका लागि आएका कतिपयको ६ बर्ष ८ बर्षदेखि परिवारसँग सम्पर्क नभएको पनि देखियो । मेरो आग्रह आफ्नो परिवारसँग कुराकानी गर्नुस्, सम्पर्कमा रहनुस् । आफ्नो परिवारसँग सम्वन्धलाई राम्रो बनाएर नेपाल फर्किन प्रयास गर्नुस् ।
(रम्तेल मलेसियास्थीत नेपाली दूतावासकी श्रम सहचारी हुन् । दूतावासको साप्ताहिक फेसबुक लाइभमा श्रम सहचारी रम्तेलले व्यक्त गरेको यो विचार पुष ३०, २०७५ मा प्रकाशित भएको हो ।)
यो पनि पढ्नुहोस् उद्यमी बन्न आतुर बैदेशिक रोजगारबाट फर्केकाहरु
