काठमाडौं, पुष २०–
बैदेशिक रोजगारबाट फर्केकाहरुका लागि सरकारले सहुलियत व्याजदरमा बाणिज्य बैंक मार्फत १० लाखसम्म ऋण दिने कार्यक्रम ल्याएको छ । सो कार्यक्रमका बारेमा अहिले पनि धेरै युवाले जान्न खोजेर पनि कतिपय विषयमा अलमल देखिएको छ ।
ऋण लिन चाहने त्यस्ता व्यक्तिले नजिकैको कुनै वाणिज्य बैंकमा सम्पर्क गरेर बुझ्न सक्छन् । यसैगरी बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पनि यस प्रकृयामा सहजिकरणका लागि फारम लिएर श्रम तथा रोजगार मन्त्रालयलाई बुझाउने गरी फारम संकलन गरिरहेको छ । सो ऋण लिन चाहनेहरुका लागि केहि उपयोगि जानकारीः
कार्यविधिमा बैदेशिक रोजगारबाट फर्केका युवा भन्नाले श्रम स्वीकृति प्राप्त गरी वा नगरी कुनै पनि देशमा कम्तीमा ६ महिना सम्वन्धित तालिम पेशा, व्यवसाय, क्षेत्रमा काम गरी फर्केको तीन बर्ष ननाघेको व्यक्ति हुनुपर्छ भनिएको छ ।
विदेशबाट फर्केकाहरुका लागि सरकारले १० लाखसम्म सहुलियत व्याजमा कर्जा दिने भनेको छ । यस्तो ऋण ५ बर्षका लागि लिन सकिन्छ । यस्तो कर्जा बैंकहरुले दिन्छन् । यो कार्यक्रम अन्तर्गत ऋण लिंदा बैंकले लिने व्याजमा सरकारले ५ प्रतिशत तिरिदिन्छ ।
सरकारले बैंकको आधार व्याजदरमा दुई प्रतिशत थपेर व्याज तोक्न पाइने भन्ने व्यवस्था गरेको छ । सजिलोसँग बुझ्न बैंकको कर्जाको आधार व्याज दर ८ प्रतिशत भएमा बैदेशिक रोजगारबाट फर्केका व्यक्तिले ऋण लिंदा बैंकले १० प्रतिशत व्याज लिन सक्छ । यसमा व्याजको ५ प्रतिशत सरकारले तिरिदिन्छ । त्यसैले तपाईले तिर्ने व्याज ५ प्रतिशत पर्न आउँछ । यसमा थप कुनै पनि शुल्क लिन पाइन्न । पछिल्लो समयमा सरदर ऋण लिनेले तिर्नुपर्ने व्याज ३ प्रतिशतको हाराहारीमा पर्ने सरकारी अधिकारीहरुले बताएका छन् । तर यसका बारेमा सम्वन्धित बैंकमा गएर नै बुझ्नु उपयुक्त हुन्छ ।
कति ऋण दिने, कति समय भित्र तिरिसक्नु पर्ने भन्ने कुरा बैंकले नै निर्धारण गर्न पाउँछन् । ऋण माग्नेले गर्न खोजेको कामलाई हेरेर बैंकहरु यस्तो निर्णय गर्न स्वतन्त्र हुन्छन् । त्यसैले कति ऋण दिने र त्यसको भुक्तानीको किस्ताका बारेमा बैंकले नै तय गर्छन् ।
बैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई उनीहरुमा रहेको ज्ञान तथा सीपसँग सम्वन्धित व्यवसाय सञ्चालन गर्न परियोजना नै धितामा राखेर बैंक वा वित्तिय संस्थाले ऋण दिनेछ । त्यसैले यस्तो ऋण लिन तपाईले कुनै घर, जग्गाजमिन जस्तो कुरा धितोमा राख्नु पर्दैन ।
तर ऋण लिन चाहनेले आफूले गर्न खोजेको काम के हो त्यसको भनें राम्रो तयारी गर्नु, त्यसका लागि आवश्यक पर्ने लगानीको यकिन गर्नु, लगानी गरिने क्षेत्रबाट हुने आम्दानीको लेखाजोखा राम्रोसँग गर्नु र मुख्य कुरा आफूले लिएको ऋण कसरी व्याज सहित ५ बर्षभित्रमा भुक्तानी गरिसक्छु भन्ने आधार तयार पार्नेगरी परियोजना प्रस्तावना तयार पार्नु पर्दछ । यो धेरै चुनौतिपूर्ण काम होइन । तर आफूले गर्न खोजेको कामका बारेमा आफु स्पष्ट हुन र सोही अनुसार लेख्नु पर्दछ । अरु कसैलाई पैसा दिएर परियोजना प्रस्ताव लेखाउनु भनेको पैसाको वर्वादि मात्र हो । त्यसैले आफूले के गर्न खोजेको हो, राम्रोसँग सोचविचार गरेर आफैं लेख्नु उचित हुन्छ ।
बैदेशिक रोजगारबाट फर्केका यो ऋण लिन चाहने व्यक्ति कुनै पनि देशको स्थायी बसोवास जस्तै पिआर, ग्रिनकार्ड जस्ता कुरा नलिएको हुनुपर्दछ । यस्तो ऋण लिन चाहनेले उद्यम सञ्चालन तथा ऋण उपयोग कसरी गर्ने भन्ने संक्षिप्त प्रस्ताव तयार पारेर बुझाउनु पर्दछ । यस्तो कर्जा लिन चाहनेहरुलाई आवेदन फारम भर्न यसअघि नै बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सुचना समेत निकालिसकेको छ । बोर्ड मार्फत प्रकृया अगाडी बढाउन चाहनेले पुष मसान्तभित्रमा बोर्डमा निवेदन दिन सक्नेछन् ।
जो व्यक्तिले यस्तो ऋण लिन चाहन्छन् उनीहरुले पासपोर्ट अर्थात राहदानी र भिसाको फोटोकपि तथा श्रम स्वीकृति प्राप्त भएको देशबाट फर्केकाहरुले त्यसको प्रतिलिपि बुझाउनुपर्छ । यसैगरी त्यसरी निवेदन दिने व्यक्ति कम्तीमा ६ महिना सम्वन्धित तालिम, पेशा, व्यवसाय वा क्षेत्रमा काम गरेको कागजात र त्यो मुलुकमा आफूले पिआर, ग्रिनकार्ड जस्ता कुरा लिएको छैन भन्ने आफैंले घोषणा गरेर लिखित बुझाउनु पर्छ ।
सवै प्रकृया पुर्याउँदा पनि तपाईलाई कुनै यस्तो ऋण लिन समस्या आइपरेमा नेपाल राष्ट्र बैंकले ०१–४४ ११ ४०७ मा फोन गर्न आग्रह गरेको छ ।
