काठमाडौं, कात्तिक १९-
साउदी अरवमा थुनामा परेका सुनसरीका भुपाल बस्नेतको रिहाईका लागि व्लड मनी संकलन अभियानमा हालसम्म झण्डै ७ लाख रकम संकलन भएको छ । हालसम्म ६ लाख ९३ हजार ३ सय ४ रुपैंया उनको उद्धारका लागि संकलन भएको हो । साउदी अरवमा कार्यरत विभिन्न व्यक्ति तथा संस्थाहरुले सो रकम संकलन गरेका हुन् । उनले ७५ हजार साउदी रियाल (२३ लाख हाराहारी) व्लडमनी तिर्नुपर्ने त्यहाँको अदालतले ठहर गरेको छ ।
२०७३ मा रोजगारीका लागि दोश्रो पटक साउदी अरवमा रोजगारीका लागि पुगेका बस्नेत विमानस्थलबाट नै पक्राउ परेका थिए । उनी पहिले रोजगारीका लागि गएको कम्पनी अल मजल अल अरवी ग्रुपको गाडी चलाउँदा उनले चलाएको गाडी दुर्घटनामा पर्दा एक साउदी नागरिकको ज्यान गएको थियो । सो घटनामा २५ प्रतिशत गल्ती बस्नेतको ठहर गर्दै अदालतले बस्नेतले ७५ हजार ३ सय रियाल व्लडमनी तिर्नुपर्ने फैसला गरेको थियो ।
बस्नेतले तिर्नुपर्ने सो रकम अल मजल कम्पनीले आफैंले तिर्ने गरी जिम्मेवारी लिएर बस्नेतलाई नेपाल फर्काएको थियो । तर सो कम्पनीले रकम नतिरेको अवस्थामा पुनः साउदी अरवमा अर्कै कम्पनीमा हेभि ड्राइभरको रुपमा काम गर्न साउदी पुगेका बस्नेत विमानस्थलबाट नै पक्राउ परेका थिए ।
बस्नतेको उद्धारका लागि थप आवश्यक रकम उठाउन प्रवासी नेपाली समन्वय समितिमा सचिवालय रहने गरी ७ सदस्यीय समिति गठन । सोमवार एक कार्यक्रमका बीच साउदी अरवमा संकलित रकम बस्नेतको उद्धारका लागि खोलिएको कोषमा हस्तान्तरण गरियो ।
