दुवई, असोज २८-
नेपालबाट पुनः रोजगारीमा युएई आउन नपाउने भएपछि सयौं नेपाली घरेलुु कामदार महिला अत्वश्यक छुट्टी वा लामो विदामा पनि घर जान नपाएको विषय युएईको सञ्चार माध्यमले उठाएको छ । युएईको अनलाईन गल्फ न्यूजले नेपाली महिलाले भोग्दै आएको समस्याका बारेमा समाचार छापेको हो ।
यसअघि बैधानिक रुपमा नै युएई आएका नेपाली पछि नेपाल सरकारले नीति परिवर्तन गर्दै घरेलु काममा युएई आउन नदिने नीति लिएपछि घर फर्किन नपाएको समाचारमा उल्लेख छ । दशैंको समयमा चाहेर पनि घर आउन नपाउने सयौं नेपाली महिला दुवईमा रहेको उल्लेख छ । उनीहरु बाध्यतावस युएईमै कार्यरत रहेको र दुई देशबीचको सरकारबीच द्धिपक्षिय श्रम सम्झौता नभएका कारण यो समस्या सिर्जना भएको गल्फ न्यूजको समाचारमा जनाइएको छ ।
युएईका लागि नेपाली कार्यवाहक राजदूत सागर प्रसाद फुँयालले घरेलु कामदारलाई सम्वोधन गर्नेगरी द्धिपक्षिय श्रम सम्झौता हुन सकेमा यो समस्या अन्त्य हुन सक्ने बताए । उनले द्धिपक्षिय सम्झौताको अभावमा समस्या सिर्जना भएको तर्क गरेका छन् । नेपाल र युएईबीच छिट्टैै सम्झौता हुने उनले आशा पनि प्रकट गरे ।
समाचार अनुसार युएई पनि नेपालसँग छिट्टै श्रम सम्झौता गर्न तत्पर रहेको छ । युएईका एक उच्च अधिकारीलाई उधृत गर्दै समाचारमा सन् २०१९ को मार्च भित्रै एमओयू हुने युएईले अपेक्षा गरिएको जनाइएको छ । युएईको मानव संशाधन मन्त्रालयका सहायक उपसचिव डा. ओमर अल नुआमीले नेपाली घरेलु कामदार लिने विषयमा नेपालसँग सम्झौता गर्न युएईले अध्ययन गरिरहेको बताएका छन् । नेपाली कामदार राम्रा रहेको भन्दै उनीहरुलाई युएईले स्वागत गर्ने उनले बताएका छन् ।
