काठमाडौं, भदौ १-
मलेसियामा अवैधानिक रुपमा बसेको अभियोगमा पक्राउ गर्न चलाइएको ओपिएस मेगा थ्री अभियान तत्काल रोक्न अधिकारकर्मीहरुले माग गरेका छन् । उनीहरुले धरपकड रोकेर तत्काल समस्या समाधानको बाटो खोज्न अपिल गरेका छन् ।
माइग्रेण्ट वर्कर्स राईट टु रिड्रेस कोलिसन(एमडव्लुआरटुआर) का तर्फबाट विज्ञप्ती जारी गर्दै अभियानले आप्रवासी कामदारलाई अपराधीको जस्तो व्यवहार गरेको भन्दै यो जायज नभएको जनाइएको छ । सरकारले समस्याको चुरो फेला नपारी गरेको यो काम रोकिनु पर्ने र यस्तो अभियानले कागजातविहिन भएर बसिरहेका आप्रवासी कामदार सम्वन्धि समस्या समाधान नहुने उनीहरुले जनाएका छन् ।
मलेसियाको आर्थिक व्यवस्थामा आप्रवासी कामदारको ठूलो योगदान रहेको भन्दै विज्ञप्तीमा यसले मुलुकको अर्थतन्त्रलाई धरासायी बनाउनेमा सचेत गराइएको छ । नयाँ सरकारले यो धरपकड अभियानलाई रोक्नेमा अधिकारकर्मीहरुले विश्वास व्यक्त गरेका छन् ।
प्रहरीले परिचयपत्र भएका शरणार्थी, रोजगारदाताले कागजात राखिदिएकाहरु, रोजगारदाताले कागजात नविकरण नगरिदिएकाहरु तथा नविकरणका प्रकृयामा रहेकाहरुलाई समेत अन्धाधुन्द पक्राउ गरिएकोमा विज्ञप्तीमा असन्तुष्टि जनाइएको छ ।
ओपिएस ओमेगा थ्री अभियान तत्काल रोक्न, समस्या समाधानको वृहत योजना तयार पार्न सरोकारवालाहरु बीच सहकार्य गर्न अपिल गरिएको अभियन्ता मध्येका एक नर्थ साउथ ईनिसिएटीभका कार्यकारी निर्देशक एड्रिन परेराले बताए । यस अघि पनि मलेसियाका अधिकारकर्मीहरुले आप्रवासी कामदारमाथि हुँदै आएको धरपकडको विरोध गर्दै आएका छन् ।
यो पनि पढ्नुहोस् मलेसिया र नेपाल सहमति नजिक
