अम्विका दाहाल, खोटाङ, बैशाख २७-
बैदेशिक रोजगारका क्रममा विदेशमा ज्यान गुमाएका वा पूर्ण रुपमा अंगभंग भएका व्यक्तिका छोराछोरीको नाममा राज्यले उपलव्ध गराउने छात्रवृत्ति स्वरुप भन्दै तीनजनाको नाममा जिल्लामा आइपुगेको रकम महिनौ वितिसक्दा पनि अलपत्र भएको छ । सो छात्रबृत्ति रकम लिन कोहि नआएपछि र छात्रवृत्तिका लागि उल्लेख गरिएको विद्यालय नै जिल्लामा नभेटिएपछि रकम अलपत्र परेको हो ।
बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले गत असोज ८ गतेको मितिमा पठाएको पत्र अनुसार खोटाङको चण्डी ब्राइट फ्युचर बोर्डिङ स्कूलमा अध्ययनरत भन्दै तीनजना बालबालिकाका लागि जनही ८ हजारका दरले २४ हजार रकम पठाइएको छ । तर सो नामको विद्यालय जिल्लामा नै नभेटिएको भन्दै रकम हालसम्म जिल्ला शिक्षा कार्यालयको खातामा नै रहेको छ ।
पत्र अनुसार सो रकम कक्षा १ मा अध्ययनरत कुमार बस्नेत, कक्षा ४ मा अध्ययनरत हरि बहादुर बस्नेत तथा कक्षा ८ मा अध्ययनरत सिरता बस्नेतको नाममा पठाइएको छ । जिल्ला शिक्षा कार्यालयले सो रकम केन्द्रमा नै फिर्ता पठाइदिने तयारी गरेको छ ।
यसैबीच बैदेशिक रोजगारका क्रममा मृत्यु भएका वा पूर्ण रुपमा अंगभंग भएका व्यक्तिका सन्तानलाई उपलव्ध गराइने छात्रबृत्तिका बारेमा विद्यालयका प्रधानाध्यापकहरु नै अलमलमा देखिएका छन् ।
केन्द्रबाट प्रवद्र्धन बोर्ड मार्फत आएको रकम जिल्ला शिक्षा कार्यालयले बिद्यालयहरुको खातामा हालिदिए पनि बिद्यालयका प्रधानाध्यापकहरुलाई सो रकम किन आएको हो र कसलाई दिने भन्ने जानकारीको अभाव देखिएको हो ।
केहि बिद्यार्थीले सुचनाकेन्द्र मार्फत छात्रबृत्तिको रकम आएको थाहा पाएर लिए पनि केहिले भने हालसम्म पनि अघिल्लो वर्षको छात्रबृत्ति लिएका छैनन । अघिल्लो वर्ष खोटाङमा २२ जनाको छात्रबृत्ति स्वरुप वैदेशिक रोजगार प्रबद्र्धन वोर्डले जिल्ला शिक्षा कार्यालयमा १ लाख ८४ हजार रकम पठाइदिएको थियो । जिल्ला शिक्षा कार्यालय, खोटाङले भनें श्रोत ब्यक्तीहरु मार्फत खबर पठाइएको जनाएको छ ।
यो पनि पढ्नुहोस् विदेश बस्नेहरुले नेपालका ससाना कुराहरु सम्झिरहेको पाउँछुः नायिका अधिकारी
