काठमाडौं, बैशाख २१-
ओमनको सरकारी निकायमा कार्यरत नेपाली कामदारलाई वैदेशिक रोजगार कार्यालयले पुनः श्रम स्वीकृति नदिँदा बिदामा आएका कामदार रोकिएका छन् ।
ओमनको रोयल कोर्ट अफियर्स, रोयल कोर्ट अफ दिवान, रोयल गार्ड अफ ओमन, मस्कट नगरपालिका लगायत विभिन्न सरकारी निकायमा कार्यरत नेपाली कामदारले पुनः श्रम स्वीकृति नपाएका हुन् । यी निकायमा ५ सयभन्दा बढी पुरुष नेपाली कार्यरत छन् । उनीहरू ती निकायमा १२ वर्षदेखि कार्यरत थिए । ओमनका सरकारी निकायमा पछिल्लो सात वर्षदेखि नयाँ नेपाली कामदार भर्ना भएका छैनन ।
वैदेशिक रोजगार विभागले यी निकायमा कार्यरत नेपाली घरेलु कामदारको अनुसूचीमा पर्ने देखिएकाले पुनः श्रम स्वीकृति दिन नमिल्ने जनाएको छ । ‘संसदीय समितिबाटै घरेलु कामदारमा जानेको पुनः श्रम स्वीकृति जान रोकेको छ,’ विभागका महानिर्देशक भुवन आचार्यले भने, ‘घरेलु कामदार निर्देशिकाअन्तर्गत पर्नेलाई दुई देशबीच श्रम सम्झौता नभएसम्म पुनः श्रम स्वीकृति दिन मिल्दैन ।’ कान्तिपुरबाट