काठमाडौं, बैशाख ३-
श्रम रोजगार तथा सामाजिक विकास मन्त्री गोकर्ण विष्टले बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका सदस्यहरुसँग मन्त्रालयमा छलफल गरिरहेका छन् । छलफलमा विभिन्न विषयमा छलफल भइरहेको बैठकमा सहभागि बोर्डका एक सदस्यले जानकारी दिए ।
एनका अनुसार सरकारले विदेशमा थुनामा रहेका तथा कानूनी प्रतिरक्षा आवश्यक परेका नेपालीलाई सहयोग गर्ने व्यवस्था मिलाउने विषयमा छलफल भइरहेको छ । यसका लागि नेपालीका प्रमुख गन्तव्य मुलुकहरुमा वकिल मार्फत त्यस्तो सहयोग गर्न लागिएको हो ।
यसअघि नै बैदेशिक रोजगार नियमावलीे संशोधन गरी कानूनी सहयोग गर्ने व्यवस्था गरिसकिएको भएपनि सो कार्यान्वयन हुन सकेको थिएन । बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले त्यसका लागि आवश्यक फाइल मन्त्रालयमा पठाएको भएपनि श्रम तथा रोजगार मन्त्रालयमा सो फाइल लामो समयदेखि अड्कीएको छ ।
बैठकमा यस बारेमा छलफल भइरहेको र यसका लागि तत्काल आवश्यक प्रकृया पुरा गर्न मन्त्री गोकर्ण विष्टले निर्देशन दिएको बैठकका एक सहभागिले बताएका छन् । उनले अव यसमा बाटो फुकेको भन्दै सम्भवतः आजै यसबारेमा कुनै निर्णय हुने जानकारी दिए ।
यसैगरी बैठकमा विभिन्न गन्तव्य मुलुकसँग भएको श्रम सम्झौताको अध्ययन गर्न, थप मुलुकसँग श्रम सम्झौता तथा न्यूनतम तलव पुनरावलोकन गर्न कार्यदल बनाउने विषयमा पनि छलफल भइरहेको छ । बैठकका ति सहभागिका अनुसार नेपाली धेरैजसो रोजगारीमा जाने गरेका मुलुकमा राजदूत भएर फर्केकाहरुलाई राखेर कार्यदल बनाउने गरी छलफल भइरहेको हो ।
बैठकमा बैदेशिक रोजगारमा जाने नेपालीको नेपालका सरकारी अस्पतालबाट नै स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाउने विषयमा पनि हालसम्म भएको प्रगतिको विषयमा छलफल भयो । यसअघि मन्त्री हुने वित्तिकै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विभिन्न नाममा रहेको सिण्डिकेट तोड्ने बताएका थिए । मन्त्रीको संकेत मलेसिया जाने कामदारसँग विभिन्न नाममा रकम उठाउनेहरुसँगै गाम्का लगायतको नाममा भइरहेको स्वास्थ्य परिक्षणको सिण्डिकेट पनि एक हो ।
मन्त्री विष्टले यसअघि नै युएई र कतारका राजदूतसँग पनि नेपालका सरकारी अस्पतालले गर्ने स्वास्थ्य परिक्षणलाई नै गन्तव्य मुलुकले मान्यता दिने विषयमा छलफल गरिसकेका छन् । हाल यसबारेमा अध्ययन गर्न स्वास्थ्य मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यदल नै बनाएर काम थालिसकेका छन् ।
यो पनि पढ्नुहोस् विदेशबाट स्वदेश फर्कौ, आफ्नै देश बनाउन जुटौः धुर्मुस