प्रभातकुमार मिश्र, जनकपुर, चैत्र २९-
धेरै कमाउने भए सिंगापुर जानु तर पैसा अलिक तिर्नुपर्छ एजेण्टले सुरुमै गतिलो कमाईको लोभ देखाएपछि महोत्तरीका श्यामदेव यादव सहितको समुह जालमा फसिसकेको थियो । उनीहरुले त्यहि गतिलो कमाई हुने सपना मात्र देखे तर त्यहि सपनाले उनीहरुलाई डुवाउँदै गरेको भेउ नै पाएनन् । अन्ततः उनीहरु अहिले आफ्नो फसेको रकम उठाइदिन हारगुहार गर्दै हिंडिरहेका छन् ।
धनुषाका श्याम देव यादव, राम राउत, मुसाफिर राउतले एजेण्टले सपना देखाएर नै उठाएको प्रतिव्यक्ति ४ लाख रकम फिर्ता दिलाइदिन आग्रह गर्दै जनकपुर स्थीत सुचना तथा परामर्श केन्द्रमा निवेदन दिएका छन् । उनीहरुले रामेछापका दिपक कुमार पन्थ, छुनाम कुमार बाल तथा केशव बहादुर शाहीले मिलेर आफूहरुलाई ठगेको भन्दै निवेदन हालेका छन् ।
पन्थ लगायतको टोलीले सुरुमा उनीहरुलाई सिंगापुर पठाइदिने आश्वासन दिएको थियो । पछि जापान हुँदै धेरै कमाई हुने युरोपेली मुलुक ग्रिसमा कृषि कामदारका रुपमा पठाउने भन्दै काठमाडौं बोलाएर प्रतिव्यक्ति रु १ लाख र पासपोर्ट लिएका थिए । त्यसपछि थप रकम तत्काल चाहिएको भन्दै पन्थले ताकेता गरेपछि मुसाफिर राउतका आफन्त मार्फत उनीहरुले पन्थको नाममा रु २ लाख ८० हजार आइएमई मार्फम रकम बुझाएका थिए ।
त्यसपछि पनि विभिन्न चरणमा गरेर थप रकम माग्दै एजेण्ट पन्थको समुहले पीडितहरुबाट १२ लाख(प्रतिव्यक्ति ४ लाख) उठाएको र अन्ततः उनीहरु टर्कीको पर्यटक भिषा थमाएर बेखवर भएको पीडितको गुनासो छ । यो भिषा पनि जाँच गराउँदा नक्कली भएको पाइएको भन्दै उनीहरुले आफूहरुको रकम फिर्ता गर्न सहयोग गरिदिन आग्रह गरेका छन् ।
ठगि प्रकरणमा भारतमा बस्ने अर्का एजेण्ट रोहित राना पनि संलग्न भएको पीडितको भनाई छ । उनको भारतीय मतदाता परिचयपत्रको प्रतिलिपि समेत पीडितहरुले निवेदनका साथ बुझाएका छन् । तर सो कार्डमा एउटा अक्षर नेपालीमा लेखिएको देखिएका कारण सो कार्ड नक्कली भएको सहजै अनुमान लगाउन सकिन्छ ।
पछिल्लो समयमा टर्कीमा पर्यटकको भिषामा नेपालीलाई पठाएर अलपत्र पार्ने क्रम बढ्दै गएको छ ।
यो पनि पढ्नुहोस् कुन मेनपावर कम्पनी कस्तो ? अव अनलाइनबाट नै थाहा पाइने
