दोहा, चैत्र १२-
कतारमा कामदारको उजुरीको सुनुवाई गर्ने संयन्त्रले काम थालेको छ । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालय अन्तर्गत गठन गरिएको ‘श्रम विवाद समाधान’ समितिले अघिल्लो हप्तादेखि काम थालेको हो ।
कतार न्यूज एजेन्सीलाई उधृत गर्दै गल्फ टाइम्ले सो मन्त्रालयको श्रम मामिला विभागका प्रमुख फद जाफिर अल दोसारीले समितिको लक्ष्य कामदारको उजुरी छिटो भन्दा छिटो हल गर्ने रहेको बताएको समाचार छापेको छ ।
समाचार अनुसार पारिश्रमिक नपाएका कामदारका लागि समितिले निर्णय गरे अनुरुप रकम उपलव्ध गराउन श्रमिक सहायता कोष स्थापना गर्न लागेको र सो वापतको रकम सरकारले सम्वन्धित कम्पनीबाट असुल उपर गर्ने जनाइएको छ ।
तलव सुविधा नपाएका कामदारले कहाँ उजुरी गर्न सक्छन् ?
समस्यामा परेका कामदारले अव दफ्ना स्थित अलहुदा टावरको पहिलो तल्लामा रहेको श्रम उजुरी विभागमा उजुरी दिन सक्नेछन् । यसैगरी सनैया(औद्योगिक क्षेत्र)मा रहेको मन्त्रालयको कार्यालय, अलखोरमा रहेको मन्त्रालयको कार्यालय तथा निजी क्षेत्रमा काम गर्ने कतारी नागरिकको लागि दफ्ना स्थित अल फैसल टावर को २९ औं तल्लामा रहेको मन्त्रालयको कार्यालयमा उजुरी दिन सक्नेछन् ।
यो पनि पढ्नुहोस् ग्रामिण क्षेत्रमा बैदेशिक रोजगारबारे जनचेतना जगाएको सम्मानः बालकुमारीलाई राष्ट्रिय पुरस्कार
