काठमाडौं, फागुन १८-
रोजगारीका लागि अष्ट्रेलिया पठाइदिने भन्दै ७ जनाबाट ६१ लाख ठगेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नेपाल जव प्लेसमेण्ट नामको मेनपावर कम्पनीका सञ्चालक रोशन कार्कीसँगै एजेन्टका रुपमा सघाउने पुजा प्याकुरेल भुजेल तथा उनका श्रीमान शक्ति भुजेल छन् ।
फुड प्याकको काममा पठाउने भन्दै कार्की लगायतले आफूहरुसँग रकम उठाएको र दिल्लीसम्म पुर्याएर अलपत्र पारेको भन्दै पीडितहरुले नेपाल फर्केर प्रहरीमा उजुरी गरेका थिए । कार्की मार्फत मोरङका पुजा प्याकुरेल भुजेल, सन्तोष श्रेष्ठ हुँदै उनीहरु भारत पुगेका थिए । भारतको दिल्लीस्थीत एक होटलमा एक महिना बस्दा समेत भिषा नआएपछि आफूहरु ठगिमा परेको निश्कर्ष सहित पीडितहरु घर फर्केका थिए ।
ठगिमा पर्नेहरुमा पवन भण्डारी, मिङमार शेर्पा, रविन्द्र श्रेष्ठ, राजकुमार मगर, सन्दिप गुरुङ, कुमार मगर र ज्ञानकुमार लामा रहेका छन् । उनीहरुबाट पटक पटक गरी ६१ लाख ठगेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई प्रहरीले ठगि र बैंकिङ कसुर मुद्धामा अनुसन्धान गरिरहेको जनाएको छ ।
यो पनि पढ्नुहोस् युएई जान खर्च बढ्यो, दुःख पनि थपियो
