कपिलवस्तु, माघ २७-
वाणगंगा–१ जीतपुरका अर्जुनप्रसाद पोख्रेलले व्यावसायिक मौरीपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन्। गाउँघरमा शिक्षकको परिचय बनाएका पोख्रेलले अब भने व्यावसायिक मौरीपालक किसानका रुपमा परिचय बनाउन थालेका हुन्।
उमेरले ४५ वर्ष काटेका उनले डेढ दशकदेखि व्यावसायिक मौरीपालन पेशा अँगाल्दै आएका छन्। २० घार मौरीबाट व्यवसाय सुरु गरेका उनले अहिले बढाएर १ सय घार पुर्याएका छन्। आफ्नै घर वरिपरिको सात रोपनी क्षेत्रफलमा व्यवसाय गरेका पोख्रेलले अबको केही महिनापछि एक हजार घार मौरी पाल्ने योजना बनाएका छन्।
१ सय घार मौरीबाट उनले वार्षिक ४० क्विन्टल मह उत्पादन गर्दै आएका छन्। मौरीको मह, मैन र गोला गरी वार्षिक ३० लाखसम्म आम्दानी हुने गरेको पोख्रेलले बताए। अहिले प्रतिकिलोग्राम महको मूल्य ८०० रुपैयाँ छ। त्यस्तै मौरीसहितको घारलाई सात हजार र प्रतिखाली घार तीन हजारका दरले बिक्री हुने गरेका छन् ।
सबै खर्च कटाएर कम्तीमा पनि वार्षिक १५ लाख बचत हुने उनको भनाइ छ। उनले उत्पादन गरेको मह प्रदेश नं ५ मा सबै जिल्लाका साथै काठमाडौँमा समेत जाने गरेको छ।
अर्थशास्त्र र समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका पोख्रेलले काममा सानो ठूलो केही नहुने बताउँछन् । श्रीमान् श्रीमती मिलेर मौरीपालन व्यवसाय शुरु गरेका पोख्रेलले आफूबाहेक अन्य पाँच जनालाई समेत रोजगारी दिएका छन् ।
देशका लाखौँ युवा विदेशको खाडीमा छन् । उनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी नेपाल फर्काउनुपर्ने उनको भनाइ छ । यो व्यवसाय पढेलेखेकाले पनि गर्न सकिन्छ भनेर आफैँले सुरुआत गरेको पोख्रेलको भनाइ छ ।
नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्षसमेत रहेका पोख्रेल देशलाई महमा आत्मनिर्भर बनाउने अभियानमा आफू लागेको बताए। अझै पनि मह उत्पादनमा देश आत्मनिर्भर नभएको उनले बताए। अझै पनि राज्यले ६० प्रतिशत मह विदेशबाट निर्यात गर्दै आएको उनको दाबी छ। रासस
