रञ्जना लम्साल, कावासोती, माघ १०-
चरी जालमा पार्न के गरिन्छ ? चारा हालेर जाल थापिन्छ । हो, त्यसरी नै विदेश जानेहरुलाई फसाउन धेरै कमाउने सपनाको जाल थाप्छन् एजेन्टहरुले । यसरी नै जालमा पर्ने मध्येका एक हुन् नवलपरासी हुप्सेकोट ४ का प्रेम बहादुर सारु ।
नेपालमा जेसिबी (डोजर) सह–चालकको रुपमा काम गर्ने सारुले बिदेश जानुभन्दा ३ महिना अगाडी चालक अनुमतिपत्र निकालेर डोजर चालकको रुपमा काम गर्न थालेका थिए । मासिक तलब थियो १० हजर । थप प्रति घन्टा २ सय ५० भत्ता पाउँथे उनी । सवै जोड्दा महिनामै ७५ हजार कमाई हुन्थ्यो । यसरी कमाउन थालेको ३ महिना जति भएको थियो । यस बिचमा उनको भेट गाउँका टेक बहादुर रजालीसँग भयो ।
डोजर चालकको माग बिदेशमा झन् धेरै रहेको र बिदेश गएमा दोव्वर कमाई हुने आश देखाए रजालीले । यसले सारुको मनमा कमाईको सपना बढ्यो । नेपालमा कमाएको ७५ हजार कम लाग्न थाल्यो उनलाई । त्यसैले विदेश जाने हुटहुटी सुरु भयो ।
एजेण्ट रजालीको पछि लागेर उनी एमास्को नेपाल नामको मेनपावर कम्पनीमा पुगे । त्यहाँबाट आवश्यक प्रकृया अगाडी बढाए उनले । १ लाख ११ हजार एजेन्टलाई बुझाएर सारु पुगे साउदी अरेविया ।
काम जानेका थिए डोजर चालकको । तर भिषा आयो लेवरको । मेनपावर कम्पनीका मान्छे र एजेन्टले गन्तव्य मुलुकमा पुगेपछि डोजर चालकको नै काम पाउने आश्वस्त पारे उनलाई । तर त्यो नेपालमा भनिएको कुरा मात्रै थियो । साउदी पुगेपछि उनको सवै सपना चकनाचुर भयो ।
उनी विदेश उड्नु अघि नै मेनपावर कम्पनीले एउटा चलाखी गरिसकेको थियो । उनीसँग बिदेशमा गएर लेवरको काम गर्ने र भोली काम नपाएर फर्किएको अवस्थामा पनि कुनै उजुरी नगर्ने लगायतको शर्त राखेर एउटा तमसुक बनाइएको थियो । त्यसैले भाग्यलाई दोष दिंदै कतै उजुरी गरेर केही नहुने ठानेर चुपचाप बसे सारु परिवार पनि ।
५ महिना बितिसक्दा पनि उनले न काम गर्न पाउँछन् न त पैसा नै । खान समेत मुस्कील भएपछि उनको उद्धारको लागि परिवार हारगुहार गरिरहेका छन् । आफ्ना श्रीमानलाई साउदीबाट उद्धार गरिदिन आग्रह गर्दै सुचना केन्द्र, कावासोती आईपुगेकी श्रीमती हिमसरी भन्छिन, बरु केहि चाहिदैन मेरो श्रीमानलाई नेपाल झिकाईदिनुस ।
नेपालमा बाख्रा पालेर जसोतसो २ छोराछोरीको पालनपोषण गरिरहेकी छन् हिमसराले । उनले भनिन् लाखौं कमाउन भनेर साउदी हिडेका श्रीमानले ५ महिनामा पठाएको भनेको २ सय ८२ रुपैंया हो त्यो पनि मोबाईलमा रिचार्ज गरेको । आफ्ना श्रीमानलाई स्वदेश फर्काइदिन आग्रह गर्दा मेनपावर कम्पनीले एक दुई दिन भन्दै झुलाईरहेको हिमसाराले बताइएन् ।
मेनपावर कम्पनीले भोली ठगि विरुद्ध उजुरी दिन नपाउने गरी तमसुक गराएपनि सो घटनामा उजुरी लाग्ने पिपुल फोरमका कानून अधिकृत राजेश भण्डारीले बताएका छन् । त्यसैले सुचना केन्द्रले सारु परिवारलाई उजुरी दिन काठमाडौं पठाइएको जनाएको छ ।
यो पनि पढ्नुहोस् आप्रवासनको विषय हेर्ने राष्ट्रसंघको विशेष टोली नेपाल आउँदै
