सन्तोष कुमार राई, खोटाङ्ग, पुष २१-
खोटाङ्गको रुपकोट मझुवागढी नगरपालिका र हलेसि तुवाचुङ्ग नगरपालिकाका फरक–फरक वडाहरुको १६ वटा स्थानहरुमा बैदेशिक रोजगार सम्बन्धि अभिमुखिकरण सञ्चालन गरिएको छ । सो अवशरमा सामी परियोजनाले दिने निःशुल्क सेवाका बारेमा जानकारी गराउनुका साथै बैदेशिक रोजगारमा जाँदा सीप तालिमको महत्व, कागजपत्रहरुको प्रतिलिपी राख्दा हुने फाइदाका बारेमा जानकारी गराइयो ।
यस्तै बैदेशिक रोजगार सम्बन्धि बिभिन्न समस्या र समाधानका उपाय, बैदेशिक रोजगारमा जाँदा अपनाउनु पर्ने प्रक्रियाहरुको बारेमा छलफल भएको थियो । यसैगरी सुरक्षित बैदेशिक रोजगार टोल बनाउन अभिमुखिकरण सँगै सामाजिक नक्साको माध्यमबाट अभियानको थालनी समेत गरिएको छ ।
बिदेश गएका व्यक्तिको घर, जान लागेकाहरुको घर, सीप सिकेर गएका व्यक्तिको घर, करार अवधि भन्दा बढि बसेको, सुरुमा गएको रोजगारदाता छोडेर अन्यत्र काम गरिरहेको व्यक्तिको घरको नक्सामा पहिचान गरि कागजपत्रहरुको फोटोकपी नभएकोहरु, करार अवधि भन्दा बढि बसेका र सुरुमा काम गर्न गएको रोजगारदाता छोडेर अन्यत्रै काम गरिरहेकाहरु असुरक्षित वा खतरा भएको भन्दै उनीहरुको घरलाई नक्सामा खतराको संकेतबाट देखाउने गरिएको छ ।
आफ्नो घरलाई खतराको संकेतबाट हटाउन कागजपत्रहरुको फोटोकपी नभएकोहरुले कागजपत्रहरु मगाउने, करारअवधि भन्दा बढी र सुरुमा काम गर्न गएको रोजगारदाता छोडेर अन्यत्र काम गर्न नहुने जस्ता कुराको महशुश सहभागीहरुलाई नक्साको माध्यमबाट गराईएको थियो ।
कार्यक्रममा सहभागी भएका निर्मलीडाँडा पेलुङ्ग निवासी शेर बहादुर कटुवालले आफूले ऋण खोजिदिएका ८ जना विदेश गएको तर कसैको पनि कमाई राम्रो नभएको भन्दै कतिपयले त ऋण समेत तिर्न नसकेको बताए । उनले सीप नसिकी जाँदा विदेशमा कमाई पनि राम्रो नहुने गरेको बुझेको भन्दै विदेश जानु अघि सीप सिक्न आग्रह गरे । उनले भने ‘मैले ऋण लगानी गराइदिएकाहरु बिना सीप सबै लेवरको काममा गएका छन् अनि कसरी कमाउन् त पैसा ?’ उनले आफूले समेत अरुसँग सापटी लिएर ऋण लगानी गरिदिएको र विदेश गएकाहरुले समयमा ऋण तिर्न नसक्दा आफूलाई पनि अप्ठ्यारो परेको बताए । त्यसैले अव देखि विदेश जानेहरुलाई पैसा लगानी गराइदिनु परेमा सीप सिकेका वा काम जानेकोहरुलाई त्यो पनि प्रमाण पत्र लिएकाहरुलाई मात्र खोजिदिने कटुवालले बताए ।
पढेलेखेकालाई पनि थाहा छैन कागजातको महत्व
शिक्षक कृष्ण केसीका छोरा कतारमा छन् । तर उनका छोरा बिदेश जाँदाको कुनै पनि कागजपत्रहरु घरमा छैनन् । कार्यक्रममा सहभागि रहेका शिक्षक केसीले बिदेश जानेहरुको सम्पुर्ण प्रमाण भनेकै कागजपत्रहरु रहेछ भन्ने त्यहि कार्यक्रममा बुझेको बताए । उनले भनेः कुनै समस्या भएमा सहयोग तथा क्षतिपुर्ती पाउनको लागि पनि त्यही कागजपत्रहरु चाहिदो रहेछ ।
अवदेखि विदेश जानेहरुलाई घरमा एकप्रति कागजात छोडेर जान आफूले सुझाव दिने उनले बताए । यसैगरी बिदेशमा गएर राम्रो कमाई गर्न सीप नै चाहिदो रहेछ भन्ने पनि बुझेको शिक्षक केसीको भनाई छ । बैदेशिक रोजगारमा जाँदा काम जानेको छ भने सुरक्षित हुने, बढी कमाई हुने, बढी ईज्जत प्राप्त हुने र पदोन्नती हुने रहेछ भन्ने जानकारी पाएपछि आफूले जानेको कुरा गाउँमा अरुलाई पनि बताउन आवश्यक रहेको शिक्षक केसीको भनाई छ ।

हलेसि तुवाचुङ्ग नगरपालिका ८ धितुङ्ग बुलामा पनि अभिमुखिकरण सम्पन्न भयो । सो अभिमुखिकरणकी एक सहभागी फुलमाया सार्कीले भनिनः काम सिकेर अन्तरवार्ता पास गरेर बिदेश जाँदा काम पनि राम्रो पाइने र दाम पनि बढी कमाईने रहेछ । उनले अव देखि बिना सीप बिदेश जानेलाई पैसा नखोजिदिने र अरुलाई पनि यसको बारेमा जानकारी गराउने बताइन् ।
बैदेशिक रोजगार पछिल्ला केहि बर्षयता बहुसंख्यक नेपालीको सरोकारको विषय बनेको छ । हाम्रा कोहि न कोहि आफन्त, साथिभाई, परिवारका सदस्य या त रोजगारीको क्रममा बिदेशमा छन् वा जाने तयारीमा छन् । तर बैदेशिक रोजगारमा जाँदा धेरैकुरा थाहा पाएर मात्र जानु पर्दछ । नत्र यो जोखिमपूर्ण पनि हुनसक्छ ।
यहि कुरालाई मध्यनजर गर्दै बैदेशिक रोजगारीमा गएका देखि जाने सम्भावना भएकाहरुलाई समेत लक्षित गर्दै उनीहरुको बैदेशिक रोजगारको यात्रा सुरक्षित, मर्यादित, भरपर्दाे तथा उपलब्धिमुलक बनाउने उद्धेश्यले खोटाङ्गका टोल र बस्तीस्तरमा समुदायस्तरीय अभिमुखिकरण कार्यक्रम सञ्चान हुँदै आएको छ ।
हेल्भेटास स्वीस ईटरकोअपरेशन नेपालको साझेदरीमा नवकिरण सेवा समाज नेपालद्घारा सञ्चलित सुरक्षित आप्रवाशन परियोजन (सामी)ले समुदाय अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै समुदाय तथा बस्तीस्तरमा बैदेशिक रोजगारमा जाने सम्भावना भएका व्यक्ति, बैदेशिक रोजगारमा गएका व्यक्तिका परिवार लगायत सरोकारवालाहरुलाई बैदेशिक रोजगार सम्बन्धि जानकारी गराउँदै आएको छ ।
यो पनि पढ्नुहोस् पिडितको गुनासोः उजुरी दियो, सुनुवाई नै हुन्न, कस्तो हो कानून ?
