काठमाडौं, पुष १२-
घुमिफिरी रुम्जाटार भनेजस्तै बैदेशिक रोजगारमा नेपालीको पहिलो गन्तव्य मुलुक पुनः मलेसिया बनेको छ । तीन बर्षअघि मलेसिया नेपालीको पहिलो गन्तव्य मुलुक रहेकोमा पछिल्ला दुई बर्ष मलेसिया जाने नेपालीको संख्या ठूलो मात्रामा ओरालो लागेको थियो । दुई बर्षअघि साउदी अरवले मलेसिया जाने कामदारको संख्यालाई जितेको थियो भनें गत बर्ष कतार पहिलो रोजाईको गन्तव्य मुलुक थियो । तर गत साउन देखि कात्तिक भित्रको चार महिनामा पुनः मलेसिया जाने कामदारको संख्या पहिलो स्थानमा देखिएको छ ।
नेपालले फ्रिभिसा, फ्रिटिकटको व्यवस्था गरेपछि चिढिएको मलेसियाले नेपाली कामदार लिन निरुत्साहित गरेपछि तथा त्यहाँको असुरक्षा र रिंगिटको भाउ घटेपछि मलेसिया जाने नेपालीको संख्यामा ठूलो मात्रामा कमि आएको थियो । तर पछिल्लो समयमा खाडीका देशमा देखिएको समस्याका कारण मलेसिया पुनः नेपाली कामदारको पहिलो गन्तव्य मुलुक बनेको हो । मलेसिया जाने नेपालीको संख्या बढेसँगै कतार तथा साउदी अरेविया जानेहरुको संख्या भनें घटेको छ ।
बैदेशिक रोजगार विभागको तथ्याँक अनुसार चालु आर्थिक वर्षको चार महिनामा ४० हजार ५ सय ७३ जना मलेसिया गएका छन् । यो अघिल्लो आर्थिक बर्षको सोही अवधिको भन्दा १३ प्रतिशत बढि हो । आर्थिक वर्ष २०७३–०७४ को साउनदेखि कात्तिकभित्र २४ हजार ६ सय ८६ जना मलेसिया गएका थिए ।
कतार, साउदी जाने घटे, युएई जाने बढे
दुई बर्ष अघिको नेपालीको पहिलो रोजगार गन्तव्य मुलुक साउदी जाने कामदारको संख्यामा यस आर्थिक बर्षको पहिलो चार महिनामा १२ दशमलव ५ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष ३१ हजार ८ सय ८१ जना साउदी गएकोमा यस वर्षको सोही अवधिमा १५ हजार ९ सय २१ जना मात्रै साउदी गएका छन् ।
अघिल्लो आर्थिक वर्षमा पहिलो रोजाईमा परेको कतारमा ७ दशमलव २ प्रतिशतले कमी आएको छ । सुरुका चार महिनामा ३९ हजार ७ सय ९ जना नेपाली कामका लागि कतार पुगेका थिए । तर यो संख्या घटेर चालु आर्थिक वर्षमा ३० हजार ३ सय ५८ मा झरेको छ ।
खाडीका अन्य देशमा रोजगारीका लागि जाने कामदारको संख्या घटेपनि युएई जानेहरुको संख्या भनें ३ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सुरुका चार महिनामा १८ हजार ४ सय ९८ जना युएई गएका थिए भने, यस बर्षको सोही अवधिमा २१ हजार ९ सय ६ जना युएई पुगेका छन् ।
मेनपावर कम्पनीबाट जाने घटे, पुनः श्रम स्वीकृति लिने बढे
अघिल्लो वर्षमा भन्दा यस वर्षको सुरुका चार महिनामा विदेश जाने नेपालीको संख्या समेत घटेको छ । अघिल्लो वर्षको सुरुका चार महिनामा १ लाख २५ हजार ७ सय ८१ जना नेपाली रोजगारीका लागि विभिन्न देशमा पुगेका थिए । यस वर्ष १ लाख २४ हजार ५ सय ८१ जना विदेशीएका छन् । यो १ हजार २ सय ६३ ले कम हो । तर पुनः श्रम स्वीकृति लिएर जाने कामदारको संख्या भने बढेको छ । अघिल्लो वर्ष ७६ हजार २८ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । यो वर्ष ८२ हजार ६ सय ४६ जना पुन: श्रम स्वीकृति लिएर विदेशिएका छन् ।
यो पनि पढ्नुहोस समस्यामा फसाइएका नेपालीको जरिवाना तिर्ने जिम्मेवारी सम्वन्धित कम्पनीको: मन्त्रालय
