काठमाडौं, पुष ९– नेपालबाट बर्षेनी ११ हजारभन्दा बढी महिला भारतमा बेचिने गरेका छन् । दलाल र आफन्तबाटै समेत बेचिनेबाट जोगाउन र बेचविखनमा परेकाहरुको उद्धार र पुनस्र्थापनामा माइती नेपालले काम गर्दै आएको छ ।
यहि क्रममा माइती नेपालका स्वयंसेवकहरु अव प्रविधिले सुसज्जित हुने भएका छन् । उनीहरु स्मार्ट फोन बोकेर हिँड्नेछन् र सीमामा शंकास्पद ब्यक्तिलाई भेटे मोवाइलमा फोटो खिच्ने छन् । त्यसरी खिचिएको फोटो माइती नेपालको केन्द्रीय सर्भरमा रहेका हजारौंको संख्यामा रेकर्ड गरिएका चेलिबेटी बेचविखनमा संलग्न अपराधिहरु, बेपत्ता भएका चेलिबेटी, बालबालिकालगायतको फोटोसँग मोवाइल एपले आफैं दाँज्ने छ । यसरी कुनै दलाल वा हराएका महिलाको फोटोसँग भेटिएको ब्यक्तिको फोटो मिले एपले केही सकेन्डभित्रै जानकारी दिने छ । त्यसपछि कारबाही प्रक्रिया अगाडि बढाउन एपले प्रहरीमा जानकारी दिने छ ।
यसमा सहयोग गरेका छन् झण्डै २२ बर्षदेखि अमेरिका बसेर सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका नेपाली युवा समिर पन्थीले । अमेरिकामा बसेर अध्ययन गरिरहेका उनका दुईजना भारतीय साथीहरु स्वदेश फर्केर प्रविधिको विकासमा खटिइरहेका थिए । उनीहरुले अनहार चिन्ने प्रविधि विकास गरेको पन्थीले थाहा पाए ।
त्यसपछि पन्थी ती साथीहरुलाई भेट्न भारत आए । उनीहरुले विकास गरेको प्रविधि आर्टिफिसियल इन्टेलिजेन्सका रुपमा निकै उपयोगी लाग्यो पन्थीलाई । उनले चेलिबेटी बेचविखन रोक्न सक्रिय रहेको माइती नेपाललाई यस्तो प्रविधि उपलब्ध गराउन सहयोग गर्न ती दुई भारतीयलाई प्रस्ताव गरे । उनको प्रस्ताव स्वीकृत भएपछि उनीहरु माइती नेपालसँग कुरा गर्न नेपाल आए ।
प्रविधि निकै उपयोगी थियो । यसपछि अमेरिकामा नाउ ट्राकइट कम्पनी चलाइरहेका पन्थीले आफ्नो कम्पनीका तर्फबाट उक्त प्रविधि भर्खरै माइती नेपाललाई हस्तान्तरण गरेका छन् । अमेरिकामा सूचना प्रविधिका क्षेत्रमा विभिन्न प्रकारका एप, सफ्टवेयर डेभलप गर्दै आएका पन्थीले आर्टिफिसिएल इन्टेलिजेन्सको माध्यमद्वारा अनुहारको पहिचान गर्ने प्रविधि निःशुल्क बनाइदिएका हुन् ।
‘खोजी’ नाम दिइएको यस एपको माध्यमले पीडित र पिडकको पहिचान गरी पीडितको उद्धार गर्न र अपराधीलाई कानूनको घेराभित्र ल्याएर दण्डीत गर्न सहज हुनेछ । यस कार्यबाट सम्भावित पिडीतको अग्रिम बचाउ हुनका साथै पिडीतलाई पनि उद्धार गर्न सकिन्छ । यस एपले हराएका बालबालिकालाई साथै बोल्न नसक्ने र मानसिक रोगीहरुलाई पनि समस्याबाट मुक्ति दिलाउन मद्दत गर्ने पन्थीको दावी छ ।
नाउट्राकइट कम्पनीले माइती नेपालको नेपाल–भारत नाकामा रहेका आवधिक गृहका कर्मचारीहरुलाई ’खोजी’ मोवाइल एप इन्स्टल भएको मोवाइल फोन निःशुल्क उपलब्ध गराएको छ । यसको प्रयोगबारे सम्बन्धित कर्मचारीहरुलाई तालिमसमेत प्रदान गरेको छ । परम्परागत उजुरी गर्ने प्रक्रियालाई छोट्याउन र तत्कालसबै ठाउँमा उजुरी पुर्याउन इन्ट्नेटमा आधारित रिपोर्टिङ पोर्टलसमेत कम्पनीले निशुल्क बनाइ दिने कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पन्थीले बताए ।
माइती नेपालकी संस्थापक अनुराधा कोइराले हराएका चेली र अपराधी पत्ता लगाउन खोजी एप निकै उपयोगी हुने बताइन् ।
