दामोदर दाहाल, युएई, पुष १-
नेपालबाट मानव तस्करहरुले विभिन्न बाटो हुँदै नेपाली महिलालाई विदेश पठाउने क्रम रोकिएको छैन । सरकारी र गैरसरकारी संघसंस्थाहरुको प्रयत्नका वावजुद झुक्याएर दलालहरुले भारत, श्रीलंका, युएई, ओमान हुँदै अन्य मुलुकमा नेपाली महिलालाई बेच्ने गरेका छन् । त्यसरी नै भारत हुँदै युएई ल्याईपुर्याइएकी एक नेपाली महिलाो उद्धार भयो । युएईको सारजाहमा १९ दिन देखि बन्धक बनाइएकी पुजा रानाको उद्धार भएको हो ।
यसरी मानव बेचविखन गर्नेहरु चिनेजानेका वा नातागोताका व्यक्तिहरु नै हुने गरेको देखिएको छ । उनीहरुले आकर्षको तलवको प्रलोभनमा सिरिया, लेबलान इराकसम्म पुर्याएर नेपाली महिला बेच्ने गरेको देखिएको हो ।
मोरंग निवासी मोना राई(साथीको दिदी) र उनका श्रीमान कमान सिंह तामाङ (जसलाई पूजाले आफनै धर्म दाइ बनाएकी थिइन) ले पुजा र कमान सिंहकै भाञ्जी पासाङ डोल्मा तामाङलाई टर्कीमा प्रति महिना ३ सय अमेरिकी डलर तलव पाउने आशमा भैरहवा सुनौनी हुँदै दिल्ली पुर्याएका थिए ।
पुजाको माइती बुटवल हो भने उनको घर काठमाडौमा रहेको पूजाले बताएकी छन । पुजा र पासाङ डोल्मा तामाङको दिल्लीको सम्पूर्ण खाने, बस्ने ब्यबस्थापन एउटा भारतीय एजेन्टले गरेको थियो । १७ दिनसम्म दिल्लीको होटेलमा उनीहरुलाई राखिएको थियो । दिल्लीबाट नोभेम्बर २३ मा एयर यअरेबियाको जहाजबाट दुबै जनालाई युएईमा मेडिकल गर्नु पर्ने भन्दै २ दिन त्यहाँ बस्नु पर्ने भनेर १ महिनाको भिजिट भिषामा सारजाह ल्याइएको थियो । पुजा भन्छिन, सारजाह एयपोर्टबाट अरबी भाषा बोल्ने व्यक्तिले हामीलाई गाडीमा राखेर उसको घरमा लिएर गयो भने मलाई त्यहि राखेर संगै आएकी भाञ्जी(पासाङ) लाई अर्कै घरमा लगियो ।
पूजाका अनुसार उनको सपना थियो केहि दिनपछी टर्की जाने अनि डलरमा तलव लिएर परिवारसँग चाँडै सुखका दिन गुजार्ने । तर जव उनले आफूलाई राखिएको घरमा अर्की एक नेपाली महिला कल्पना दर्जीलाई भेटिन्, उनको सवै सपना चकनाचुर भयो । कल्पना दुबईमै रहेकी अनिता मार्फत बेचिएर आएकी थिइन । उनै कल्पनाले आफुले भोगेको सम्पूर्ण दुखको बेली बिस्तार लगाइन र आफूहरुलाई बेच्न अर्कै मुलुक लैजान लागेको जानकारी दिइन् । उनले आफूहरुलाई टर्की नभई लेवनन लैजान लागेको जानकारी पूजालाई दिइन् । उनी पुजा छाँगाबाट खसे जस्तै भईन ।
कल्पना दर्जीलाई २९ नोभेम्बरका दिन दुबई हुँदै सिरिया पठाउन दलालहरु सक्रिय भए । पुजा रुँदै भन्छिन कल्पना बहिनीले जाने दिन ‘दिदी मलाई मार्छन होला तपाई यहाँबाट निस्कनु भयो भने बचाउनुस है’ भनेको थिइन् ।
त्यो बन्द कोठा भित्र भोग्नु परेको पीडा र घरमालिकले गरेका शंकास्पद गतिबिधिले पुजामा धेरै डरत्रास सिर्जना भएको थियो । उनी घरबाट बाहिर निस्कने उपाय खोज्दै थिइन् । घरमा चौविसै घण्टा चावी लगाएर बन्धक बनाएर राखिएको थियो । उनलाई उक्त घरको मालिकको नाम, ठेगाना पनि केहि थाहा थिएन । उनले हर कोसिस गरिन । साथमा फोन भएको कारणले नेपालबाट युएई पठाउने दाजु पर्ने कमान सिंह तामाङ देखि लिएर सबैलाई सम्पर्क गर्न कोसिस गरिन । यसबीचमा एउटा ठूलो राहत मिल्यो पूजालाई । आफूले चिनजानको एक व्यक्ति(राज श्रेष्ठ)लाई सम्पर्क गर्दा आबुधाबी स्थित उनको भाइसँग सम्पर्क भएर उनी मार्फत पुजा एनआरएनए, युएईको टिमसँग ६ डिसेम्बरमा सम्पर्क गर्न सफल भईन ।
जब उनको सम्पर्क एनआरएनए टिमसंग भयो तब उनलाई अलिकति आधार पलायो । उनी भन्छिन्ः उहाँहरुले सहयोग गर्नु हुने छ र यो बन्धक जीवनबाट मुक्त गर्नु हुने छ भन्ने मलाई विश्वास भयो ।
एनआरएनए युएई महिला संयोजक मोति राईका अनुसार पुजाको उद्दार गर्न त्यति सहज थिएन । तर राईको टीम पूजासँग निरन्तर सम्पर्कमा थियो । पूजालाई बन्धक बनाइएको घरबाट मुक्त गर्न नसक्ने भएपनि पुजालाई सिरिया लैजान एयरपोर्टमा लैजाँदा उनलाई त्यहिंबाट उद्धार गर्ने योजना बनाइयो । त्यहि दिन पर्खेर बस्ने बाहेक अरु विकल्प आफूहरुसँग त्यतिबेला नभएको राई बताउँछिन् । सोही अनुरुप आफूलाई एयरपोर्ट लैजानन लागेपछी कुनै तरिकाले सन्देश पठाउनु हामी एयरपोर्टबाट उद्धार गर्छौं भनेर एनआरएनए टीमले उनलाई विश्वास दिलाएको थियो ।
जव पूजालाई एयरपोर्ट पुर्याइयो उनले एकान्त ठाउँबाट एनआरएनएका व्यक्तिलाई सम्पर्क गरिन र उनको त्यहिंबाट उद्धार भयो । यसरी पूजा नेपाल फर्किन सफल भएको एनआरएन टिमका सदस्य शम्शेरले जानकारी दिए ।
यो त उद्दार गर्न सफल भएको एकजना पात्र हुन् पुजा राना । यहाँ सयौं महिलाहरु यसरी घरेलु हिंसा र किनबेच भएका छन । कति रहरले बिदेशमा आएर यसरी फसेका छन भने कति त आफनो घरको आर्थिक समस्याको कारण यसरी फसेका छन् र हिंसाको सिकार भएका छन । यहाँ आफनै भन्नेहरु नै यसरी फकाएर, लालच देखाएर बेच्ने गर्छन केहि पैसाको लागि । धेरै पुजा रानाहरु बन्धक भएका छन भने धेरै कल्पना दर्जीहरु बाँच्ने झिनो आशामा रोईरहेका छन । बेचिएका ति पासाङ डोल्मा तामाङ, कल्पना दोर्जीको उद्दार कहिले हुने अनि उनीहरु आफ्नो देशमा गएर कहिले खुशीको आँसु झार्न पाउने होलान ? ति दलालहरुलाइ कहिले सम्बन्धित निकायले संरक्षण गर्न बन्चित गरेर कानुनको कठघरामा उभ्याउने हो त्यो त हेर्न बाँकी नै छ । समयले उनीहरुलाई पनि कुनै दिन कानुनको फन्दामा अवश्य पुर्याउने नै छ ।
यो पनि पढ्नुहोस् युएईमा एनआरएनएले आयोजना गर्यो भलिवल प्रतियोगिता
